नेपाल सम्वत् ११४५ चिल्लागाः ११ (१२ चैत्र, २०८१) मार्च २५, २०२५ ,मंगलबार, बाँपीझ्याला । नेपालगन्ज रंगशालामा अहिले हरियो दुबो पलाउन थालेको छ, मैदानको घाँस काट्ने र सम्याउने काम तीव्र गतिमा भइरहेको छ। बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार रंगशाला सुन्दर बन्दै गएको छ, र पछिल्लो समय फुटबल गतिविधि बढ्न थालेपछि यसको स्वरूप नै फेरिँदै गएको छ।
करोडौं रकम खर्चेर निर्माण गरिएको रंगशालामा पछिल्ला पाँच वर्ष खेलकुद गतिविधि ठप्प जस्तै थियो। २०७६ साल वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछाडि खेल सञ्चालन हुन सकेन। कोभिड–१९ तथा एथ्लेटिक्स प्यारापिट निर्माणका कारण लामो समय खेलाडीहरू मैदान प्रवेश गर्न सकेनन्। तर, गत माघमा बाँके जिल्ला फुटबल संघले जिल्लास्तरीय अन्तरविद्यालय मेयर कप फुटबल आयोजना गरेपछि रंगशालामा खेलाडीहरूको चहलपहल बढ्न थालेको हो।
अब नेपालगन्जले आठौं राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल आयोजना गर्दैछ। आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ। प्रतियोगिता अघि महिला जनप्रतिनिधि र महिला पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिनेछ।
प्रतियोगिताले महिला खेलाडीको आत्मविश्वास अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा बाँकेलाई चिनाउने आयोजकहरूको विश्वास छ। प्रतियोगिताको सफल आयोजनाका लागि नेपालगन्जवासी उत्साहित छन् भने विभिन्न संघसंस्थाहरू सहकार्य गरिरहेका छन्।
