Search

एसियन कप छनोट : मलेसियासँग भिड्दै नेपाल

एसियन कप छनोट : मलेसियासँग भिड्दै नेपाल

नेपाल सम्वत् ११४५, चिल्लागाः ११ एकादशी (१२ चैत्र, २०८१, २५ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेल्दैछ। छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

नेपालले पहिलो खेल मंगलबार मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ७:४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ।

यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा हुन लागेको हो। यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक १-० गोलको जित निकाल्यो।

नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकालेको हो। यो जितसँगै नेपाली टोली उत्साहित छ।

नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताएका हुन्। उनले मलेसिया बलियो टोली भएको बताउँदै बराबरीमा पनि सन्तुष्ट हुन सकिने भए पनि नेपालको सोच जित मात्र भएको प्रतिक्रिया दिए।

कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास गरेका छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ।

मलेसिया र नेपाल पहिलो पटक सन् १९८३ मा मर्डेका कपमा भिडेका थिए। सो खेलमा नेपाल ७-० ले पराजित भयो। सन् १९८५ मा नेपाल र मलेसिया विश्वकप छनोटमा प्रतिस्पर्धामा उत्रिए। पहिले लेग गोलरहित बराबरीमा सकिदा दोस्रो लेगमा मलेसिया ५-० गोलले विजयी भयो।

यस्तै १९८९ नेपाल र मलेसिया फेरि विश्वकप छनोटमा आमनेसामने भए। जसमा मलेसिया पहिलो लेगमा २-० र दोस्रो लेगमा ३-० गोलले विजयी भयो। सन् २००८ मा मैत्रीपूर्ण खेलमा फेरि मलेसियाले नेपाललाई ४-० गोलले हरायो।

नेपाल र मलेसिया पछिल्लो पटक छ वर्षअघि सन् २०१९ मा प्रतिस्पर्धा गरे। सो खेलमा मलेसियाले नेपाललाई २-० ले हरायो। यसरी नेपालले मलेसियाविरूद्ध ७ खेलमा २३ गोल खादा कुनै गोल गर्न गर्न सकेको छैन। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!