
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १३ त्रयोदशी, (२८ फागुण, २०८१, १२ मार्च, २०२५) बुधबार, बाँपीझ्याला । काठमाडौँको तार्केश्वर नगरपालिका–९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ । नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा गोदाम सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
गोदाम सञ्चालकहरूले बजारमा चलेका ३१ वटा कम्पनीको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ । मनमैजु मा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा चामल र १ हजार ४३ बोरा चिउरा सहित गोदाममा सिल लगाएको छ । बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना देवकोटाको नाममा दर्ता रहेको भेटिएको छ ।
नागार्जुन नगरपालिका–६ भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दाल सहित गोदाम सिल गरिएको छ ।
नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको ढीमाई प्याकेजिङ उद्योगमा ४७ सय ५ बोरा चामल फेला परेको छ । कुलेश्वरमा ठेगाना भए पनि सिंहले नागार्जुनमा गोदाम सञ्चालन गरेको भेटिएको छ । गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७ सय ५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरा सहित गोदाम सिल गरिएको छ ।
स्थानीय प्रशासन सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम सिल गरेका हुन् । ३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आवश्यक अनुसन्धानको लागी जिम्मा लगाएको छ ।