२०६४ सालमा संविधानसभाको समानुपातिक सभासद् भएकी रेनु दाहाल, २०७० को निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा एकीकृत माओवादी केन्द्रबाट उम्मेदवार बनिन् तर पराजित भइन् । २०७४ सालको निर्वाचनमा पहिलो पटक देशभर स्थानीय तह निर्वाचन हुने भए पनि रेनुलाई पालिका प्रमुखको उम्मेदवार बन्छु भन्ने पटक्कै थिएन ।
संविधानसभा सदस्य भइसकेको व्यक्ति पालिकाको प्रमुख, त्यो पनि २०७० को निर्वाचनमा पार्टीले धक्का खाइसकेको अवस्थामा । एक्लै निर्वाचन लड्दा जित्ने निश्चित पनि थिएन । तर, परिस्थिति र पार्टीले गर्दा उनलाई भरतपुर महानगरको उम्मेदवार बन्ने बाध्यता आइलाग्यो । ठूलो उतारचढावपछि उनले चुनाव जितिन् पनि ।

उनी उम्मेदवार बनेदेखि विजयी हुँदासम्मको उतारचढाव साँच्चिकै रोमाञ्चक थियो । पालिकामा झर्ने खासै रुचि नभएको र काठमाडौं महानगरमा पो उम्मेदवार हुने हो कि जस्ता विकल्पले उनी केही समय दोधारमा थिइन् । तर पार्टी निर्णय मानेर भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनिन् ।
नेपाली कांग्रेसबाट दिनेश कोइराला हेलिकोप्टर चढेर अन्तिम घडीमा नगर प्रमुखमा उम्मेदवारी दर्ता गराउन आए । पछि कांग्रेसले दिनेशको उम्मेदवारी केन्द्रले नै झिकिदियो र रेनुलाई समर्थन गर्ने निर्णय गर्यो । कांग्रेस चितवनमा खैलाबैला मच्चियो ।
अब प्रचारप्रसार सहज भएन । जोखिम थियो उनलाई विजय निकाल्न । तत्कालीन विपक्षी नेकपा एमाले पनि निकै बलियो थियो, कांग्रेसको भड्किएको भोट एमालेका तत्कालीन नगर प्रमुख उम्मेदवार देवी ज्ञवालीले लैजाने सम्भावना अधिक थियो । निकै प्रतिस्पर्धात्मक मत आइरहँदा भरतपुर–१९ को मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्याते । त्यसपछि पुनः मतदान भएर गणना हुँदा रेनुले झिनो मतले जित हात पारिन् ।
त्यसपछि गठबन्धन गरेर संसदीय निर्वाचन लड्ने तत्कालीन एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचको सहमतिले अर्को राजनीतिक समीकरण बन्यो । कार्यपालिका बैठकमा एमालेको बहुमत भएको भए पनि रेनुले ठूलो असहयोग झेल्नु परेन ।
२०७४ सालको स्थानीय तहको निर्वाचन अगाडिसम्म भरतपुर नाम मात्रको महानगरपालिका थियो । महानगर हुन चाहिने न्यूनतम पूर्वाधार थिएनन् । यो सात वर्षमा भरतपुर महानगरले स्वरुप फेरेको छ । यसका पछाडि छिन् मेयर रेनु ।
‘मैले मेरो परिवारलाई समय दिन छाडेको वर्षौं भयो, मेरो दिल–दिमागमा जति बेला पनि भरतपुर र यहाँको विकास बाहेक अर्को कुनै कुरा छैन’ रेनु भन्छिन्, ‘काठमाडौं गए पनि, जता गए पनि दुई दिन भन्दा बढी म अडिन सक्दिनँ, भरतपुर आइहाल्छु ।’

७ वर्षदेखि रेनुको दिनचर्या एकैखाले छ । बिहान ५ बजेदेखि राति ११ बजेसम्म महानगरकै काममा खटिइरहने । बिहान ६ बजेदेखि नै भरतपुर १० को उनको निवासमा भेटघाटका लागि भीड लाग्छ । १० बजे कार्यालय आएपछि पनि उस्तै । दैनिक २/३ वटा कार्यक्रममा पुग्नु, अनुगमनमा खटिनु, जनताका समस्या सुन्नु उनको दिनचर्या हो ।
भरतपुरको विकासमा कस्सिएर लाग्न उनलाई केले प्रेरित गर्यो ? रेनु भन्छिन्, ‘यो केही हैन, प्रचण्डकी छोरी मात्रै हो, त्यसैले टिकट पाएकी हो, भन्नेलाई कामले जवाफ दिनुपर्छ भन्ने लाग्यो । अनि एकोहोरो काममा लागें म ।’ रेनु भन्छिन्, ‘त्यसमा मेरो बानीले पनि काम गर्यो । म जहाँ लाग्छु त्यहाँ शतप्रतिशत समय दिने प्रयास गर्छु ।’
बर्खामा मात्रै चल्ने नारायणीको लिफ्टलाई हिउँदमा समेत चल्ने बनाइएपछि किसानहरू खुशी छन् । पहिले भन्दा हरियाली पनि छाएको छ । कात्तिकदेखि पानी नपरे पनि अहिले भरतपुरमा हरियाली छ ।
भरतपुर महानगरमा पर्ने ठूलो जनसंख्या ओगटेको चौबिसकोठीदेखि मेघौलीसम्मको सडक गर्मीमा धुलाम्य र बर्खामा माछा पाल्ने पोखरी जस्ता हुन्थे । मेघौलीदेखि चौबिसकोठी ३२ किलोमिटर आउन झण्डै डेढ घन्टा लाग्थ्यो । मूल सडककै हालत यस्तो थियो भने भित्रीसडक कालोपत्रे हुने कुरै थिएन ।
वैशाखको चर्किंदो गर्मीमा चुनाव प्रचारप्रसारका क्रममा पश्चिम चितवन पुग्दा जताततै सुख्खा र तातो बाफ चल्थ्यो । उनी सम्झिन्छन्, ‘हामी त गर्मीले गर्दा दिउँसो चुनाव प्रचारप्रसार रोकेर बिहान र साँझ मात्रै गर्यौं । त्यहाँ मकैका बोटहरू सुकेका थिए, तर नजिकै नारायणी बगिरहेको थियो, यी सबै दृश्यले मेरो मथिंगल हल्लाउँथ्यो ।’
कुनैबेला कालोपत्रे पिच टेक्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग आउनुपर्थ्यो । अहिले धेरै भरतपुरवासीहरूका घरका आँगन अगाडि कालोपत्रे पिच छ । कतिसम्म भने अहिले मान्छेलाई जताततै कालोपत्रे फराकिलो सडक देख्दा राज्यको स्रोत यहाँ मात्रै पो खनियो झैं लाग्छ । अनि सडकहरूको गुणस्तर कायम गर्न कालोपत्रे माथि कालोपत्रे थप्ने कामले अनावश्यक खर्च भयो कि झैं लाग्छ ।
तर नतिजा राम्रो छ । कुनै बेला डेढ घन्टामा पुगिने मेघौली अहिले ३० मिनेटमा पुग्न सकिने भएको छ । रेनु भन्छिन्, ‘भरतपुरका हरेक छेउकुनाबाट सदरमुकाम बढीमा ३० मिनेटभित्र आइपुग्नुपर्छ भनेर सडक बनाएका छौं ।’ सदरमुकाम भरतपुरमा सडक कालोपत्रे भएको तर नाली नहुँदा बर्खामा डुबान पर्ने समस्या निम्तिन थालेपछि महानगरले नाली सहितका सडकलाई प्राथमिकतामा राख्न थालेको छ ।
भरतपुरका विभिन्न ठाउँमा भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, प्रदेश तथा केन्द्र सरकारको लगानीमा ठूल्ठूला खानेपानीका ट्याङ्कीहरू देख्न सकिन्छ । खानेपानी वितरणको सञ्जाल पनि व्यवस्थित बन्दै गएको छ । अहिले भरतपुरमा ४ अर्बका खानेपानीका आयोजनाहरू चलिरहेका छन् । भूमिगत पानी निकालेर त्यसलाई प्रशोधन गरी वितरण गरिएको छ । मासिक ७ हजार लिटरसम्म पानी खपत गर्नेलाई महानगरपालिकाले शुल्क लिंदैन ।
पछिल्लो समय भरतपुरले गरेको अर्को महत्वपूर्ण काम भनेको भूमिगत सिंचाइ र नारायणी लिफ्ट सञ्चालन हो । बर्खामा मात्रै चल्ने नारायणीको लिफ्टलाई हिउँदमा समेत चल्ने बनाइएपछि किसानहरू खुशी छन् । पहिले भन्दा हरियाली पनि छाएको छ । कात्तिकदेखि पानी नपरे पनि अहिले भरतपुरमा हरियाली छ ।
पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा अहिले बोरिङ मार्फत बाह्रै महिना सिंचाइको व्यवस्था छ । महानगरको साना सिंचाइ निर्माण तथा मर्मत कार्यबाट हालसम्म ८०० वटा बोरिङ वितरण गरेर १२०० बिघा क्षेत्रफलमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ । सात वर्षको अवधिमा ७०० वटा ट्युबवेल निर्माण गरिएको छ । समग्रमा भरतपुरमा ७ हजार ५०० बिघा जमिनमा सिंचाइ सुविधा पुगेको छ ।
भरतपुरलाई चर्चामा ल्याउने अर्को विषय हो, राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । भरतपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम यतिबेला धमाधम चलिरहेको छ । शुरूमा निर्माण थालेको धुर्मुस–सुन्तली फाउन्डेशनले आर्थिक अभावका कारणले काम रोकेपछि महानगरले कानूनी प्रक्रिया मिलाएर रंगशालाको बाँकी कामको टेन्डर लगाएर काम शुरू गरेको छ ।
नारायणी नदीको कटान पश्चिम चितवनवासीका लागि सधैं त्रासको विषय थियो । यहाँ संघीय सरकारको बजेट व्यवस्थापनमा २ अर्ब ५४ करोड ५० लाखको लागतमा ५ वटा प्याकेज बनाएर व्यवस्थित तटबन्धको काम भइरहेको छ । २३ किलोमिटर लामो तटबन्धको ५ वटा प्याकेजमध्ये नारायणी सी बिच र गाँजीपुर हिरापुरको काम सकिएको छ ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको काम धमाधम भइरहेको छ । अहिले भएको टर्मिनल भवन जीर्ण र पुरानो भएकोले १ अर्ब ९२ करोडको लागतमा नयाँ टर्मिनलको काम चलिरहेको छ । तीन वर्ष भित्र बनिसक्ने भवनका लागि चालु आर्थिक वर्षमा ३६ करोड रकम विनियोजन भएको छ ।
भरतपुर विमानस्थलको रनवे विस्तारको पूर्वतयारीका काम पनि अगाडि बढेका छन् । विमानस्थलसँग नै सटेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सारेर सो जमिनमा थप ३०० मिटर रनवे विस्तार गर्ने योजना छ । अहिले भएको १२०० मिटर लामो रनवे छोटो हुँदा रात्रिकालीन उडान र ठूला जहाजहरू आउन सकेका छैनन् ।
भरतपुरको केन्द्रमा ३ हजार जना अट्ने सिटी हल निर्माण भइरहेको छ । ७ वटा ठूला–साना हल सहित बन्दै गरेको सिटी हलमा फुड कोर्ट, आईटी रुम, प्रशासनिक कक्ष र अतिथि कक्षहरू समेत रहनेछन् । सिटी हलको काम ६७ प्रतिशत सकिएको छ ।
भरतपुरको अर्को महत्वपूर्ण पूर्वाधार भनेको नेपालकै सबैभन्दा लामो चक्रपथ (रिङरोड) निर्माण हो । महानगरको पहलमा तीन तहकै सरकारको लगानीमा ८८.६ किमी लामो रिङरोड निर्माण कार्य भइरहेको छ । रिङरोडको करीब ८० प्रतिशत सडकखण्डमा कालोपत्रे भइसकेको छ । भरतपुर महानगरपालिकाले पछिल्लो सात वर्षमा १ हजार ३ किलोमिटर नयाँ सडक कालोपत्रे गरेको छ । यसबाहेक सडक मर्मतसम्भार र सौन्दर्यकरणको काम निरन्तर छ ।
महानगर प्रमुख रेनु दाहालले भरतपुरका सबैजसो सडक र प्रमुख ठाउँहरूमा स्मार्ट लाइट जडानलाई प्राथमिकतामा राखेको बताउँछिन् । पहिलो चरणमा ७८.२ कि.मि सडकमा १० वटा हाईमास्ट, ६० वटा मिनीमास्ट जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहयोगमा भरतपुरभित्र ६ हजार वटा भन्दा धेरै स्मार्ट बत्तीहरू जडान भएका छन् । दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानमा ११८ किमिमा ३ हजार ९३५ सडक बत्ती, ६० वटा मिनीमास्ट र ८ वटा हाईमास्ट जडान गर्ने कार्य भइरहेको छ ।
महानगरपालिकाभित्र २३ किलोमिटर सडक क्षेत्रमा तारहरू भूमिगत गर्ने कार्य चलिरहेको छ । भरतपुरको मेनरोड, आँपटारी बाइपास सडक, पुलचोक–लायन्सचोक, चौबिसकोठी, हाकिमचोक, गोन्द्राड सडकखण्डमा बिजुली, टेलिफोन तथा अप्टिकल फाइबरहरूलाई भूमिगत गर्ने काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।
रेनुले भरतपुरलाई देशभर चिनाउन र यहाँको पर्यटन व्यवसायलाई थप चलायमान बनाउन गत वर्ष फागुनमा देशका सबैजसो पार्टीका ठूला नेताहरूलाई भरतपुरमा उतारेर भरतपुर भ्रमण वर्ष २०२४ को भव्य शुभारम्भ गरेकी थिइन् । भ्रमण वर्षका अवसरमा महानगरपालिकाभित्र एक दर्जन भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रम भए ।
रेनु मेयर बनेको ७ वर्षको अवधिमा झन्डै १०० वटा साना–ठूला विद्यालय भवन बनेका छन् । कतिपयको स्तरोन्नति गरिएको छ । विद्यार्थीलाई विद्यालयसम्म ल्याउन महानगरको पहलमा विद्यार्थी बसहरू वितरण गर्ने, शिक्षक दरबन्दी थप गर्ने, कक्षा १२ सम्म पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने काम भइरहेको छ ।
भरतपुर महानगरका २९ वडा मध्ये १७ वटा वडाका नयाँ भवनहरू बनेका छन् । सबै वडामा आधारभूत स्वास्थ्य चौकी भवनहरू तयार भएका छन् । महानगरले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट १६ हजार १९१ जना लाभान्वित भएका छन् ।
महानगरमा स्थायी बसोबास भएका महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८९१ छोरीहरूको बालउमङ्ग जीवन बीमा गरिएको छ । भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई ओपीडी टिकट निःशुल्क गरिएको छ ।
६० करोडको लागतमा महानगरको आफ्नै आकर्षक र भव्य प्रशासनिक भवन निर्माण भइरहेको छ । भरतपुरको गरिमा उँचो बनाउने गरी नारायणी नदीमाथि अर्को आकर्षक सिग्नेचर पुलको शिलान्यास ३१ वैशाख २०८१ मा गरिएको छ । राजा महेन्द्रले बनाएको र उनको निधन समेत भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिएको छ ।
भरतपुर महानगरलाई शून्य बेरुजुमा झार्ने कामले महानगरको सुशासनलाई झल्काउने रेनुको दाबी छ । उनले भरतपुर महानगरपालिकाको मेयर जितेर पहिलो वर्षको कार्यकाल सम्हाल्दै गर्दा वार्षिक १४ करोड राजस्व संकलन हुने गरेकोमा अहिले त्यो अंक १४० करोड पुगेको छ ।
महागरपालिकाले ६ वर्षदेखि दूधमा अनुदान दिंदै आइरहेको छ । आर्थिक वर्ष २०७४/७५ बाट प्रति लिटर २५ पैसा दूध उत्पादनमा अनुदान दिंदै आएको महानगरपालिकाले अहिले यो अंक प्रतिलिटर ४ रुपैयाँ बनाएको छ । ६ वर्षमा किसानलाई २१ करोड ४३ लाख २२ हजार ६६२ रुपैयाँ अनुदान दिइएको छ ।
गौतमबुद्ध क्रिकेट रंगशाला, भरतपुर विमानस्थल विस्तार, नारायणी नदीमाथिको आकर्षक पुल, नारायणी तटबन्धका कामले आफूलाई खुशी बनाउने रेनुको भनाइ छ । भरतपुर महानगरलाई शून्य बेरुजुमा झार्ने कामले महानगरको सुशासनलाई झल्काउने उनको दाबी छ । उनले भरतपुर महानगरपालिकाको मेयर जितेर पहिलो वर्षको कार्यकाल सम्हाल्दै गर्दा वार्षिक १४ करोड राजस्व संकलन हुने गरेकोमा अहिले त्यो अंक १४० करोड पुगेको जानकारी दिइन् ।
यो परिणाममुखी काम कसरी सम्भव भयो ? ‘मैले सबैलाई मिलाएर लैजाने सोचले । दुवै पटक कार्यपालिकामा माओवादी केन्द्र अल्पमतमा । अघिल्लो पटक एमाले र यस पटक कांग्रेस बहुमतमा’ रेनु भन्छिन्, ‘आस्थाका आधारमा विभेद नगरेर सबैलाई समेटेपछि विकासको काम गर्न समस्या नहुने रहेछ ।’
भरतपुरको विकासमा महानगरले केही गरेको हैन, सबै केन्द्रीय सरकारले गरेको हो । बुबा प्रचण्डका कारणले यहाँ बजेट आएको हो भनेर गरिने प्रचारबाजीले उनलाई निराश बनाउँछ । ‘केन्द्र सरकारले बजेट दिएको सत्य हो तर, बजेट ल्याउन, पहलकदमी गर्ने र त्यसलाई कार्यान्वयन गर्ने काम हामीले गरेका हौं ।’
यो ७ वर्षमा रेनुले गर्न नसकेको काम हो, फोहोर व्यवस्थापन । पहिले नारायणी नदी किनारमा फाल्ने गरिएको फोहोर अहिले जलदेवी सामुदायिक वनको नजिकै विद्युत् प्राधिकरणको हाइटेन्सन तल रहेको खाडलमा पुर्ने गरिएको छ । तर रेनु भन्छिन्, ‘बाँकी दुई वर्षमा यो काम पनि गरेरै छाड्छु ।’