Search

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

नेपाल सम्वत् ११४५ सिल्लागाः १० (११ फाल्गुन, २०८१) फेब्रुअरी २३, २०२५ , आइतबार, बाँपीझ्याला ।पोखरा अहिले महोत्सवको रौनकले भरिएको छ। फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरी पोखरालाई अर्को रंगमा सजाएको छ। बुकवर्म फाउन्डेसनद्वारा आयोजित यस महोत्सवमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले सहभागिता जनाएका छन्। फेवाताल, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यले घेरिएको पोखरामा यस महोत्सवले साहित्य, समाज, राजनीति, अर्थतन्त्र, प्रविधि, सिनेमा जस्ता विविध विषयमा विचार मन्थन गरिरहेको छ।

पोखरा महानगरपालिकाले फागुन ३ गते मात्र पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो। करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ यो घोषणा गरिएको हो। यस अवसरलाई सार्थक बनाउन पोखराले विभिन्न गतिविधिहरू गरेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। यसै क्रममा नेपाल साहित्यिक महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले यस महोत्सवले पोखरालाई थप पर्यटकमय बनाउने विश्वास व्यक्त गरेका छन्। उनले यसले राजनीति, जात, धर्म, भाषा, कला र संस्कृतिका विषयमा नयाँ विचारहरू उठाउने र पुरानो र नयाँ पुस्ताबीच समन्वय कायम गर्ने भूमिका खेल्ने बताए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्टहरूको सहर बन्दै गएको बताउँदै यस महोत्सवले पोखराको पर्यटनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे। उनले यसले पोखराको सांस्कृतिक धरोहर र साहित्यिक परम्परालाई विश्वभर चिनाउने मौका दिने र पर्यटकलाई नेपाली साहित्य र संस्कृतिप्रति आकर्षित गर्ने बताए। पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पनि यस महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।

महोत्सवका सदस्य एवं पत्रकार भरत कोइरालाले साहित्यसँग सम्बन्धित कार्यक्रमहरूले पोखरालाई साहित्यिक पर्यटकको गन्तव्य बनाउन मद्दत गर्ने बताए। यस महोत्सवले पोखराको सांस्कृतिक र साहित्यिक पहिचानलाई अझ बलियो बनाउने र पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!