नेपाल सम्वत् ११४५ सिल्लागाः ९ (१० फाल्गुन, २०८१) फेब्रुअरी २२, २०२५ , शनिबार, बाँपीझ्याला ।केपी शर्मा ओली नेतृत्वको सरकारले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणलाई प्राथमिकतामा राख्दै यसलाई ३०० दिनभित्र पूरा गर्ने निर्णय गरेको थियो। यो परियोजना अगाडि बढेको बताइएपनि, राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखिएका अन्य दुई क्रिकेट स्टेडियम—काठमाडौँको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला—को निर्माण योजना अलपत्र बनेको छ। यी दुई रंगशालाको निर्माण प्रक्रिया स्रोत सुनिश्चितको अन्योलमा पुगेको छ।
राष्ट्रिय योजना आयोगले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको लागि आवश्यक कागजात पेश गर्न नसकेका कारण यी दुई रंगशालाको निर्माण प्रक्रिया रोकिएको छ। खेलकुद मन्त्रालयले वातावरणीय अध्ययन प्रतिवेदन (इआइए/आइइइ) समयमै पेश गर्न नसकेपछि योजना आयोगबाट सिफारिस हुन नसकेको अवस्था छ। यद्यपि, वन मन्त्रालयबाट यी दुई रंगशालाको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ, तर अर्थ मन्त्रालयले यस विषयलाई क्याबिनेटबाट निर्णय गराउने प्रक्रिया अगाडि बढाएको छैन।

खेलकुद मन्त्रालयका अधिकारीहरूले यी दुई राष्ट्रिय गौरवका योजनाप्रति मन्त्रालयले पर्याप्त चासो नदिएको बताएका छन्। उनीहरूले टियु क्रिकेट रंगशालाको निर्माण प्रक्रिया शहरी विकास मन्त्रालयबाट अगाडि बढाइएको अवस्थामा अन्य काममा पहल हुन नसक्ने बताएका छन्। यद्यपि, इआइए/आइइइ स्वीकृत भइसकेकाले क्याबिनेटले नयाँ निर्णय गरेर स्रोत सहमतिको प्रक्रिया अगाडि बढ्न सक्ने बताइएको छ।
सरकारले गत वर्षको बजेटमार्फत मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा अगाडि बढाउने घोषणा गरेको थियो। तत्कालिन अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा यसको घोषणा गरेका थिए। योजना आयोगले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको लागि १९ राष्ट्रिय आयोजनाको सिफारिस अर्थ मन्त्रालयमा गरिसकेको छ। तर, मुलपानी र विराटनगरका रंगशालासहित ११ आयोजनाको स्रोत सहमतिको प्रक्रिया अझै अन्योलमा रहेको छ।
