Search

रेटिङमा विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’, के हुन्छ अब?

रेटिङमा विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’, के हुन्छ अब?

नेपाल सम्वत् ११४५ सिल्लागाः ४, (४ फाल्गुन, २०८१) फेब्रुअरी १६, २०२५ , आइतबार, बाँपीझ्याला ।नेपाल विद्युत प्राधिकरण (एनईए) ले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ प्राप्त गरेको छ। इक्रा नेपाल लि. ले गरेको रेटिङमा प्राधिकरणले लगातार तेस्रोपटक यस्तै उच्च रेटिङ हासिल गरेको छ। यो रेटिङ प्राधिकरणको वित्तीय स्वास्थ्य, व्यावसायिक क्षमता, व्यवस्थापन क्षमता, सञ्चालन प्रभावकारिता र वातावरणीय तत्वहरूको विश्लेषण पछि प्रदान गरिएको हो। डबल ए प्लस रेटिङले संस्थाको वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता र ऋण भुक्तानी जोखिम न्यून हुने बताउँछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो रेटिङले संस्थाको वित्तीय सुदृढ़ता र ऋण तिर्ने क्षमतालाई प्रमाणित गरेको बताए। उनले यसले प्राधिकरणको वित्तीय तथा आर्थिक दायित्व बहन गर्ने क्षमतालाई पुष्टि गरेको जनाए। साथै, प्राधिकरणले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना बनाएको र यसबाट प्राप्त रकमलाई ठूला जलविद्युत आयोजनाहरूको निर्माणमा लगानी गर्ने योजना रहेको उल्लेख गरे। प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ रहेकोमा यसले प्रतिकित्ता करिब ३ सय रुपैयाँमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।

प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण र आन्तरिक तथा सीमापार विद्युत व्यापार गर्दै आएको छ। यसले देशभित्र र बाहिरबाट झण्डै ११ हजार मेगावाट विद्युत खरिद गर्ने दीर्घकालीन सम्झौता (पिपिए) गरेको छ। रेटिङले प्राधिकरणको उच्च वित्तीय क्षमतालाई देखाउँदै लगानी जोखिम न्यून हुने संकेत दिएको छ। प्राधिकरणले विद्युत चुहावट घटाउने, ग्राहक पहुँच बढाउने, राजस्व वृद्धि गर्ने र प्रसारण तथा वितरण प्रणाली विस्तार गर्ने क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।

प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। यसले गत दशकभित्र आफ्नो वित्तीय स्थितिमा ठूलो सुधार गरेको छ। आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ। यसले विद्युत चुहावटलाई १२.७३% मा झारेको छ, जुन २०७२/७३ मा २५.७८% थियो। प्राधिकरणले आफ्नो संस्थागत सुशासन र वित्तीय व्यवस्थापनमा सुधार गरी नाफा कमाउन सफल भएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!