आदर्श प्रधान
रेकी ग्राण्ड माष्टर, लाइफ कोच
रेकी एक प्राचीन ऊर्जा हिलिङ विधि हो, जसले शारीरिक, मानसिक र आध्यात्मिक रुपमा सन्तुलन ल्याउन मद्दत गर्छ । ‘रे’ को अर्थ ब्रम्हाण्डीय चेतना हो भने ‘की’ जीवनशक्ति हो । रेकीको प्रयोग शरीरमा सकारात्मक ऊर्जा प्रवाह गराएर तनाव कम गर्न, हिलिङ प्रक्रियालाई छिटो गर्न सहयोग गर्दछ ।
१९२० को दशकमा जापानी आध्यात्मिक माष्टर मिकाओ उसुईबाट सुरु भएको मानिन्छ । उनले लामो ध्यान, साधना, र अध्ययनपछि रेकी ऊर्जा प्रणालीको पुनराविष्कार गरेका हुन् ।
अहिलेको समयमा, रेकी तनाव व्यवस्थापन, उपचार सहयोग र आत्म–विकासका लागि लोकप्रिय बन्दै गएको छ ।
रेकीका पाँच सिद्धान्त केवल आध्यात्मिक नियम मात्र होइनन्, ती हाम्रो दैनिक जीवनलाई सहज, सन्तुलित र सफल बनाउन सक्ने मार्गदर्शन पनि हुन् । आजको प्रतिस्पर्धात्मक एवं तनावपूर्ण संसारमा यी सिद्धान्तहरूले हाम्रो मानसिक, भावनात्मक, र व्यावहारिक जीवनलाई सकारात्मक रूपमा रूपान्तरण गर्न सक्छन् ।
पहिलो सिद्धान्त, ‘आज म क्रोधित हुँदिन’, अहिलेको समयमा झन् महत्वपूर्ण छ । आधुनिक जीवनशैली तनावले भरिएको छ, जहाँ ट्राफिक जाम, अफिसका चुनौतीहरू वा सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरूले छिट्टै रिस उठ्न सक्छ । निरन्तर क्रोधले शरीरमा नकारात्मक ऊर्जा पैदा गर्छ, जसले मानसिक अशान्ति, उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँछ । क्रोध नियन्त्रण गर्न गहिरो श्वास लिने, ध्यान गर्ने, वा परिस्थिति बुझेर प्रतिक्रिया दिने बानी बसाल्नु राम्रो उपाय हुन सक्छ ।
दोस्रो सिद्धान्त, ‘आज म चिन्ता गर्नेछैन’, आजको संसारमा अझै सान्दर्भिक छ । अनिश्चित भविष्य, आर्थिक अस्थिरता र करियरका दबाबले चिन्ता बढाउँछ । चिन्ताले समाधान ल्याउँदैन, बरु आत्म–विश्वास घटाउँछ र शरीरमा तनाव उत्पन्न गर्छ । वर्तमान क्षणमा केन्द्रित भएर बाँच्ने बानीले अनावश्यक तनाव कम गर्न सक्छ । रेकीको माध्यमबाट सजगता बढाउँदै भविष्यप्रतिको डर हटाउन सकिन्छ ।
तेस्रो सिद्धान्त, ‘आज म कृतज्ञता व्यक्त गर्छु’, हाम्रो आत्म–सन्तुष्टिका लागि महत्वपूर्ण हुन्छ । कृतज्ञता अभ्यास गर्नाले हामीलाई मानसिक रूपमा सन्तुलित, सकारात्मक र खुशी बनाउँछ । प्रत्येक दिन बिहान वा राति केही कुराहरू लेख्ने बानी बसाल्नु लाभदायक हुन सक्छ, जसले हाम्रो जीवनमा सन्तुष्टि बढाउँछ ।
चौथो सिद्धान्त, ‘आज म ईमान्दार भएर काम गर्छु’, ब्यक्तिगत सन्तुष्टि देखि व्यवसायिक सफलता सम्म आवश्यक छ । आजको प्रतिस्पर्धात्मक संसारमा छोटो बाटो खोज्ने प्रवृत्ति देखिन्छ, तर इमान्दारीले मात्र दीर्घकालीन सफलता दिन सक्छ । चाहे अफिसमा होस् वा व्यक्तिगत जीवनमा, आफ्नो कर्तव्य इमानदारीपूर्वक गर्ने व्यक्तिले आत्म–विश्वास र सम्मान प्राप्त गर्छ ।रेकी अभ्यासले आत्म–अनुशासनलाई सशक्त पार्दै कर्मप्रति निष्ठा राख्न मद्दत गर्छ ।
पाँचौं सिद्धान्त, ‘आज म सबै प्राणीप्रति दयालु हुनेछु’, विशेष गरी आजको समाजमा अझ महत्वपूर्ण छ । मानिसहरू व्यस्त जीवनशैलीका कारण अरूको भावनामा ध्यान दिँदैनन्, जसले समाजमा असंवेदनशीलता बढाउँछ । दयालुता भनेको केवल दान गर्नु मात्र होइन, तर सहानुभूति देखाउनु, अरूको भावनालाई बुझ्नु् र सकारात्मक ऊर्जा प्रवाहित गर्नु पनि हो । रेकी अभ्यासले हाम्रो हृदय चक्रलाई सन्तुलन बनाउँछ, जसले हामीलाई अरूलाई प्रेम र करुणाका साथ व्यवहार गर्न प्रेरित गर्छ ।
रेकीका यी पाँच सिद्धान्त केवल हिलिङ प्रणालीका लागि होइनन्, तिनीहरू आत्म–विकास, सकारात्मक ऊर्जा र समग्र जीवनशैलीलाई सुधार गर्ने मार्गदर्शक हुन् ।
यदि हामी यी सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्छौं भने, मानसिक शान्ति, आत्म–सन्तोष र सफल जीवन पाउन सक्छौं । रेकीलाई आत्मसात् गरेर हामी मात्र होइन, वरपरका सबैको जीवनलाई उज्यालो बनाउने मार्गमा अघि बढ्न सक्छौं ।