भीमसेन देवताको चर्चा गर्दा हिजोआज मुख्यतःदेश, काल र प्राणीमा आइपर्ने परिस्थिति सूचक देवताको रूपमा चर्चा गरिएको पाइन्छ । यो सत्य यथार्थ हो । जब जब दोलखाको साक्षात भीमसेनको प्रतिमूर्ति शीलामा पसिनारुपी तरल पदार्थको थोपा थोपा अंकित हुन्छ त्यसैलाई देवतामा पसिना आएको मान्यताका साथमा पूजाअर्चना गर्ने गरिन्छ । भीमसेनको प्रतिमूर्तिमा पसिना आएको चर्चा त्यहाँका सम्बन्धित पुजारी वा गुठियार वा टहलवा(मन्दिरमा सुरक्षा दिने, बलिपूजा गर्ने र सरसफाइ गर्ने व्यक्ति)द्वारा नै ज्ञात हुन्छ । अन्य दर्शनार्थीले त्यो पसिना आएको नआएको मेसो पाउन सक्दैनन् ।
वि.सं. १९९० सालको भूकम्प आउनु अगाडिबाट पसिना आएको तथ्यहरू सार्वजनिक भइसकेको छ । अझ त्यो भन्दा पहिले पनि आएको थियो होला सायद तर त्यतिबेला संकेतको ज्ञान नहुँदा प्रचार नभएको पनि हुनसक्छ ।
भीमसेनलाई महाभारतकालीन सभ्यतासँग जोडिएको यथार्थ मन्दिरको मुख्य पर्खाल (गारो) को प्रारम्भिक जगभन्दा माथि उठाइएको भागमा चारकोण भएको इँटाको वर्गाकार भागमा कुँदिएका महाभारतसँग सम्बन्धित तैलचित्रले प्रमाणीत गरिएको छ । जसमा भीमसेनले किचक वध गरेको, सूर्यपुत्र कर्णसँग गदा जुधाएर युद्ध गरेको, पाँचपाण्डवले कौरवसँग जुवा खेलेको, दुशासनले द्रौपदीको वस्त्र हरण गरेको र वनवास जाँदाको परिदृश्यहरू अंकित भएको देख्न पाइन्छ ।
यस अर्थमा दोलखाको उत्पत्तिकाल त्यो समयमा भएको मान्न सकिन्छ । जुन पुस्ताको नालीबेली हामीले सुन्न पाएका छैनौं । तथापि प्राचिन शहर दोलखाको मन्दिरको भित्री प्रारुप पहिले पुरै ढुंगाको गारो बनाएर हावा आदानप्रदानका लागि या भित्र धुप र बत्ती बाल्दा त्यसबाट उत्पन्न धुवाँले असर नपरोस् भन्ने दीर्घ सोच राखेर गारोको यत्रतत्र छिद्र बनाइएको छ । त्यसलाई मनोवैज्ञानिक मापदण्ड नै मान्नु पर्दछ ।
जतिबेला आजको जस्तो विभिन्न विषयमा मास्टर पिएचडी गर्ने विज्ञ विद्वानहरू भने थिएनन् जसले चाहिँ आकारप्रकार, रुप र गुणको व्याख्या गर्दै अनेकौँ नामको न्वारान गर्न सकियोस् । ती पुस्ताहरूले मात्र ठानेका थिए दोलखा भीमसेन भीमसेन नै हुन् जो यस युगको रक्षार्थ चेतना जगाउन प्राणीहरूमा सर्वश्रेष्ठ मानिएका मानवहरूले ज्ञान प्राप्त गरुन् भन्ने हेतुले उत्पन्न भएको साक्षात् ईश्वर हुन् ।
मध्यकालीन समयमा आएर धेरै राजा रजौटाहरू जन्मे, पदभार सम्हाले, शासन चलाए, दर्बारिया सुखसयल छँदाछँदै पनि देवताप्रति आकृष्ट हुन छाडेनन् । देवतालाई खुशी बनाउन सके राज्य र जनताको कल्याण हुन्छ । आफ्नो शासनसत्ता पनि मजबुत हुन्छ भन्ने आत्मविश्वासले नै देवस्थलको निर्माणको गतिविधि अघि सारे । कामदारलाई भोकभोकै काम अह्राउनु हुन्न भन्ने मनस्थिति राखेर जग्गा जमीन दिएर हुन्छ या ज्याला दिएर हुन्छ नियमसंगत विधिविधान तर्जुमा गरेर गुठी व्यवस्थापन गरेका छन् । जुन कालान्तरमा आएर मान्छेहरू यति शिक्षित भए कि देवताको नाममा पाएको बक्सिसका जग्गा र त्यसबाट प्राप्त उत्पादित अन्नपातहरू आफैं र आफ्ना सन्तानहरू पालनपोषण गर्न अपुग भएको भन्दै कर्तव्यबाट विमुख हुन थाले र भएभरको जग्गाहरू आफ्नै नाममा नापी गराएर भूमिपति बन्न पछि परेनन् । त्यस्ताहरूका लागि देवताको महिमाको अर्थ के हो र राज्यले दिएको सुविधाको औचित्य के हो कसले सम्झाउन् ?
अबको समयमा आएर मुल देवताको मन्दिरसम्म धाएर दर्शन गर्न गराउन प्रचारप्रसार गर्नु गराउनु त कता हो कता उल्टै आफ्नै गाउँघर परिसरमै कतै भीमसेनको तरवार भेटिए रे, कतै लौरो भेटिए र,े अनि कतै पाइला भेटिए रे भन्दै एक वृद्ध व्यक्तिलाई अघि सार्दै उनले प्राप्त गरेको क्षमता, सीप र ज्ञानकै धज्जी उडाएर दर्शन गर्नलाई समेत ‘पहिले यहाँ अनि पछि उहाँ’ भन्दै कपोलकल्पित तथ्यहरू जुन कथा र गाथासँग सम्बन्ध नै नभएको हतियार तरवारको शिला भेट्टिएको भन्दै स्थानीयपनलाई बढावा दिन खोज्ने सामाजिक अभियन्ता र द्धित वर्गहरू देख्दा अचम्भ लाग्दछ ।
सत्य यथार्थ हुन्छ काल्पनिक लोककथा हुनसक्छ तर दोलखामा रहेको भीमसेनको महिमामाथि ठाडो हस्तक्षेप गर्न खोज्नु दुःखद कुरा हो । प्रसङ्ग भीमसेनको पाइलालाई हेरौँ, १२ वर्ष बनवासको क्रममा जाँदा पाइलाको डोब बस्न सक्छ, चउरमा केहीबेर आराम गर्दा शिरको डाम बस्न सक्छ । तर पाइलाको डोब कथित ठाउँमा मात्र स्थीर भएको होला र ? कि त त्यो पत्थर नै खिइनेगरी टेकेको हुनुपर्यो । अर्को कुरा भीमसेन स्वयं अजङ्गको राक्षसलाई समेत परास्त गर्नसक्ने शक्तिशाली हुन् भने लौरो टेकेर हिँडेका होलान् त ? उनी तीर्थधाम यात्रा गर्न गएका वुद्ध त पक्कै होइनन् । हुन सक्छ कल्पनातीत प्रसङ्गमा कुनै फल खानका लागि रुखको हाँगा नै भाँचेर खाँदै जाँदै गर्दा त्यो हाँगाचाहिँ त्यतै फालिएको । खैर यो गन्थनलाई यतै बिटमार्दै प्रसङ्गलाई दोलखा भीमसेनतिर जोडौंँ ।
दोलखाको शैलुङ पर्वत आफैंमा लोकप्रिय छ । जसलाई दोलखाको ‘मौसमी हिमाल’ भन्दा पनि फरक नपर्ला । अझ समयान्तरको हिसाबले अन्तराष्ट्रियरूपमै चर्चा गर्न ‘सिजनल हिमालय’ नामाकरण गरेर या ‘बुद्ध टाकुरा’ भन्दा पनि हुन्थ्यो । भीमसेनको तरवारको शीला भेट्टिएको ठाउँ र यहाँ पहिले पू्रजा गरेर मात्र भीमसेनको पूजा गरेर फटाहा, दुर्जन, पापीहरूले मुक्त पाउनेछन् भन्ने आशयको अभिव्यक्ति दिनका लागि नेपालकै ऋषि, विज्ञ कहालाइएका डा. जगमान गुरुङ जस्तो व्यक्तिलाई शब्द जोताउन सक्ने महान विज्ञ अर्कै जन्मेछ क्यारे त्यसैले त पोखरा बसेर दोलखाको वर्णन गर्न आतुर भए ।
जीवनको उत्तरार्धमा आएर कुन ठाउँको महिमा कस्तो छ के छ भनेर बुझ्न नसक्ने विद्वान त होइनन् त डा. गुरुङ । उनी आफै गतसालको भीम एकादशीमा दोलखामा पुगेर भीमसेनको खुबै चर्चा गरेर आएका हुन् । त्यतिबेला पनि उनले भीमसेनको शीलालाई प्रसिद्धता झल्काउने क्रममा प्रतिमूर्तिरुपी पत्थरमा प्राकृतिक धरातलमा उत्पन्न पत्थरमा चुम्बकीय शक्ति भएकोले तरल पदार्थ रसाउनु अनौठो नभएको प्रसङ्ग कोट्याएका थिए । त्यतिबेला पनि स्थानीयले कुनै प्रतिक्रिया जनाएनन् ।
जब कि परापूर्वकालदेखि नै भीमसेन देवतामा तब पसिना आउँछ जब नेपाल राज्यभित्र कुनै कुनै खालको परिवर्तनको सम्भावित या प्रसङ्गवशको खतरा हुन गइरहेका छ भन्ने अर्थमा हेरिन्छ । जुन अहिलेसम्म धेरै सत्य यथार्थमा गुज्रिरहेको छ । एउटा पूर्वीय दर्शन शास्त्रमा समेत अनुभव प्राप्त व्यक्तिले भीमसेनको शीलालाई ‘म्याग्नेटिक शक्ति’को कारणले पानी रसिएर निस्कन सकिने भनेर पत्थरसँग तुलना गर्नु भनेको भीमसेन प्रतिको अवहेलना होइन र ?
भीमसेनको दर्शन गर्नाले र आराधना गर्नाले जुनसुकै पाप गरेका भएपनि नष्ट हुन्छ र मुक्त हुन्छ भन्ने एउटा उक्ति सुन्दा भने मान्छेहरू स्वयं पापकर्म गर्दारहेछन् पो त्यो भनाइ राख्दछन् जस्तो पनि लाग्दछ । खास त देवताप्रति श्रद्धा गर्नुको अर्थ र प्रकृति, प्रवृत्ति सबैको कल्याण गरेर सभ्य मनस्थितिको सृजना होस् भन्नाका लागि हो नि । जब सत्कर्मको लागि ईश्वरको पुकार नै गरिन्छ भने, पाप, कूकर्म र दुश्चरित्रको प्रसङ्ग नै किन कोट्याउनु । त्यसैले गलत तर्क, अर्थहीन प्रचारप्रसार गरेर भोलिका सन्ततिलाई अन्योलमा नराखौँ । पूर्खा पूर्खा नै हो परम्परा परम्परा नै ।
दोलखा भीमसेनसँग सम्वद्ध भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले मुखा खोल्दा गाँस नै हराउला कि भनेर ‘भीमसेन र तरवार’ प्रसङ्ग उठाएनन् जस्तो लाग्दछ । जे होस्, दोलखाप्रतिको आत्मीय जगाउने शुभचिन्तकहरूले जे जति चिन्तन गरे त्यो चिन्तन यथार्थ होस् । पर्दा खुलेपछिको नाटक जस्तो नहोस् । जुन आँखाको आकर्षक मात्र हुन्छ । दोलखा भीमसेनको वास्तविकता बुझेर थुतुनो चलाउन र कलमको गति बढाउन सबैमा अनुरोध छ ।
विविध विषयक अभियन्ताहरूले पनि सामाजिक र धार्मिक र ऐतिहासिक कार्यको पर्दाफास खुल्लारूपले गर्ने गरौँ । समन्वय भइसक्यो, कुरा मिलिसक्यो भनेर कोठे निर्णय दोबाटोमा भेट्दा मात्र भन्ने नगरौँ सार्वजनिक गर्ने प्रवृत्ति जन्माऔँ । नाम भन्दा पनि यहाँ असर र पारदर्शी कामको प्रतिष्ठा महान हुन्छ त्यो कुराको हेक्का राखौँ ।
बालकृष्ण श्रेष्ठ “पासा”, दोलखा