
प्रा. डा. श्याम जोशी
नेपालमा, बिशेष गरी नेवार बस्तीहरूमा एक महिना लामो स्वस्थानी ब्रतकथा पौष शुक्ल पूर्णिमा (२०८१ मा पौष २९) मा आरम्भ हुन्छ र माघ शुक्ल पूर्णिमा (२०८१ माघ ३० गते) मा समापन हुन्छ । सबै घरपरिवारले स्वस्थानी व्रतकथा वाचन गरेर एक महिनासम्म स्वस्थानी देवीको पूजा गर्छन् । व्रत बस्ने र देवीको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास अनुसार महिलाहरु देवीको व्रत बस्छन् ।

’स्वस्थानी देवीको कथा’ दोलखाको नेवारी भाषामा “स्वस्थानी बाखन” भनिने, काठमाडौं उपत्यकाको नेवार समुदायमा उत्पत्ति भएको हिन्दू महाकाव्य हो । स्वस्थानीको बारेमा विस्तृत अनुसन्धान गरेका जेसिका भ्यान्टाइन बिर्केनहोल्ट्जले भनेका छन्, “स्वस्थानी काठमाडौं उपत्यकामा प्रमुख शासक नेवार राजाहरु भएको बेला जयन्त देवले पहिलो पटक नेपाल संवत् ६९३ (सन १५७३ तिर) उपत्यकाको नेपाल भाषामा लेखेका थिए”। पछी नेपालीमा अनुवाद गरेपछि यो कृति यति लोकप्रिय भयो कि यसलाई जात–धर्मको भेदभाव नगरी देशका सबैले वाचन गर्न थाले ।
रास जोशीका अनुसार नेपाल संवत् ६९३ मा पहिलो संस्करणको “स्वस्थानी बाखन” आठ पानाको मात्र र संस्कृतमा थियो । यसको तीन दशक पछि, नेपाल संवत् ७२३ मा नेपालीमा अनुवाद भएपछि यो ठूलो आकारमा विस्तार भयो । सुरुमा यो केवल स्वस्थानी देवीको कथा थियो, पछिल्ला संस्करणहरूमा भगवान ब्रह्माद्वारा ब्रह्माण्डको सृष्टिको कथा, सती देवी, पार्वती, गोमा ब्राह्मनी र उनको छोरा नवराजको कथा, वृन्दा र जालन्दरको कथा आदि समावेश गरिएको थियो ।
वर्तमान संस्करणहरूमा स्वस्थानी ब्रत कथा मुख्यतया भगवान शिव, उनकी पत्नी देवी पार्वती र भगवान विष्णुमा केन्द्रित छ । । धेरै पुरानो पौराणिक स्वस्थानी ब्रतकथा महिना दिन सम्म हरेक साँझ वाचन गर्ने गरिन्छ र परिवारका सबै सदस्यहरू भेला भएर कथा सुन्ने गर्छन । आफुले वाचन नगरे पनि कथा सुने मात्र पनि पाप बाट मुक्त हुन्छ भन्ने जनबिस्वास छ ।
स्वस्थानी ब्रतकथा, स्कन्द पुराणको केदारखण्ड भाग हो । जुन कुमारले अगस्त्य ऋषिलाई सुनाउनु हुन्छ । स्कन्दलाई शिव र पार्वतीका पुत्र कार्तिकेयको रूपमा पनि चिनिन्छ । स्वस्थानी परमेस्वरी लाई सुनको जस्तो वर्ण भएकी, कमलको फूलजस्ता तीन आँखा भएकी र सिंहमा सवार अति आराध्य देबिको रूपमा चित्रण गरिएको पाइन्छ ।
दीपेन्द्र पराजुली र विन्दु पौडेलले भनेका छन्, “स्वस्थानी परमेश्वरी देवी ब्रह्मा, विष्णु र महेश्वरको समग्र रूप मानिने सबैभन्दा श्रेष्ठ देवता हुन् । देवी स्वस्थानीलाई सामान्यतया चार बाहु भएकी देबीको रूपमा चित्रण गरिएको छ जसमा एक हातमा खड्ग, एक हातमा त्रिशूल, एक हातमा तरवार र एक हातमा कमल समातेकी हुन्छिन । केन्द्रमा विराजमान देबीको वरिपरि अष्ट मातृका वा आठ शक्तिका देवताहरू – महाकाली, वैष्णवी, ब्राह्मी, महेश्वरी, कामेश्वरी, बाराही, इन्द्रायणी र चामुण्डाका चित्र कोरिएको हुन्छ”।

काठमाडौं उपत्यका बाहिर प्राचिन शहर हालको भीमेश्वर नगर वडा नं. २ दोलखामा पनि एक महिना लामो स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमाबाट सुरु भई माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ । दोलखामा स्वस्थानी देवीलाई समर्पित कुनै मन्दिर छैन तर स्वस्थानी व्रतकथा नपढिएको सायद दोलखामा कुनै घर छैन ।
एक महिनासम्म साँझमा कथा वाचन गरिन्छ । कतिपय घरपरिवारले आफूले पढ्न नसके पनि अरूलाई घरमा बोलाएर पनि किताब पढ्न लगाउँछन् । म सानै छँदा फुफु दिवंगत मुक्तिलक्ष्मी श्रेष्ठको घरमा पनि कथाको पुस्तक पढ्न जान्थें । महिनाको अन्त्यमा साङ्गेको दिन सगुन लिँदा पुरस्कार स्वरूप एउटा शिङ्गो तारेको अण्डा दिनुहुन्थ्यो ।
स्वस्थानी ब्रतकथा पुस्तकमा ३१ अध्याय छन् । त्यसैले, पढ्नमा रुचि नभएका मानिसहरू प्रत्येक दिन एक अध्याय मात्र पढेर महिनाको अन्त्यमा ३१ अध्याय पूरा गर्छन । तर पढ्नमा रुचि भएकाहरूले महिनामा कम्तिमा तीन पटक पुस्तक पढ्छन् । पुस्तक पढाइलाई जोर सङ्ख्यामा टुङ्ग्याउनु नहुने र महिनामा एक पटक वा तीन पटक बिजोर सङ्ख्यामा मात्रै टुङ्ग्याउनु पर्ने जनविश्वास छ ।
सतीदेवीको शव आगोमा होउञ्जेल कथा वाचन समाप्त गर्नु हुँदैन भन्ने अन्धविश्वास पनि मानिसहरूमा छ । एक व्यक्तिले पुस्तक पढ्छ र परिवारका अन्य सदस्य र छिमेकीहरू कथा सुन्न भेला हुन्छन् । श्लोक पढेर पुस्तकमा पूजा गरेर कथाको आरम्भ हुन्छ र श्लोक पढेर र फुल, अक्षता र नोबेद्य पुस्तकमा चढाएर पुस्तकमा पूजा गरेर समाप्त हुन्छ ।
स्वस्थानी कथाको एउटा चाखलाग्दो पक्ष के छ भने स्थानीय दोलखाको नेपाल भाषामा ‘छुसेमुसे’ भनिने प्रसादलाई हरेक दिन देवीलाई प्रसादको रूपमा राखिन्छ । यसमा प्रायः भुटेको मकै, भटमास र लट्टे हुन्छ । कथा पढन सकिएपछि देवीलाई चढाएपछि कथा वाचक र श्रोतालाई सो प्रसाद बाँडिन्छ । तर, अन्तिम दिनमा भुटेको मकै, भटमास र लट्टेका अतिरिक्त उपलब्ध फलफूल र मिठाई पनि छुसेमुसेमा समावेश गरिन्छ । यद्यपि, उपवास बस्ने महिलाहरूले कथा वाचन गर्ने अन्तिम दिन मनाउंन विभिन्न प्रकारका खानाहरू तयार पार्छन्।
स्वस्थानी देवीको पूजा गर्ने विधिमा भनिए अनुसार सबै चीज १०८ संख्यामा हुनुपर्छ । १०८ टुक्राहरू मध्ये, आठ टुक्रा पतिलाई दिनुपर्छ; पति छैन भने छोरा लाइ दिनु पर्छ; छोरा छैन भने मितछोरालाई दिनुपर्छ , र यदि मितछोरा पनि छैन भने उपवास बसेका महिलाहरूले तिनीहरूलाई नजिकैको नदीमा बिसर्जन गर्नुपर्छ । दोलखाका नेवार समुदायमा सांगे भनिने कथाको अन्तिम दिन तारेको अण्डा, माछा, मासु र रक्सीको सगुन लिने चलन छ । अन्तिम दिन कतिपय महिलाहरू व्रत बसेर रातभर जाग्रम बस्छन् । त्यसैले कसै कसैले निद्राबाट बच्न त्यो रातमा पुरै किताब पढेर रात बिताउँछन् ।
प्रचलित परम्पराले मात्र नभई व्रत बसेर देवीको आराधना गरेर आशीर्वाद प्राप्त गर्न सक्ने भएकाले मानिसहरूले स्वस्थानी कथा पढेर देवीको पूजा गर्ने गर्छन् । पौराणिक कथामा उल्लेख भएअनुसार अविवाहित युवतीहरूले एक महिनाको व्रत बसे भने उपयुक्त वर प्राप्त गर्छन् किनभने स्वस्थानी कथामा भनिएको छ कि देवी पार्वतीले भगवान शिवलाई आफ्नो जीवनसाथी बनाउन स्वस्थानी देवीको ध्यान र प्रार्थना गरेकी थिइन् र फलस्वरूप शिवजी पतिको रूपमा प्राप्त गरेकी थिइन् । देवीको आराधना गरेर मानिसले दुःख र गरिबीबाट मुक्ति पाउन सक्छ । त्यस्तै गरी, ब्रतका प्रभावले आफ्नो प्रियजनबाट बिछोड भएर टाढारहेका मानिसहरू चाँडै सँगै हुन्छन । ब्रत बसेका विवाहित महिलाहरूले आफ्नो जीवनसाथी तथा छोराछोरीका समृद्ध जीवन र दीर्घायुको कामना गर्छन् ।
साङ्गेको भोलिपल्ट केही मानिसहरूले एक महिनासम्म गरेको पूजामा स्वस्थानी देवीलाई चढाइएका नैबेध्यहरू आफ्नो सुविधा अनुसार वाराणसी वा नारायण देउको पवित्र जलमा विसर्जन गर्छन् । तर अधिकांश मानिसहरू नागदहको तामाकोशी नदीमा गएर विसर्जन गर्छन् । नागदहको तामाकोशी नदीमा विसर्जन गर्नुको पनि कारण छ ।


स्वस्थानीको कथा अनुसार चन्द्रावती ब्राह्मनी देवी स्वस्थानीको निन्दा गरेको कारण दयनीय अवस्थामा सालिनदीको किनारमा तडपिरहेकी हुन्छिन । स्वर्गकी अप्सराहरु सालिनदीमा व्रत बस्न आएको बेला उनलाई दुःखबाट मुक्ति पाउनका लागि स्वस्थानीको व्रत बस्न सिकाए ।
उनले अप्सराहरुको निर्देशन अनुसार एक महिना व्रत बसेपछि देवीको पूजा गरिन र आठ रोटी र आठ अक्षता धेरै वर्षदेखि विछोडिएका आफ्ना पतिसँग भेट गराउन देवीसँग प्रार्थना गरेर सालिनदीमा बगाइन । एक नागको जोडीले बाह्र वर्षदेखि एकअर्कालाई देखेका थिएनन् ।

आठ रोटीमध्ये नागले चार र नागिनले चारवटा रोटी पाए । दुबैले सोचे कि “मेरो जीवनसाथीलाई नखुवाई कसरी यी स्वादिष्ट रोटीहरू मैले मात्र खाने ।” यो सोचेर नाग आफ्नो घर फर्के, जहाँ उनले आफ्नी प्यारी पत्नीलाई भेटे र उनीहरूले एकअर्का सँग रोटी बाँडे । रोटीहरूका कारण धेरै वर्षपछि भेट्न पाएकोले उनीहरुले आशीर्वाद दिए – “जसले यी रोटीहरू बिसर्जन गरे उसले हामीजस्तै छुट्टिएर बसेको भए आफ्नो जीवनसाथी तुरुन्तै भेट्नेछ”।
उनीहरुको आशीर्वादले चन्द्रावतीको शरीर सुन्दरीमा परिणत भएपछी र उनका राजा पति नवराजले पनि उनलाई दरबारमा ल्याउन आफ्ना सेवकहरू पठाए । दोलखावासीले तामाकोशीमा नागदह नामक ठाउँमा देवीको प्रशाद विसर्जन गर्ने कारण यही हो ।
क्रमश ….