नेपाल सम्वत् ११४५ प्वहेलागाः ६ ( ७ माघ , २०८१) जनवरी २०, २०२५ , सोमबार, बाँपीझ्याला ।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा पर्यटकीय ताल निर्माण गरिएको छ। बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले २०७९ मङ्सिरमा निर्माण सुरु गरेको यो ताल ०.४९ हेक्टर क्षेत्रमा फैलिएको छ। ताल निर्माणको मुख्य उद्देश्य वन क्षेत्रलाई पर्यटकीय गन्तव्यमा बदल्ने र नगरकोट जाने पर्यटकलाई आकर्षित गर्नु हो। तालको निर्माण ओखरे र थुम्की खोलाको संगमस्थल स्युरो खोलामा बाँध निर्माण गरेर गरिएको छ।
ताल निर्माणका लागि पाँच करोड ८९ लाख ५१ हजारमा सम्झौता भएको थियो भने पूर्ण संरचना निर्माणमा १६ करोड ९४ लाख ५० हजार खर्च हुने अनुमान छ। ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ, र १८२ मिटर लम्बाइको छ। पहिलो चरणको निर्माण सकिएको र आगामी चरणमा पार्किङ, होटल, पसल, र टिकट घरलगायत पूर्वाधार निर्माण गरिने योजना छ। बागमती प्रदेशको पर्यटन मन्त्रालयले डुङ्गा सञ्चालन, मनोरञ्जन पार्क, पर्खाल, उद्यान, र चराचुरुङ्गी संरक्षणजस्ता कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ।

हिले–जलजले तालको धार्मिक र सांस्कृतिक महत्व पनि उल्लेखनीय छ। यहाँ ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ भने वासुकी नागले पनौतीको मकर मेलामा जाने मान्यता छ। घुम पूर्णिमाका अवसरमा वासुकी नाग जाने क्रममा हावाहुरी चल्ने र फर्कंदा अन्नबाली पहिलेकै अवस्थामा आउने विश्वास रहेको छ।
पर्यटकीय ताल निर्माणले काठमाडौँ नजिकै नयाँ गन्तव्य प्रदान गर्नुका साथै स्थानीयको आर्थिक समृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ। सांसद गोकुल बाँस्कोटाका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधार बनाउन योजनाबद्ध संरचना निर्माण गरिनेछ।
