नेपाल सम्वत् ११४५ प्वहेलागाः ६ ( ७ माघ , २०८१) जनवरी २०, २०२५ , सोमबार, बाँपीझ्याला ।पर्साको बहुदरमाई नगरपालिकामा सात महिनादेखि तलब नपाएका सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म तलब नपाएका २० विद्यालयका शिक्षक-कर्मचारीहरूले आइतबार विरोधस्वरूप यो कदम चालेका हुन्। शिक्षकहरूले ‘हाम्रो तलब खोई?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
नगरपालिकाको बजेट प्रमाणीकरण नभएकाले तलब निकासा हुन नसकेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्। नगर प्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा यो समस्या उत्पन्न भएको हो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने व्यवस्था भए पनि नगर प्रमुखले उक्त कार्य नगरेका कारण समस्या जटिल बनेको छ।

शिक्षकहरूले दिवा खाजाबाट समेत बालबालिका बञ्चित भएको र परीक्षा सञ्चालनका लागि रकम ननिकासा गरिएको बताएका छन्। दसैं, तिहार, छठ, माघे संक्रान्तिलगायतका पर्वमा तलब नपाउँदा जीविकोपार्जनमा समस्या भएको गुनासो शिक्षकहरूले गरेका छन्। गत पुस ५ गते विद्यार्थीहरूले तलब नपाएर पठनपाठन बन्द हुँदा नगरपालिका कार्यालयमा आगजनी र तोडफोड समेत गरेका थिए। नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुन्जेल बजेट प्रमाणीकरण नगर्ने अडान लिएको वडाअध्यक्षले बताएका छन्।नगरपालिकाको २०८१/०८२ को बजेट चार महिना ढिलो कात्तिक ८ गते प्रस्तुत भए पनि नगर प्रमुखको सहमति नहुँदा बजेट खर्च गर्न नसकिएको हो। यसले गर्दा शिक्षक, विद्यार्थी र समग्र विद्यालय प्रशासन प्रभावित बनेको छ।
