Search

भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर

भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर

नेपाल सम्वत् ११४५ प्वहेलागाः ५.८ ( ६ माघ , २०८१) जनवरी १९, २०२५ , आइतबार, बाँपीझ्याला ।भारतको एक अदालतले शनिबार एक ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्याको दोषी ठहर गरेको छ । गत अगस्टमा पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।
पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरूले ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो। अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन् । रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन् । फैसलापछि उनले भने, “मलाई फसाइएको छ।” रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उनीविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

उनीहरूले नारा लगाउँदै भने, “बलात्कारीलाई फाँसी देऊ, फाँसी देऊ।“ यौन हिंसाका घटनाहरूको रिपोर्टिङको सन्दर्भमा भारतीय कानुनअनुसार पहिचान नगरिएका पीडितका परिवारले पनि यो भावनालाई प्रतिबिम्बित गरेका थिए। रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमाले एएफपीसँग भने, “यदि उसलाई मृत्युदण्ड दिइएन भने आम मानिसले न्यायपालिका माथिको विश्वास गुमाउनेछन्।” मृतक युवतीका बुबाले अझै भने, “उसले हाम्रो छोरीको जीवनलाई क्रूरतापूर्वक अन्त्य गरेको छ । उ पनि त्यस्तै नियतिको हकदार हुन्छ।”

एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका डाक्टरहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!