Search

अपर तामाकोसीले शनिबार र आइतबार उत्पादन बन्द गर्ने

अपर तामाकोसीले शनिबार र आइतबार उत्पादन बन्द गर्ने

नेपाल सम्वत् ११४५, प्वहेलागाः ४, नवमी (४ माघ, २०८१, १७ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला । माथिल्लो तामाकोसी जलविद्युत केन्द्र ४८ घण्टा अर्थात् दुई दिन बन्द हुने भएको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेर एक महिनाअघि आंशिक सञ्चालनमा आएको हो ।

अब पिकिङ रूपमा सञ्चालनको तयारी उत्पादन बन्द गरेर सफाइ गर्न लागेको हो । बाढी क्षतिग्रस्त संरचनाको बालुवा थिग्राउने पोखरी र भूमिगत कल्भर्टको सरसफाइ र आंशिक मर्मत गरेर ८८ दिनपछि सञ्चालनमा आएको थियो । अहिले नदी प्रवाहमा आधारित भएर सञ्चालन हुँदै आएको छ । अहिले १०० मेगावाटमा २४ सै घण्टा सञ्चालन हुँदै आएको छ ।

अर्धजलाशययुक्त आयोजना भएकाले अब विद्युतको उच्च माग हुने बिहान र साँझमा मात्रै सञ्चालन गर्नको तयारी गरेको हो । यो जलविद्युत केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । दोलखाको विगू गाउँपालिका–१ मा रहेको जलविद्युत केन्द्रको क्षमता ४५६ मेगावाट रहेको छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले अब विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन गर्ने पूर्व तयारीमा लागेको जानकारी दिए ।

विद्युत उत्पादन सुचारु गर्दै गर्दा दुईवटा पोखरीको बीचको क्षतिग्रस्त कंक्रिट वालको काम पनि जारी भएकाले त्यसमा स्क्याफोल्डिङ गरिएको छ । परामर्शदाताले वालमा कंक्रिट गरेपछि कम्तीमा २१ दिन स्क्याफोल्डिङ नखोल्न सुझाव दिएकाले पोखरीमा छ । अब काम गर्दा रहेका स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्नका लागि दुई दिन लाग्ने भएकाले त्यो बीचमा उत्पादन बन्द गर्न लागेको उनले बताए । सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउडिङ समेत गर्नुपर्छ ।

पोखरी सफाइका लागि नदी फर्काएर सफा गरिन्छ । सबै पूर्व तयारीको काम गर्नका लागि कम्तीमा दुई दिन लाग्ने गौतमले जानकारी दिए । अपर तामाकोसीले शनिबार र आइतबार उत्पादन बन्द गरेर सोमबार (माघ ७ गते) देखि उत्पादन सुचारु गर्ने तयारी गरेको उनले जानकारी दिए । अत्यावश्यक समयमा यो जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणलाई विद्युतको माग व्यवस्थापन गर्न सहज हुन्छ ।

साँझको विद्युतको माग पूरा गर्न भारतबाट आयत गर्दा महँगो पर्छ । क्षतिग्रस्त संरचना मर्मतपछि विद्युत उत्पादन सुचारु गर्दा एक महिनाअघि (गत पुस ९) बाँधस्थल लामाबगरमा क्षति नहोस् भन्ने कामनासहित हिन्दु र बौद्ध धर्मअनुसार पूजापाठसमेत गरेका थिए । अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो ।

विद्युतगृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो । माथिल्लो तामाकोसी पुर्न सञ्चालनमा आएपछि लोडसेडिङ गर्नु पर्ने अवस्था हटेको छ भने विद्युतको माग धान्नका लागि अरबौं खर्च गरेर भारतबाट विद्युत आयत गर्नुपर्ने पनि कम भएको छ । क्षति भएको सुरुवाति दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अपर तामाकोसीका सिंगो टिम खटिँदै आएको थियो ।

आपतकालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाई हिमाल कन्स्ट्रक्सनमार्फत् सफा गर्ने र मर्मतको काम गरेको हो । बढी क्षति भएको दायाँ तर्फको पोखरी पुनर्निर्माणका लागि भने सार्वजनिक खरिद ऐनअन्र्तगत ठेक्का आह्वान भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । त्यसको ठेकेदार छनोट गरी वर्षात्अघि नै काम पूरा गर्ने कम्पनीको लक्ष्य छ । सुरक्षा कक्ष भवनका लागि अर्धभूमिगत रूपमा बनाउने गरी डिजाइनको काम जारी छ ।

पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृहसमेत पूर्ण रूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका दुईजना र माथिल्लो तामाकोसीकै दुईजना कर्मचारीसहित चार जनाको ज्यानसमेत गएको थियो । माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवक्र्स क्षेत्रमा बाढी र पहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ ।

दिलबहादुर केसी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!