नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ३, प्रतिपक्ष (१८ पुष, २०८१, २ जनवरी, २०२५) बिहिवार, बाँपीझ्याला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि बैठकका निर्णयबारे पार्टी प्रवक्तासमेत रहेका पार्टी उपाध्यक्षा अग्नि सापकोटाले प्रचण्डको भनाइबारे जानकारी दिएका हुन्। अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको बताए।
उनले बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे पनि आफ्ना धारणा राखेको र देशको परिस्थिति झनै जटिल बनिरहेको बताएको जानकारी दिए।
‘आजको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको थियो। मुख्य एजेण्डा पुस २१ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै छ‚ त्यो बैठकका एजेण्डाबारे आज छलफल भयो‚’ उनले भने, ‘अध्यक्षले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो। सबै प्रदेशका अध्यक्षले प्रदेशको रिपोर्टिङ गर्नुभयो। अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नुहुन्छ । आगामी कार्ययोजना, समसामयिक प्रस्तावहरु हुनेछन्।’