नेपाल सम्वत् ११४५ थिंलागाः ५ ( ५ पुष , २०८१) डिसेम्बर २०, २०२४ , शुक्रबार, बाँपीझ्याला ।दिगो विकासका लक्ष्य हासिल गर्न नेपाल र भारतबीच जलविद्युत्, पर्यटन, सूचना प्रविधि र अन्य क्षेत्रहरूमा सहकार्य थप बलियो बनाउन नयाँ पहल आवश्यक रहेको औंल्याइएको छ। नेपाल–भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
सम्मेलनमा बोल्ने पूर्वराजदूत डा. लोकराज बरालले सार्क र बिमस्टेकले उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको बताउँदै नेपाल र भारतले क्षेत्रीय सहकार्यलाई बढावा दिनुपर्ने धारणा राखे। भारतका पूर्वराजदूत मञ्जीभसिंह पुरीले दुई देशबीच आर्थिक र सांस्कृतिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले नेपालका धार्मिकस्थलहरू भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिने बताए। साथै, अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणले ऊर्जा सहकार्यमा टेवा पुर्याउने बताए।
भारतको वित्त मन्त्रालयका सल्लाहकार चञ्चल सीले अन्तरदेशीय भुक्तानी प्रणाली र डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने सुझाव दिए। उनले फाइनान्सियल इन्क्लुजन, स्टार्टअप र फिनटेक क्षेत्रमा दुवै देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको औंल्याए। काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक उद्धव प्याकुरेलले दुई देशबीचको खुला सीमाना, आर्थिक सहकार्य र अवैध व्यापार नियन्त्रणमा समन्वयको आवश्यकता रहेको बताए। प्राध्यापक महेन्द्र पी लामाले जलविद्युत् विकासलाई क्षेत्रीय बजारमा जोड्न संयुक्त प्रशारण प्रणालीको विकास र नयाँ आर्थिक करिडोर पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतका लगानीकर्तालाई होटल र पूर्वाधार निर्माणमा आकर्षित गर्न सकिने सम्भावना रहेको लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए। भारतीय लगानीमा अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेतीजस्ता परियोजनाहरू अघि बढेको पनि उनले जानकारी दिए। यस सम्मेलनले जलविद्युत्, डिजिटल पूर्वाधार, धार्मिक पर्यटन, र युवा उद्यमशीलतामा सहकार्य बलियो बनाउन दुवै देशले ठोस कदम चाल्नुपर्ने साझा निष्कर्ष निकालेको छ।