Search

प्राचिन शहर दोलखामा ठिला पुन्हिस (योमरी पुन्ही) र यसको मौलीकता

प्राचिन शहर दोलखामा ठिला पुन्हिस (योमरी पुन्ही) र यसको मौलीकता

दोलखामा मनाइने ‘द्येउचा मारी पुन्हिस् (ठिला पुन्हिस्) नेवारहरूको प्राचीन शहर दोलखामा आजको पूर्णिमालाई ‘द्येउचा मारि पुन्हिस्’को रुपमा मानिए तापनि विशेष महत्व चाहिँ ‘ठिला पुन्हिस’ कै नामोच्चारण बढी नै गरिन्छ । यसमा पनि ‘ठि’को अर्थ अत्याधिक ठण्डी वा प्रचण्ड गर्मीले स्पर्श गरेको महशुस भएको अवस्थामा ‘ठिर’ शब्द प्रयोग भएको हो । जस्तो कि ‘चिकौला ठिर’ भन्नुको अर्थ जाडो महिनाले छोयो र ‘ताप्ला ठिर’को अर्थ गर्मी महिनाले छोयो भन्ने जनाउँछ ।

नेपाल सम्वत्को महिनाको हिसाब गर्दा औँसीको भोलिपल्ट परेवादेखि कुनै महिनाको पहिलो दिनको शुरुवात हुन्छ र पूर्णिमा दिनसम्म आधा महिना सकिन्छ । त्यही हिसाबले यो पूर्णिमादेखि पूर्णतया जाडो दिनको गिन्ती शुरु हुन्छ ।


अब दोलखामा यो पूर्णिमा अर्थात् द्येउचामारि पुनिहस कसरी मनाइन्छ त भन्दा मार्ग शुक्ल चतुर्दशीको दिनको बेलुकीपख सबैको घरघरमा द्येउचामारि (चुच्चे रोटी) बनाइन्छ ।

दोलखामा यो चुचेरोटी बनाउने तरिका र काठमाडौंमा उपत्यकामा बनाउने तरिका र आकार एउटै भएपनि दोलखामा आफ्नो सीप अनुसार देवी देवता जस्तै, कुबेर, गणेश, कुमार, भगवती, लक्ष्मी, सरस्वती, शिव र पार्वतीका मूर्तिहरू मुछिएको चामलको पिठोबाट नै बनाउने गरिन्छ । अनि मात्र चुच्चे रोटी बनाउन थालिन्छ । यो बेला बनाइएको चुच्चेरोटी (देवताका मूर्तिहरू बाहेक) पूर्णिमाको दिन बिहान अनेक परिकारका तरकारी बनाएर कूल देवताहरूकहाँ लगेर चढाउन दिइन्छ, यसरी लाने कार्यलाई स्थानीय दोलखाली नेवारी भाषामा ‘थापन येङ’ भनिन्छ ।

यो थापन भन्नाले सालको पातको टपरीमा चिउरा, लसुन, भटमास साँधेको, आलु तारेको, अनि रीत अनुसारको रोटी, सानो घैलामा रक्सी राखेर देवदेवीको मन्दिरको अवस्था र स्थान सुहाउँदो मासु पोलेर मोलेको राखेर चढाउन लगिन्छ । जस्तो कि दोलखाका गणेश मन्दिर, भीमसेन मन्दिर, आगममा रहेको कूल देव थान, हरसिद्धि भवानी, त्रिपुरा सुन्दरी माताको मन्दिरमा ‘थापन’ चढाउन लाने प्रचलन रहेको छ ।

करीब एक दशक अघिसम्म दोलखामा पनि काठमाडौ उपत्यकामा जस्तै यो यःमरि याने कि द्यउचामारि पूर्णिमाको दिन बिहानै देखि नेवार समुदायकै एक थरि कुसुले थरका मान्छेहरूको एक एक समूहमा एकजना जोगी (शिवस्वरुप) भएर दौडा र जामा लगाएर टाउकोमा तुना भएको काने टोपी लाएर डमरु बजाउँदै अगाडि लाग्दै अन्य चाहिँ पछिपछि खाँडी खद्दरको ओढ्ने ओडेर घरघरमा माग्न आउँथे । यसरी माग्न आउने क्रममा।। “जाकी फोन्द यये बजै। द्येउचामारीङ् बिसिन्ना” (भिक्षा– चामल माग्न आएको बज्यु, चुच्चेरोटी पनि दिनु है”) भन्दै आउँथे ।

ती चलन लोकतन्त्र पछि विलोप भए । यसो हेर्दा लोक तन्त्र र गणतन्त्रको आगमन पश्चात् धेरै थरिका मान्छेहरू शिक्षित र ज्ञाता बन्न थालेर होला त्यही भएर रीतिरिवाजलाई थान्को लगाएर आधुनिकतिर प्रविष्ट भए झैं लाग्छ । यसरी माग्न आउँदा घरमूलीले क्षमाता अनुसारको रोटी चामल दिएर पठाउने गर्दथे ।


त्यसरी जोगी बनेर आउने पात्रलाई ‘कानापुटु’ भन्ने गरिन्थ्यो । यसको अर्थ त्यो जोगीले लाएको टोपीको दुइतिर कान छोप्ने गरि बनाएको फेरोमा दुबैतिर तुना बाँधिएको हुन्थ्यो । दोलखा नेवार भाषामा तुनालाई ‘पुटु’ भनिन्छ । कान छोप्नको लागि बाँध्न प्रयोग गरिएको वस्त्र भएको कारणले जोगी भेषधारी व्यक्तिलाई नै ‘कानापुटु’ भनिएको हुनसक्छ ।

त्यसपछि साँझ परेपछि सबैले आ–आफ्नो घरको धान राख्ने ठाउँ कुठी, भकारी जेमा धान राख्ने गरिन्छ, त्यस ठाउँमा त्यही चामलको पिठोबाट बनाइएको लक्ष्मी, गणेश, कुवेर देवी देवतालाई स्थापना गरेर पूजा गर्ने चलन रहेको छ । यसबेला कुठी भकारीमा पूजा गर्न भनेर अलिक फरक खालको ठूलो चुच्चे रोटी बनायएको हुन्छ । जसलाई क्वटुक मारि भन्ने गरिन्थ्यो । त्यो दिन पूजा गरेको सो यःमरि भनौं या द्येउचा मारि चार दिनको दिन समापनको हिसाबले निकालेर प्रसादको रुपमा बाँडेर खाने चलन छ । अझ कसैकसैले त सो रोटी महिनौं दिनसम्म पनि त्यही धान भित्र नै राखि रहन्छ र पछि निकालेर खाने पनि गरेको पाइन्थ्यो ।

यसबेला प्रायः ठाउँमा धान भित्र्याइसकेको समय भएको कारणले गर्दा कतै कतैका किसान र जग्गा धनीले धान प्रदान गरिदिने जमीनलाई अन्नदाता देवी मानेर पूजा गर्ने भएकोले आजको दिनलाई धान्य पूर्णिमाको रुपमा पनि मान्यता दिइएको पाइन्छ ।

यसरी विशेषतः स्थान विशेषले सँस्कृती मनाउने तरतरीका फरक रहेपनी यो द्येउचमारी (योमरी) पुनिस् खासगरी नेवार जातीको मौलिक चाड मध्ये एक हो ।

यस्ता चाडपर्व बर्षभरीमा दर्जनभन्दा बढी रहेको छ । त्यसैले समय परिस्थिती अनुसार यस किसिमको चाडपर्व मनाउनु पर्छ र जसको संरक्षण स्थानिय सरकारले संरक्षण गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । जसको लागि स्थानिय वासिन्दाले पनि यसबारेमा चासो देखाउनु उतिकै आवश्कता रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!