Search

कार्यालयको तनाव कसरी व्यवस्थापन गर्ने ?

कार्यालयको तनाव कसरी व्यवस्थापन गर्ने ?

आदर्श प्रधान
मनोबिद् / लाइफ कोच
होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस स्वस्थ हुनलाई शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनु जरुरी हुन्छ । तर, स्वास्थ्य भन्नाले शारीरिक स्वास्थ्यलाई मात्र बुझ्नु हुँदैन। शारीरिकभन्दा पनि धेरै मानसिक स्वास्थ्यले भूमिका खेलेको हुन्छ ।

मानसिक तवरले ब्यक्ति स्वस्थ रहनसके मात्र आफ्नो क्षमताको पूर्ण रुपमा उपयोग गर्न सक्दछ। जीवन यात्रामा आउने चुनौतीहरुलाई सहजरुपमा सामना गर्न सक्छ । यसका साथै सिर्जनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित हुन्छ। समुदायमा योगदान दिन सक्षम हुन्छ । यी क्षमता भएको मानिसलाई मानसिक रुपमा स्वास्थ्य मानिन्छ ।

मानिसले आफ्नो दैनिक जीवन सञ्चालनको लागि रोजगार, व्यवसाय जस्ता कार्यक्षेत्रमा समय बिताइरहेका हुन्छन् । कार्यक्षेत्रमा परिवारसँग भन्दा धेरै महत्वपूर्ण समय बिताइएको हुन्छ । उक्त ठाउँको वातावरणले त्यहाँ काम गर्ने व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्यमा ठूलो असर पुगेको हुन्छ । तर, यो बिषयलाई खासै महत्व दिइएको पाइँदैन ।

हिजो आज कर्मचारीहरुमा डिप्रेसन, एन्जाइटी, तनाव जस्ता मानसिक समस्याहरु पाइएको छ । यसका साथै स्वास्थ्य समस्यामा लागूपदार्थ र्दुव्यसनी, बाइपोलार डिसअर्डर, प्यानिक अट्याक डिसअर्डर र पर्सनालिटी डिसअर्डर आदि समस्याहरु हुन सक्दछ । शरीरमा शिथिलता, अनिद्रा, मुडमा असन्तुलन, बिना कारण डर लाग्ने, मनमा नकरात्मक कुरा आउने गर्छ ।

कर्मचारीहरुमा अत्याधिक थकान, काममा नियमित अनुपस्थिति, काममा इच्छा नलाग्नु, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी, डर आदि पनि हुन सक्छ । आफ्नो समस्याको कुरा कसैलाई भन्न नसकी उपचार पनि गराउन सकेन भने ब्यक्तिमा आत्महत्या गर्न समेतको सोच आउन सक्छ ।

कर्मचारीहरुको मानसिक अबस्था सबल नहुँदा उनीहरुमा काम गर्ने क्षमतामा हृास आउँछ। कामप्रतिको लगाबमा कमी आउन थाल्दछ । धेरै जसोले जागिर छाड्ने समेत गरेको पाइन्छ ।

कर्मचारीहरुको मानसिक स्वास्थ्यमा असर पुग्ने कारणहरु :

– कर्मचारीमैत्री सहयोगी वातावरणको अभाव
– कमजोर व्यवस्थापन
– नमिल्दो कार्यालय समय
– कर्मचारीहरुमा असमान ब्यबहार
– अब्यबहारिक कार्यसम्पादन
– ब्यबस्थापकबाट धम्की एवं मनोवैज्ञानिक दबाब
– यौन दुर्व्यहार
– स्वास्थ्य र सुरक्षा नीतिको अभाव

यसका साथै कम तलबमा बेसी काम गर्न लगाउने, कामको दबाब धेरै दिने, कर्मचारीलाई जानकारी नै नदिई सरुवा गरिदिने, लामो समयसम्म काम गरेको कर्मचारीहरुलाई बढुवा नगरिदिने आदि कारणले कर्मचारीहरुमा मानसिक समस्या बढिरहेको हुन्छ। यसले न त संस्थालाई फाइदा हुन्छ न त कर्मचारीलाई नै।

समाधानको उपाय

कर्मचारीलाई प्रोत्साहित गर्नु
अहिले सम्मको रिसर्च अनुसार कर्मचारीलाई प्रोत्साहित गर्ने, उसको समस्यालाई बुझिदिने, राम्रोे काम गरे बापत पुरस्कार दिने, कार्यक्षमता अनुसार बढुवा गर्ने कम्पनी सबैभन्दा सफल भएको पाइएको छ । बेलाबेलामा ब्यक्तित्व बिकास, तनाब ब्यबस्थापन जस्ता तालिम कार्यक्रममा सहभागी गराउनु राम्रो हुन्छ । यस्ता कुराहरुले कर्मचारीहरुमा आत्मबल बढाउन उर्जा मिल्दछ ।

कार्य क्षेत्र र निजी जीवनबीच सन्तुलन
कार्यक्षेत्र र आफ्नो निजी जीवनबीच सन्तुलन मिलाउन अत्यन्त जरुरी हुन्छ । कार्य क्षेत्रको कामले निजी जीवनलाई र निजी जीवनको कामलाई कार्य क्षेत्रलाई असर गर्नु हुँदैन। कतिपय अबस्थामा कर्मचारी पटकपटक बिरामी भइरहेको कारणले कार्यालय आउन नसक्दा कार्यक्षेत्रमा धेरै असर पुग्दछ । यसका लागि कार्यालयको ब्यबस्थापक टिमले कर्मचारीलाई कसरी शारिरीक, मानसिक रुपमा स्वस्थ बनाउने भन्ने कुराहरु सोच्नु जरुरी छ ।

स्वस्थ जीवन शैली
शारीरिक ब्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचलाई दैनिकीसँग जोड्नु आबश्यक छ । मद्यपान, धुम्रपान, सूर्ती, लागूपदार्थजस्ता बस्तुहरुबाट टाढा रहनु उचित हुन्छ । तनाव ब्यबस्थापनको लागि योग, ध्यान, प्राणायाम, बिश्रामको अभ्यास नियमित गर्नु राम्रो हुन्छ । बेला बेलामा परिवारसँग बाहिर घुम्न जानुले पनि तरोताजा महसुस गराउँछ । यसले कर्मचारी र संस्थाको दुबैको समय, पैसाको बचत हुन्छ । कर्मचारीहरको कार्यक्षमतामा बृद्धि भई कम्पनीको नाफामा समेत बृद्धि हुन्छ ।

मानसिक समस्या भइ नै सकेको छ र आफूले सामना गर्न नसकी दैनिक जीवनमा समेत असर पुगेको छ भने मनोविमर्शकर्तासँग सल्लाह एवं मनोचिकित्सकसँग स्वास्थ परीक्षण गराउनु जरुरी छ ।

मानसिक स्वास्थमा ध्यान दिने
कार्यक्षेत्रले कर्मचारीहरुको मनोबिज्ञान बुझेर कार्य गराउनु आबश्यक छ । सबै कर्मचारी एकै खालका हुँदैनन् । सबैबाट समान परिणामको आशा राख्नु हुँदैन । आफ्ना कर्मचारीको मानसिक स्वास्थ्यको लागि उचित ख्याल राख्न जरुरी छ । यदि राखिएन भने समग्रमा कार्यक्षेत्रलाई असर पुग्दछ । कार्यक्षेत्रले मुनाफा गराउन गर्ने अन्य खर्चहरुमा कटौती गरेर भए पनि कर्मचारीहरुको मानसिक स्वास्थ्यलाई लगानी गर्न आबश्यक छ । किनकी कर्मचारी भनेको कार्यक्षेत्रको सम्पति हो जसको कारणले कार्यक्षेत्रको गुणस्तर बृद्धि गर्दछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!