नेपाल सम्वत् ११४५, कछलागाः १५, चतुर्दशी, (१६ मंसिर, २०८१, १ डिसेम्वर, २०२४) आईतबार, बाँपिझ्याला, दोलखा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा धमाधम मतदान भैरहेको छ ।
विहान ७ बजेदेखि ९ वटै वडाको २१ मतदान केन्द्रमा कडा शुरक्षाका बीच शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको हो । गौरीशंकरमा उपाध्यक्ष पदका लागि ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीले जानकारी दिनुभयो ।
१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशंरमा विहान ८ बजेसम्म ८ सय भन्दा बढीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्त वातावरणमा भैरहेको मतदान प्रकृयामा सहभागी हुन गौरीशंकरबासी विहानदेखि आ–आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा धाइरहेका छन् ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । उनको गत वर्ष निधन भएपछि आज उक्त पदमा नयाँ उपाध्यक्ष नियुक्तिको लागि मतदान भैरहेको हो । निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा, नेकपा एमालेबाट उमा लुङगेली मगर शेर्पा, नेपाली कांग्रेसले स्वर्गीय श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, नेकपा एकीकृत समाजबादीकी रबिना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजबादी पाटीका सपना कार्की पनि चुनावी प्रतिस्पर्धामा छन् । विशेषगरी तीन ठूला दल माओवादी, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ ।