Search

जुम्लामा पहिलो चौमासिकमा विकास खर्च मात्र करिब १२ प्रतिशत

जुम्लामा पहिलो चौमासिकमा विकास खर्च मात्र करिब १२ प्रतिशत

नेपाल सम्वत् ११४४ कछलागाः १४ (१५ मंसिर , २०८१) नोभेम्बर ३०, २०२४ , शनिबार, बाँपीझ्याला ।जुम्लामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ। जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पहिलो चौमासिकका लागि छुट्याइएको रु. ३ अर्ब ५ लाख ९५ हजार बजेटमध्ये १२.७१ प्रतिशत अर्थात् रु. ४० करोड ६९ लाख मात्र खर्च भएको छ। कार्यालयका प्रमुख हंशराज खनालले असारे विकास प्रवृत्तिले जुम्लालगायत हिमाली जिल्लामा विकास कार्य समयमा अघि बढ्न नसकेको बताए। चिसो मौसमका कारण दोस्रो चौमासिकमा काम गर्न कठिन हुने भएकाले पहिलो चौमासिक उपयुक्त भए पनि बजेट निकासा र कार्यान्वयनमा समस्या रहेको उनले बताए।

जिल्लाका ३१ संघीय सरकारी कार्यालय र आठवटा स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा हुने गर्छ। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य पाँचवटा अनुसन्धान केन्द्र पनि यसै कार्यालयको मातहतमा पर्दछन्। चालु खर्चतर्फ कूल रु. ५ अर्ब २८ करोड ८९ लाख बजेटमध्ये २९.४० प्रतिशत अर्थात् रु. १ अर्ब ५५ करोड ४९ लाख खर्च भएको छ। चालु र पुँजीगत खर्चलाई समेट्दा जम्मा २३.११ प्रतिशत मात्र खर्च भएको देखिन्छ।

निकासाको कमीको मुख्य कारण ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई सीमित मात्रामा मात्र पेश्की रकम दिइनु हो। प्रदेशअन्तर्गतका १४ कार्यालयको निकासा भने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत हुने गरेको छ। प्रदेश कार्यालयका अनुसार चालु खर्चतर्फ छुट्याइएको रु. ७१ करोड ३१ लाखको १७.७२ प्रतिशत अर्थात् रु. १२ करोड ६३ लाख मात्र खर्च भएको छ।

बजेट कार्यान्वयनका कठिनाइ र चिसो मौसमको प्रभावले विकास कार्यमा देखिएको ढिलाइले जुम्लाको पहिलो चौमासिक खर्च निराशाजनक रहेको कोषका प्रमुख खनालले बताए। यसले आगामी चौमासिकहरूमा असारे विकासको जोखिम बढ्न सक्ने संकेत गरेको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!