नेपाल सम्वत् ११४४ कछलागाः १४ (१५ मंसिर , २०८१) नोभेम्बर ३०, २०२४ , शनिबार, बाँपीझ्याला ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजनका लागि सम्झौता भएको छ। शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे।
मालिक शाहले एनपीएल यात्रामा साथ दिएकोमा बैंकलाई धन्यवाद दिँदै यसले उपाधि जित्ने लक्ष्यमा टिमलाई थप प्रेरणा मिलेको बताए। डेपुटी सीईओ पोखरेलले नेपाली क्रिकेटको विकास र खेलकुदलाई उचाइमा पुर्याउने प्रतिबद्धताका साथ रोयल्सलाई साथ दिएको उल्लेख गरे।
सुदूरपश्चिम रोयल्सले यसअघि विभिन्न क्षेत्रका साझेदार संस्थाहरूसँग सहकार्य गरेको छ। टिमका शिक्षा साझेदार एसपीए, ग्याजेट पार्टनर एक्स एज, मेडिकल पार्टनर माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनर नेपाल एयरलाइन्स, इन्स्योरेन्स पार्टनर सलिको, र ट्राभल पार्टनर राइका टुर्स एण्ड ट्रेक्स रहेका छन्। त्यस्तै, टेलिकम पार्टनर नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनर सूर्य प्लाई, र करिअर पार्टनर कुमारी जबलाई टिमले भित्र्याएको छ। एनपीएल अवधिभर टोली म्यारियट काठमाडौंमा बसोबास गर्नेछ।
सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन्। टोलीका मेन्टर अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्। रोयल्सले आफ्नो पहिलो खेल १८ मंसिरमा विराटनगर किंग्सविरुद्ध खेल्नेछ।
सुदूरपश्चिम रोयल्सको टिम सूची:
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), र रोहन मुस्तफा (यूएई)।