नेपाल सम्वत् ११४४ कछलागाः १३ (१४ मंसिर , २०८१) नोभेम्बर २९, २०२४ , शुक्रबार, बाँपीझ्याला ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले विगतमा १० रोपनीभन्दा बढी पाखोबारीमा हुने मुला खेती अहिले दुई रोपनीमा सीमित भएको बताउँछिन्। कहिल्यै बिक्रीको अभाव नभएको टोड्केको मुला अहिले बिक्री हुन छाडेपछि किसान चिन्तित छन्। एक समय धौलागिरि क्षेत्रमा प्रसिद्ध टोड्के मुला अब भने बसाईसराइ, जनशक्तिको कमी, र बजार अभावका कारण विस्तारै घट्दै गएको छ।
स्थानीय किसान तिजमाया पाइजाका अनुसार पहिले टोड्केको मुलाले धान, मकै, कोदो साट्ने चलन थियो। अहिले भने घरायसी उपभोग, कोशेलीका लागि र केही पर्यटकलाई बेच्न थोरै मात्रामा खेती गरिन्छ। जैविक मल प्रयोग र चिसो हावापानीका कारण यहाँको मुला स्वादिष्ट र विशेष मानिन्छ। साउनमा रोपिने र कात्तिक-मङ्सिरमा उखेलिने यो मुला छ किलोग्रामसम्म तौलको हुन्छ। रातो र सेतो जातको मुला यहाँ प्रचलित छ, जसलाई ताजा तरकारीका साथै अचार, सिन्की, र धजरा बनाउन प्रयोग गरिन्छ।

टोड्के घुम्न आउने आन्तरिक पर्यटकले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन्। आकारअनुसार प्रतिगोटा मुला रु. २५ देखि ५० मा बिक्री हुने किसानले बताएका छन्। पर्वतको जलजला गाउँपालिकाकी देवी जिसीले टोड्केको मुला स्वादका लागि विशेष हुने भन्दै कोशेलीका रूपमा किन्ने गरेको बताइन्।
रघुगङ्गा गाउँपालिकाले टोड्केको स्थानीय जातको मुलाको संरक्षण र बजारीकरण गर्न कदम चाल्दै छ। सिन्की र अचार बनाउने सिप विकास तथा पर्यटकको रोजाइमा परेको टोड्केको पहिचान जोगाउन वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले तयारी गरिरहेको जानकारी दिएका छन्।
