Search

पशुपतिमा बालाचतुर्दशीका दिन बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

पशुपतिमा बालाचतुर्दशीका दिन बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

नेपाल सम्वत् ११४४ कछलागाः १३ (१४ मंसिर , २०८१) नोभेम्बर २९, २०२४ , शुक्रबार, बाँपीझ्याला ।पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा दिवंगत पितृका नाममा बत्ती बाल्न र सत्बीज छर्न कुनै शुल्क नलाग्ने जानकारी गराएको छ। कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि निःशुल्क व्यवस्था गरिएको र बत्ती कुरिदिने सेवाका लागि मात्र रु २,१०० शुल्क लिने बताए। यस सेवाका लागि कोषका कर्मचारीबाहेक कसैले अनधिकृत रूपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

महँगा गहना नलगाउन, सिसा वा काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा सत्बीज नछर्न कोषले भक्तजनलाई अनुरोध गरेको छ। कैलाश क्षेत्रमा पसल राख्न निषेध गरिएको भए पनि वनकाली क्षेत्रमा भने तोकिएको शुल्कमा पसल राख्न पाइने व्यवस्था गरिएको छ। यस्तै, मासु र मदिरा जस्ता पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ बजेपछि कैलाश डाँडामा प्रवेश गराइने छ। कोषले बालबालिकासहित मेलामा नआउन पनि भक्तजनलाई आग्रह गरेको छ। मेलाका लागि सुरक्षा, सरसफाइ, सवारीसाधन व्यवस्थापन, बिजुली, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, र स्वयंसेवी परिचालनजस्ता सबै तयारी पूरा भएको जानकारी कोषका प्रवक्ताले दिएका छन्।

मेलाका लागि नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीले त्रिपाल उपलब्ध गराएको छ। मेलाका लागि निःशुल्क शौचालयको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्नेछ। पानीको व्यवस्थाका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको छ। मेला शनिबार अपराह्न १२ बजेसम्म सञ्चालन हुनेछ र त्यसपछि फोहोर व्यवस्थापन थालिनेछ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment