Search

बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रको कैलाशमा पसल राख्न नदिइने

बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रको कैलाशमा पसल राख्न नदिइने

नेपाल सम्वत् ११४४ कछलागाः १२.८ (१३ मंसिर , २०८१) नोभेम्बर २८, २०२४ , बिहिबार, बाँपीझ्याला ।यस वर्ष बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न निषेध गर्ने निर्णय गरेको छ। विगतका वर्षहरूमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा भक्तजनलाई असहज भएपछि यसपटक यस्तो निर्णय लिइएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए। भक्तजनले सहज रूपमा दिवंगत पितृका नाममा बत्ती बाल्न र सत्बीज छर्न सकून् भन्ने उद्देश्यले यो कदम चालिएको हो।

भुवनेश्वरीदेखि वनकाली क्षेत्रको भागमा मात्र पसल राख्न पाइने निर्णय गरिएको छ। तोकिएको स्थानबाहेक अन्यत्र पसल राख्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ। यो निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरेको हो।

पर्वका लागि नेपाली सेनाले पाँच ठूला पाल उपलब्ध गराएको छ। मासु, मदिरा लगायतका पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने व्यवस्था गरिएको छ। बत्ती बाल्नका लागि रु २,१०० शुल्क लिइने कोषले जनाएको छ। कोषले भक्तजनलाई बालबच्चा नल्याउन पनि आग्रह गरेको छ।

पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको कोषले जनाएको छ। मेलामा निःशुल्क शौचालयको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्नेछ। स्नानका लागि पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको छ।

सुरक्षा, सरसफाइ, सवारी साधन व्यवस्थापन, बिजुलीबत्ती, सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, स्वयंसेवक परिचालन, र मेला क्षेत्रमा पसल व्यवस्थापनजस्ता तयारीहरू पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मेलालाई व्यवस्थित बनाउन सबै पक्षहरूले समन्वयात्मक प्रयास गरिरहेको कोषले जनाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!