नेपाल सम्वत् ११४४ कछलागाः १२ (१२ मंसिर , २०८१) नोभेम्बर २७, २०२४ , बुधबार, बाँपीझ्याला ।अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायली प्रधानमन्त्रीसँग संवाद गरी उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको घोषणा गरेका छन्। बाइडेनले यो समाचार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै भनेका छन्, “आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ। मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु कि उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन्।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बाइडेनसँगको संवादमा लेबनानमा युद्धविराम सम्झौता हासिल गर्न इजरायललाई दिएको समर्थनका लागि धन्यवाद व्यक्त गरेको इजरायली विज्ञप्तिमा उल्लेख छ। यसैगरी, अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त विज्ञप्ति जारी गर्दै लामो कूटनीतिक प्रयासपछि इजरायल र लेबनानले एकअर्काबीचको शत्रुता समाप्त भएको स्वीकार गरेको बताएका छन्।

घोषणाले लेबनानमा युद्धविराम लागू गर्ने र इजरायललाई हिजबुल्लाह तथा अन्य आतङ्कवादी सङ्गठनहरूको खतराबाट सुरक्षित राख्ने उल्लेख गरेको छ। यसले स्थायी शान्ति पुनर्स्थापना गर्ने र दुवै देशका नागरिकलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने अवस्था सिर्जना गर्ने अपेक्षा गरिएको छ।
अमेरिका र फ्रान्सले यो सम्झौताका प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न इजरायल र लेबनानसँग सहकार्य गर्दै द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लेबनानी सेनाको क्षमता अभिवृद्धि गर्दै यस क्षेत्रको स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्न र लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत घोषणा गरिएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि यो समाचारलाई सामाजिक सञ्जालमार्फत साझा गर्दै इजरायल र लेबनानबीचको युद्धविराम सम्झौताप्रति समर्थन र स्वागत जनाएका छन्।
