नेपाल सम्वत् ११४५, कछलागाः नवमी (९ मंसिर, २०८१, २४ नोभम्वर, २०२४) आईतबार, बाँपिझ्याला । दोलखाका विकासका लागि बाग्मती प्रदेश सरकारको प्राथमिकता राखेको बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँग अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सो कुरा बताउनुभयो ।
मन्त्री लामाले भन्नुभयो, “दोलखामा पर्यटकीय सम्भावनाहरू धेरै छन्, पर्यटन प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकारले सहयोग गर्छ ।” संविधानमा लेखेका अधिकारहरू जनताले सहजै पाउने वातावरण जनप्रतिनिधिहरूले मिलाउनुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । स्थानीय तहले कानुनी सहजकर्ताको सहयोगमा जनतालाई न्याय दिनुपर्ने बताउनुपर्ने बताउनुभयो ।
न्यायिक समितिको काम भनेको न्याय दिनु नै हो न्याय दिने काम आनाकानी गर्न हुन्न। सबभन्दा पहिले भनेको मेलमिलाप नै हो । बाग्मती प्रदेश सरकार प्रदेश भित्रका नागरिकलाई सेवा दिन लागिपरिरहेको बताउँदै लामाले दोलखाको विकास प्राथमिकतासाथ अगाडि बढाइने बताउनुभयो । पर्यटकीयस्थल जिरीको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढाइने उहाँले बताउनुभयो । आर्थिक मन्त्री पनि दोलखाकै भएकाले दोलखाको विकास प्राथमिकता पर्ने लामाको भनाइ छ ।
बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले न्यायिक सम्पादन निष्पक्ष गर्नुपर्ने बताउँदै निष्पक्ष रूपमा जनताले न्याय नपाउने हो भने जनतालाई सरकार भएको अनुभूति नहुने मन्त्री काफ्लेले बताउनुभयो । जनप्रतिनिधिहरू जनताको सेवामा अनवरत रूपमा लाग्नुपर्ने काफ्लेको भनाइ छ ।
दोलखामा जिरी अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री काफ्लेले जिल्लाबाट गुमेका प्रादेशिक कार्यालयहरू पुनर्स्थापना गर्ने काम भइरहेको बताउनुभयो । स्थानीय र प्रदेश सरकार मिलेर मात्र विकास सम्भव रहेको बताउँदै मन्त्री काफ्लेले तिनै तहका सरकार मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
न्यायिक क्षेत्रमा जनप्रतिनिधिले गरेका नीतिगत कुराहरूको मूल्याङ्कन गर्दै सकारात्मक र नकारात्मक छुटाउनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले प्रदेश सरकारले दोलखाको विकासमा सहयोग गर्नुपर्ने बताउँदै निर्माणाधीन योजना निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
बाग्मती प्रदेशका न्याधिवत्ता शुकदेव काफ्लेले न्यायिक क्षेत्रको ज्ञान नहुँदा न्यायिक सम्पादन गर्न जनप्रतिनिधिलाई समस्या रहेकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
न्याधिवक्ता काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा दोलखाका स्थानीय तहका प्रमुख उपप्रमुख एवम् न्यायिक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।