Search

न्यूरोडको जुद्ध सडक क्षेत्रमा विद्युत् इन्टरनेटका तार भूमिगत गरेपछि उक्त क्षेत्र सुन्दर

न्यूरोडको जुद्ध सडक क्षेत्रमा विद्युत् इन्टरनेटका तार भूमिगत गरेपछि उक्त क्षेत्र सुन्दर

नेपाल सम्वत् ११४४ कछलागाः ७ (७ मंसिर , २०८१) नोभेम्बर २२, २०२४ , शुक्रबार, बाँपीझ्याला । न्यूरोडको जुद्ध सडक क्षेत्रमा विद्युत् इन्टरनेटका तार भूमिगत गरेपछि उक्त क्षेत्र सुन्दर देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको तार भूमिगत गरेको भन्दै बालेनको प्रशंसा गरिरहेका छन् । तर, न्यूरोडको तार भूमिगत काठमाडौं महानगरले नभई विद्युत् प्राधिकरणले गरेको हो । काठमाडौं महानगरले तार भूमिगत गर्ने काममा प्राधिकरणलाई सहयोग मात्र गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “भूमिगत गर्ने काम प्राधिकरणले गरेको हो । हामीसँग प्राधिकरणले सहयोग मागेपछि सहयोग मात्र गरेका हौँ । हामी सहयोगी मात्र हौँ ।” 

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने क्रममा स्थानीयबासी आक्रोशित भएका थिए । तार भूमिगत गर्ने क्रममा पनि यही आक्रोश दोहोरिन्छ कि भन्ने डरले प्राधिकरणले महानगरसँग सहयोग मागेको थियो ।विद्यूत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूख्य क्षेत्रका तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले २०७६ देखि नै उपत्यकामा तार भूमिगत गर्ने काम गरिरहेको छ ।

This image has an empty alt attribute; its file name is GIF-NT-APP-950x100-Pxl.gif

विद्युत् प्राधिकरणका प्रवक्ता चन्दकुमार घोषका अनुसार स्थानीय तहसँग सहकार्य गरेर प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । तर, तार भूमिगतको जस लिने प्राधिकरणलाई रहर नभएको उनले बताए । उनले भने, “प्राधिकरण यो कामको जस लिने होडबाजीमा छैन । किनभने यो हाम्रो नियमित काम हो । हामी यसैका लागि तलब पाउँछौँ ।”तार भूमिगत गर्ने क्रममा स्थानीयस्तरमा कुनै समस्या आएमा प्राधिकरणले सम्बन्धित स्थानीय तहसँग सहयोग माग्छ । अब कलंकीदेखि त्रिपुरेश्वरसम्मको तार भूमिगत गर्ने काम प्राधिकरणको प्राथमिकतामा रहेको प्रवक्ता घोषले बताए ।

काठमाडौं महानगरभित्र तार भूमिगत गर्न प्राधिकरणले सहयोग मागेमा महानगर तयार रहेको महानगरका प्रवक्ता मानन्धर बताउँछन् । उनी भन्छन्, “महानगरभित्र कहाँकहाँ तार भूमिगत गर्ने भन्ने प्राधिकरणको कुरा हो । तर, प्राधिकरणलाई सहयोग चाहिए हामी सहयोग गर्छौं ।”


 

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment