नेपाल सम्वत् ११४५, कछलागाः ७ (७ मंसिर, २०८१, २२ नोभेम्वर, २०२४) शुक्रवार, बाँपिझ्याला । सत्तारुढ दल नेकपा एमालेले आज राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । जागरण सभा नाम दिइएको प्रदर्शन दिउँसो साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।

सभाअघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउदै आएको छ । सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ ।

आजै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पिडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।