Search

उद्योगीहरूलाई दिएको पुरानै बिल ठिक छ, १५ दिनमा बक्यौता नतिरे फेरि लाइन काटिन्छ: : घिसिङ

उद्योगीहरूलाई दिएको पुरानै बिल ठिक छ, १५ दिनमा बक्यौता नतिरे फेरि लाइन काटिन्छ: : घिसिङ

नेपाल सम्वत् ११४५, कछलाथ्वः १३ (२९ कार्तिक, २०२४, १४ नोभेम्वर, २०२४) बिहीवार, बाँपीझ्याला । सरकारले १५ दिनभित्र उद्योगहरूको बक्यौता असुल गर्ने निर्णय गरेर प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिइसकेको छ । उद्योगीहरूले विगतदेखि नै प्राधिकरणले थमाएको बिलमाथि प्रश्न उठाउँदै आएका छन् । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई दिएको पुरानै बिल ठिक भएको दोहोर्‍याएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीले यसअघि पनि टिओडी मिटरकै आधारमा बिल काटेको हो । त्यो बिलविरुद्ध उद्योगीहरू विभिन्न अदालत गएका थिए । त्यसमा अदालतले प्राधिकरणको बिल ठिक भएको भन्दै ९० भन्दा बढी रिट खारेज गरिदिएको छ,’ उनले भने, ‘अदालतसहित विद्युत् नियमन आयोग, महालेखालगायत सबैले प्राधिकरणको बिल ठिक छ भनेका छन् । त्यो बिल बेठिक छ भनेर पुनः हिसाब गर्ने कुरा आउँदैन । उद्योगीले पुरानै बिलअनुसार बक्यौता तिर्नुपर्छ ।’

घिसिङले उद्योगीबाट बक्यौता असुल नभए प्राधिकरण आर्थिक तथा वित्तीय संकटमा जान सक्ने पनि बताए । ‘प्राधिकरणको मासिक आम्दानी ११–१२ अर्बहाराहारीमा हुन्छ । विद्युत् खरिद, कर्मचारी तलबसहित सञ्चालनमा १० अर्बभन्दा बढी खर्च हुन्छ । त्यसमा विद्युत् किनेबापत निजी आयोजनाहरूलाई मात्रै महिनामा सात–आठ अर्ब तिर्नुपर्छ । परियोजनाहरूमा लगानी गर्नुपर्ने पनि छ,’ उनले भने, ‘तर, उद्योगबाट बक्यौता नउठाएको नाममा अहिले सर्वसाधारणले महसुल तिर्न छोडेका छन् ।

यदि, खर्च पनि धान्न नपुग्ने गरी महसुल संकलन घट्यो भने बहुपक्षीय रूपमा असर पर्छ । निजी क्षेत्रलाई विद्युत् किनेको पैसा दिन सकिन्न । उनीहरूले बैंकको ऋण तिर्न सक्दैनन् । त्यसपछि जलविद्युत् परियोजनामा पनि लगानी आकर्षित हुँदैनन् । त्यसले गर्दा सिमेन्ट–डन्डीसम्बन्धी उद्योगहरू प्रभावित हुन्छन् । केही सीमित उद्योग बन्द भएर खासै असर पर्दैन जस्तो लाग्छ । तर, प्राधिकरणको वित्तीय अवस्था बिग्रियो भने समग्र अर्थतन्त्र प्रभावित हुन्छ ।’

प्राधिकरणले वर्षमा डेढ खर्बभन्दा बढी नगद प्रवाह गर्ने र त्यसले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गर्ने गरेको घिसिङको भनाइ छ । अब बक्यौता उठाउन जनताको पनि सहयोग आवश्यक देखिएको उनले बताए । ‘अब बक्यौता उठाउन प्राधिकरण र सरकारको प्रयासले मात्रै नहुने भयो । जनताको पनि सहयोग हुनुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘आमजनताले पनि यसमा सहयोग गर्नुहुन्छ भन्ने आशा छ । बक्यौता असुल भएन भने सरकार बढी जिम्मेवार हुनुपर्छ ।’

२८ उद्योगमा जोडियो लाइन, १५ दिनमा बक्यौता नतिरे फेरि काटिने
बक्यौता नतिरेका २८ उद्योगमा काटिएको लाइन प्राधिकरणले पुनः जोडेको छ । सरकारको निर्देशनमा मंगलबार प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयका आधारमा २८ वटै उद्योगमा लाइन जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

बक्यौता नतिरेका ३४ उद्योगमा प्राधिकरणले ८ कात्तिकमा लाइन काटेको थियो । त्यसमा ६ उद्योगले बक्यौता तिर्न सुरु गरेपछि यसअघि नै लाइन जोडिएको थियो । गत आइतबार मन्त्रिपरिषद्ले उद्योगमा काटेको लाइन २४ घण्टामा जोड्न र १५ दिनमा टिओडी मिटरको तथ्यांकका आधारमा बक्यौता उठाउन निर्देशन दिएको थियो । सोहीअनुसार उद्योगमा लाइन जोडिएको हो ।

‘उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न भनेका छौँ । तोकिएको अवधिमा बक्यौता नबुझाए पुनः कानुनी कारबाही अघि बढ्ने भनेर उल्लेख पनि गरेका छौँ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसैले बक्यौता नबुझाए १५ दिनपछि पुनः लाइन काट्न सकिन्छ ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!