नेपाल सम्वत् ११४५, कछलाथ्वः ११ (२८ कार्तिक, २०८१) १३ नोभेम्वर, २०२४, बुधबार, बाँपीझ्याला । नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।
ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियताको १०५औ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ । २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।
त्यसैगरी फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।
दुवै मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगिसकेको छ ।