नेपाल सम्वत् ११४४ कछलाथ्वः ११ (२७ कार्तिक , २०८१) नोभेम्बर १२, २०२४ , मंगलबार, बाँपीझ्याला । आश्चर्यजनक नतिजा निकाल्दै श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका कम्युनिस्ट नेता अनुराकुमारा दिसानायकेले आसन्न संसदीय निर्वाचनमा समेत जनताबाट अभूतपूर्व समर्थन बटुलिरहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एफएपीका अनुसार राष्ट्रपति दिशानायकेको मार्क्सवादी पार्टीले हालको ३ सीटबाट बढाएर संसदमा बहुमत जित्ने लक्षण देखिएको छ ।
संसदमा मात्र ३ सीट रहेको पार्टीका नेता अनुरा कुमारा गत अगष्टमा भएको राष्ट्रपति निर्वाचनमा दोस्रो चरणमा निर्वाचित भएका थिए । श्रीलंकामा आगामी बिहीबार २५५ सीटको संसदका लागि निर्वाचन हुँदैछ । हाल ३ सीट रहेको कम्युनिस्ट पार्टीले बहुमत ल्याउने प्रक्षेपण भइरहेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि अनुराकुमाराको लोकप्रियता अझ बढेको चुनावी र्यालीमा देखिएको समर्थनबाट पुष्टि भएको छ । कार्ल मार्क्स र चे ग्वेभाराका प्रशंसक राष्ट्रपति अनुरा कुमाराले संसदीय चुनावमा लंकाको सबैभन्दा ठूलो तथा प्रभावशाली निजी क्षेत्र,व्यापार र उद्योगी संघ संगठनहरुको समर्थन पाएका छन् । उनको आर्थिक सुधारको एजेन्डालाई जनताले अनुमोदन गरेका छन् ।
उनको पार्टी भियतनामको जस्तो एकदलीय शासनको पक्षमा नरहेको विषयलाई यहाँको मध्यमवर्ग र उद्योगी व्यवसायीले जनतालाई बुझाइरहेका छन् । अर्कोतिर उनै उद्यमीहरूले अनुराकुमाराको पार्टीले संसदमा पनि बहुमत पाएमा उनले चीन र भियतनामबाट आर्थिक सहयोग लिन सक्ने बताएका छन् ।
