नेपाल सम्वत् ११४४ कछलाथ्वः ११ (२७ कार्तिक , २०८१) नोभेम्बर १२, २०२४ , मंगलबार, बाँपीझ्याला । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विद्युत महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसंगै त्यसअनुसार व्यवसायीहरूले महसुल बुझाउने विश्वास व्यक्त गरे ।
उनले २४ घण्टाभित्र उद्योगहरूको लाइन जडान गर्न र १५ दिन भित्र टिओडी मिटर अनुसार महशुल उठाउनका लागि प्राधिकरणमा पत्राचार गरिसकेको बताए । मन्त्री खड्काले विद्युत् प्राधिकरण बोर्ड भन्दा माथि मन्त्रिपरिषद् रहेकाले काटिएका उद्योगहरूको बिजुली जोड्न बोर्डको निर्णय कुर्न नपर्ने धारणा राखे । यद्यपि मंगलबार प्राधिकरण बोर्ड बैठक बोलाइको उनले बताए । विद्युत महसुल विवादलाई निकासमा पुर्याउनका लागि सरकारले आवश्यक निर्णय गरेको समेत मन्त्री खड्काले उल्लेख गरे ।
मन्त्रिपरिषद्को २०८० पौष २४ गतेको बैठकले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवाद समाधानका लागि जाँचबुझ आयोग गठन गरेको थियो भने आयोगले २०८१ साल वैशाख २३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।