नेपाल सम्वत् ११४४ कछलाथ्वः १० (२६ कार्तिक , २०८१) नोभेम्बर ११, २०२४ , सोमबार, बाँपीझ्याला । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र क्रिप्टोकरेन्सीलाई समर्थन गर्नेहरू सांसद पदमा विजयी भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार बिटक्वाइनको मूल्य ८१ हजार अमेरिकी डलर नाघेको हो ।
बिटक्वाइनको मूल्य यसै वर्ष सबैभन्दा कम ३८ हजार ५०५ डलरमा झरेको थियो । यसको मूल्य सोमबार ८१ हजार ८९९ डलरसम्म पुगेको हो । बिटक्वाइन, डोजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको नियमन अब राम्रो हुने अपेक्षा गरिएको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा डिजिटल एसेटलाई अँगाल्ने र अमेरिकालाई पृथ्वीमा क्रिप्टो राजधानी बनाउने एवं बिटक्वाइनको राष्ट्रिय भण्डारण गर्ने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकी निर्वाचनमा क्रिप्टो उद्योगले ११ करोड ९० लाख डलर यसको समर्थन गर्ने सांसदका निम्ति खर्च गरेको बताइएको छ । यसरी खर्च गरिएका धेरैजसो उमेदवार सांसद पदमा विजयी पनि भएका छन् । त्यसैले क्रिप्टोकरेन्सीका लगानीकर्ता सकारात्मक हुँदै यो क्षेत्र उकालो लागेको छ ।