नेपाल सम्वत् ११४५, कछलाथ्वः ४ (२० कार्तिक, २०८१) ५ नोभेम्वर, २०२४, मंगलबार, बाँपीझ्याला । अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् ।
अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । त्यस्तै ट्रम्प विजयी भएमा दोस्रोपटक देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउनेछन् । अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ । मतदाताले देशको राष्ट्रपतिसँगै संसद सदस्यहरू पनि चयन गर्नेछन् ।
निर्वाचनको अन्तिम दिन सोमबार पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपति तथा डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसले मतदातालाई आ–आफ्ना समापन सन्देश दिए । दुवै उम्मेदवार मुख्य ‘ब्याटलग्राउन्ड स्टेट’मा अन्तिम प्रचारमा सक्रिय देखिए । ह्यारिसले पेन्सिल्भेनियामा प्रचार गरिन् भने ट्रम्पले पेन्सिल्भेनियासहित उत्तरी क्यारोलिना र मिसिगन पुगेर आफ्नो अभियान सम्पन्न गरे ।
यसअघि ट्रम्पले आफ्नो गृहनगर न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा चुनावी र्याली गरे भने उपराष्ट्रपति कमला ह्यारिसले प्रमुख ‘स्विङ स्टेट’ पेन्सिलभेनियामा प्रचार अभियान तीव्र पारिन् । म्याडिसन स्क्वायर गार्डेनमा आयोजित चुनावी सभामा ट्रम्पले बारम्बार अप्रमाणित अध्यागमनलाई रोक्ने र आप्रवासी (जसलाई उनले दुष्ट र रक्तपात गर्ने अपराधी भन्दै आएका छन्) लाई निर्वासन गर्ने आफ्नो योजना व्याख्या गरे ।
के भन्छन् चुनावी सर्वेक्षण ?
राष्ट्रपति निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने र दुवै उम्मेदवारले जित्ने सम्भावना उत्तिकै रहेको चुनाव अगाडि गरिएका केही पछिल्ला सर्वेक्षणले देखाएका छन् । आइतबार सार्वजनिक गरिएको सिबिएस न्युज/युगोभ सर्वेक्षणले ट्रम्पको सम्भावना ४९ प्रतिशत र ह्यारिसको ५० प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा एक अंकले अगाडि छिन् । अमेरिकाको एबिसी टेलिभिजनले गरेको अन्तिम सर्वेक्षणअनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले बराबर (४९/४९ प्रतिशत) प्राप्त गर्ने देखिएको छ ।
चुनावी दौडमा ठुलो संख्यामा लैंगिक विभाजन रहेको पनि सर्वेक्षणले देखाएको छ । धेरै पुरुषहरूले ट्रम्पलाई प्राथमिकता दिन्छन् भने अधिक महिलाले ह्यारिसलाई मन पराएका छन् । सर्वेक्षणअनुसार ट्रम्पले पुरुष मतदातामा ४५ प्रतिशतदेखि ५४ प्रतिशतले अग्रता लिएका छन् भने ह्यारिस महिला मतदातामा ४३ देखि ५५ प्रतिशतले अगाडि छन् ।
सर्वेक्षणअनुसार पुरुषहरूले ट्रम्पलाई बलियो नेता (५० प्रतिशतदेखि ६४ प्रतिशतले) को रूपमा हेर्ने सम्भावना बढी छ, जबकि महिलाले ह्यारिससँग राष्ट्रपति हुनका लागि ‘मानसिक र संज्ञानात्मक स्वास्थ्य’ उचित हुन सक्ने सम्भावना बढिरहेको बताएका छन् ।
फाइभ थर्टी एइटको दैनिक चुनावी पोल ट्रयाकरको अर्को छुट्टै विश्लेषणमा ह्यारिस आइतबारसम्मको राष्ट्रिय सर्वेक्षणमा थोरै अगाडि छिन् । उनी ट्रम्पभन्दा १.४ प्रतिशत अंकले अगाडि छिन् । यद्यपि, दीर्घकालीन प्रवृत्तिले चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखाउँछ । अमेरिकाका सात स्विङ राज्यले चुनावको नतिजा निर्धारण गर्ने सम्भावना छ ।
फाइभ थर्टी एइटको दैनिक पोल ट्र्याकरका अनुसार ह्यारिसले मिसिगन र विस्कन्सिनमा झिनो अग्रता कायम राखेकी छिन् । अर्कोतर्फ ट्रम्पले पेन्सिल्भेनिया र नेभाडामा ह्यारिसलाई थोरै पछि पारेका छन् । त्यस्तै, उनी उत्तरी क्यारोलिना, एरिजोना र जर्जियामा पनि केही अगाडि देखिन्छन् ।
तथापि, सबै सात राज्यमा उम्मेदवारबिच दुई अंकले अन्तर छ । हालसालैको अरब न्युज/युगोभ सर्वेक्षणले ट्रम्पका लागि अरब–अमेरिकी समर्थन (४५ प्रतिशत) ह्यारिस (४३ प्रतिशत) को भन्दा केही बढी छ । सर्वेक्षणमा सहभागी अधिकांश सहभागीले पनि ट्रम्पलाई इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने सम्भावना बढी देखेका छन् ।
हुलाकमार्फत साढे सात करोडले गरे मतदान
अहिलेसम्म साढे सात करोड मानिसले इमेलमार्फत मतदान गरिसकेका छन् । नोभेम्बर ५ को मतदानका दिन समय मिलाउन नसक्ने वा मतदान गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिलाई अधिकांश अमेरिकी राज्यले व्यक्तिगत मतदान वा हुलाक मतदानको अनुमति दिन्छन् । बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार सन् २०२४ मा मतदान गर्न योग्य अमेरिकीको संख्या २४ करोड ४० लाख छ । तीमध्ये कतिजनाले वास्तवमै मतदान गर्नेछन् भन्ने हेर्न बाँकी नै छ ।
अमेरिकाको ५० राज्यबाट मतभारका आधारमा कुल ५३८ इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डल छनोट हुन्छन् र उनीहरूले राष्ट्रपति छनोट गर्छन् । राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेज मत आवश्यक हुन्छ ।
युनिभर्सिटी अफ फ्लोरिडाको इलेक्सन ल्याबका अनुसार आइतबार मध्याह्नसम्म चार करोड १० लाख अमेरिकीले व्यक्तिगत रूपमा इमेलमार्फत मतदान गरिसकेका छन् । निर्वाचनको अघिल्लो दिनसम्म इमेलमार्फत मतदान हुनेछ । सन् २०२० को राष्ट्रपति निर्वाचनमा कोभिड–१९ महामारीको बिचमा १० करोडभन्दा बढी मतदाताले चुनावको अघिल्लो दिनसम्म इमेलमार्फत आफ्नो मत हालेका थिए ।
को हुन् ह्यारिस ?
५९ वर्षीया ह्यारिस एक भारतीय मूलकी आमा र जमैका मूलका बुबाकी छोरीको रूपमा क्यालिफोर्नियाको अकल्यान्डमा जन्मिएकी थिइन् । उनले क्यालिफोर्निया युनिभर्सिटी अफ क्यालिफोर्नियामा कलेज अफ द लबाट डिग्री हासिल गर्नुअघि वासिंटन डिसीको हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । सान–फ्रान्सिस्को जिल्ला अधिवक्ताको कार्यालयमा जानुअघि उनले अलमेडा काउन्टी जिल्ला अधिवक्ताको कार्यालयमा काम गरेकी थिइन् । उनी सन् २००३ मा सान–फ्रान्सिस्कोको जिल्ला न्यायधिवक्ता बनिन् र सन् २०१० मा क्यालिफोर्निया राज्यको कानुन प्रवर्तनको शीर्ष भूमिकामा देखिइन् ।
सन् २०१६ मा अमेरिकी सिनेटमा निर्वाचित भएकी ह्यारिस ट्रम्पको अध्यागमन नीतिको प्रमुख आलोचक बनिन् । सन् २०१८ मा सर्वोच्च अदालतका उम्मेदवार ब्रेट काभानाउप्रतिको आक्रामक प्रश्नले डेमोक्य्राटिक पार्टीको शीर्ष उदाउँदो स्टारहरूमध्ये एकजना स्टारको रूपमा उनको प्रमाणलाई सशक्त बनाउन मद्दत गर्यो ।
अमेरिकाले पहिलो अश्वेत मूलकी महिला राष्ट्रपति चाहेको र देश यसका लागि तयार हुनुपर्ने कतिपय विज्ञले जोड दिँदै आएका छन् । राष्ट्रपतिमा निर्वाचन भएमा उनले इतिहास रच्नेछिन् । अर्कोतर्फ ट्रम्प कुनै पनि हालतमा दोस्रोपटक देशको राष्ट्रपति बन्ने दाउमा छन् ।
ट्रम्पले सोमबार अटलान्टामा आयोजित एक र्यालीलाई सम्बोधन गरेका छन् । त्यसअघि उनले एक हजार पादरी र धार्मिक नेतालाई सम्बोधन गरेका थिए । उक्त अवसरमा ट्रम्पले आर्थिक मुद्दालाई जोड दिएका थिए । १६ इलेक्टोरल कलेज भोटसहित जर्जिया अर्को ब्याटलग्राउन्ड राज्य हो । सन् २०१६ को निर्वाचनमा जितेका ट्रम्पले सन् २०२० मा भने झिनो मतले हारेका थिए । – अलजजिराबाट