नेपाल सम्वत् ११४४, कौलागाः ५ (६ कार्तिक, २०८१) मंगलबार, बाँपीझ्याला । नेपाल समाजवादी पार्टी नेसपाले पार्टीको नाम फेरेको छ । पार्टीको नाम अब नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाइएको छ । त्यस्तै पार्टीले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ।
पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो। आजै सचिवालय बैठक बसेको थियो। महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ।
विधान अधिवेशनबाट पार्टीको नामसँगै झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।
अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्। निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ।
पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।
विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ। यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश)बाट कूल ५०० प्रतिनिधि उपस्थित थिए।