Search

दोलखामा यात्रुहरुलाई सार्वजनिक सवारीका साधनहरुले मनपरी भाडा लिएसँगै सरकारले कारवाहीको चेतावनी

दोलखामा यात्रुहरुलाई सार्वजनिक सवारीका साधनहरुले मनपरी  भाडा लिएसँगै सरकारले कारवाहीको चेतावनी

नेपाल सम्वत् ११४४, कौलाथ्वः १६, चतुर्दशी (३० असोज, २०८१) बुधबार, बाँपीझ्याला । दशैं–तिहारमा गाउँघर आउने जाने यात्रुहरुलाई सार्वजनिक सवारीका साधनहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

दोलखा हुँदै काठमाडौं आउने जाने यात्रुवाहक बस, इलेक्ट्रिक भ्यान, सुमो लगायतका सार्वजनिक सवारीका साधनले मनोमानी भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् । दोलखामा यातायात सेवा सञ्चालन गर्दै आएका पूर्व अरनिको र रोल्वालिङ यातायातले दशैंका यात्रुकालागि टिकट काउन्टर नियमित नखोलेको, नियमित क्यू नचलाएको तथा यात्रुवाहक बस, सुमो र इभी गाडीले रिजर्भको नाममा मनोमानी भाडा लिने गरेको यात्रुहरुले बताएका छन् ।

चरिकोटवाट काठमाडौंसम्म बसमा यात्रा गर्दा ५२८, सुपर एक्सप्रेसमा ६५४ र इभी गाडी र जिपमा यात्रा गर्दा ७५० रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । तर, रिजर्भको नाममा बसले १ हजार तथा जिप र इभी गाडीले ११०० सम्म भाडा लिने गरेका छन् । खालि कागजमा रकम लेखेर सादा टिकट वितरण गरेको, अस्वभाविक भाडा लिएको तथा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार गरेको गुनासोपछि शैलुङ गाउँपालिकाले एक साताअघि पूर्व अरनिको यातायातलाई ध्यानाकर्षण गराएको थियो ।

तर, गाउँपालिकाको ध्यानाकर्षण पत्रलाई समेत अरनिकोले बेवास्ता गरेको भन्दै शैलुङ गाउँपालिका–८ नम्बर वडाका अध्यक्ष धनवहादुर तामाङले मनपरी गरे कानून वमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष तामाङले आज बिज्ञप्ति जारी गरी मनोमानी भाडा असुली र गैर जिम्मेवारीपन दोहोरिएमा कानून वमोजिम कारवाही अघि बढाउने चेतावनी दिएका हुन् ।

पूर्व अरनिको यातायातको चरिकोटस्थित काउन्टरका कर्मचारी रविन चौंलागाईले भने समितिको चरिकोट काउन्टर खुल्ला रहेको र नियमित क्यूमा मनोमानी भाडा नलिएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, रोल्वालिङ यातायातका अध्यक्ष मिङ्गुर शेर्पाले पनि नियमित क्यूका बस र इभी संचालनमा रहेको भन्दै तोकिएको भन्दा बढी भाडा नलिएको दावी गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!