
डा. श्याम जोशी, दोलखा
नेपालीहरुको महान चाड दुर्गा पूजाको अवसरमा प्रत्यक वर्ष दोलखामा “खड्ग जात्रा” निकालिन्छ । विजयादशमीको अन्तिम दिन एकादशीका दिन राजकुलेश्वरबाट बिहानैदेखि खड्ग जात्रा सुरु हुन्छ । खड्ग जात्रा पर्व महिषासुर राक्षस र देवताहरू बीचको युद्धसँग सम्बन्धित कथामा आधारित छ जसमा देवी दुर्गाले दैत्य महिषासुरको बध गर्छिन् । सबैभन्दा लोकप्रिय किंवदन्ती अनुसार महिषासुर शक्तिशाली अर्ध–मानव ,अर्ध– भैंसी असुर हुन् ।

उनि भैँसीका छोरा र ब्रह्मर्षि कश्यपका पनाति थिए। उनले सृष्टिकर्ता ब्रह्मालाई प्रसन्न पारेर देवताहरूलाई पराजित गर्न अजेय शक्ति प्राप्त गर्न कठोर तपस्या गरे। धेरै वर्षको तपस्याबाट प्रसन्न भई ब्रह्माले आफूले चाहेको कुरा माग भन्नुभयो, ब्रह्माले उनलाई अमर बनाउने वरदान दिन अस्वीकार गरेपछि महिषासुरले आफुलाई महिलाले मात्र मार्न सकोस भन्ने वरदान मागे, जुन ब्रह्माले दिनुभयो। वरदानका कारण महिषासुरले मृत्युसँग नडराएर देवताहरूलाई कष्ट दिनथाले र स्वर्ग पनि कब्जा गरे। चिन्तित देवताहरू सहायताको लागि त्रिमूर्तिकोमा गए। त्रिमूर्तिले आफ्नो शक्तिलाई जोडेर सबै दिव्य शाश्वत उर्जालाई भौतिक रूप दिए जसलाई देवी दुर्गा भनियो। जब मातृ स्नेहका लागी परिचित देवी भगवतीले भयानक रूप धारण गर्छन् तब उनलाई दुर्गा भनिन्छ ।
महिषासुर एक विशाल भैंसीको रूप धारण गरी देवताहरू विरुद्धको युद्धमा राक्षसहरूको सेनाको नेतृत्व गरिरहेका थिए। दुर्गाले महिषासुर लाई मार्ने प्रयास गर्दा उसले विभिन्न रूप लिएर देवताहरूलाई आक्रमण गर्थे । देवी दुर्गा र दैत्य महिषासुर बीच नौ दिनसम्म भीषण युद्ध भएको थियो । अन्ततः देवी दुर्गाले विशाल भैंसीको रूप धारण गरेका महिषासुरको वध गरिन् । उनले आफ्नो त्रिशूलले उसको टाउको काटिन्। यसरी उनले विश्वलाई महिषासुरको अत्याचारबाट मुक्त गरिन्। इन्द्र र अन्य देवताहरूले विजयको उत्सव मनाए र स्वर्गमा फर्के। त्यसबेलादेखि नवरात्रिमा दुर्गाको पूजा गरिन्छ र उनलाई महिषासुर मर्दिनीको रूपमा सम्बोधन गरिन्छ।

त्रिपुरासुन्दरी मन्दिरबाट निस्कदै मुख्य पात्रहरु भाटिङ्खारा र याकरगन
खड्ग जात्रा
एकादशीको दिन मनाइने खडग जात्रा ले महिषासुर विरुद्ध देवताहरूको युद्धको चित्रण गर्दछ। यो जात्रा बिहानैदेखि सुरु हुन्छ । बिहान सबेरै माथिल्लो बिहार्छे, तल्लो बिहार्छे र डांड़थोक टोलका एक–एक जना योद्धा (खाँडो) फूलको माला र विशेष पोशाकमा सजिएका तत्कालीन राजा कोटछे टोलको ‘राजकुल’ (राजदरबार) पुग्छन्। ती योद्धाहरू राजाको निमन्त्रणामा युद्धमा सामेल हुने राजाका छोरीहरूको परिवार भनिन्छ।
त्यहाँबाट पहिले आएका तीन जना, राजा, उनका दुई अंगरक्षक र भगवती समेत सात योद्धाको समुह राजकुलेश्वर जान्छन्। याकरगन भनेर चिनिने नक्छे टोलका एक योद्धाले देवताका सेनाको सेनापतिको रूपमा काम गर्छन्। योद्धाको रूपमा काम गर्ने सबै व्यक्तिहरू पगडी, जामा, सुरुवाल र पटुकाजस्ता परम्परागत पोशाक लगाउँछन् र फूल र मालाले सजिएका हुन्छन। ति सबै योद्धाहरुले हातमा खड्ग (तरवार) लिएका हुन्छन। भगवतीको भने एक हातमा ढाल र अर्को हातमा विशेष खाले बन्चरो हुन्छ।
राजकुलेश्वरमा देवतासँग विजयको कामना गरी पूजा–आराधना गरेर योद्धाहरु एक एक गरी बाहिर निस्कन्छन्। याकरगन अन्तिममा बाहिर आउँछ। राजकुलेश्वरका पुजारीले तरवारको पूजा गरेर तिनीहरूलाई वितरण गरे पछी सेनापतिले आफ्नो सेनालाई युद्धको मैदानमा लैजान्छ।

राजकुलेश्वरको चोकमा सबैभन्दा पहिले सामान्य परम्परागत संगीतमा युद्ध नृत्य हुन्छ । राजकुलेश्वरको चोकमा नाच्दै याकरगन र सिपाहीहरू युद्धभूमिमा जान्छन् । केही सिपाहीहरू देवताहरूको सेनाको आगमनको सङ्केत गर्ने अग्लो बहुरंगी झण्डा लिएर अगाडि बढ्छन्। चक्कर (मण्डप) मा राक्षसहरू संग लडाइ र वध चित्रण गर्ने नृत्य हुन्छ जुन बहिर टोल, नक्छे टोलको बौद्ध स्तूप र कोटछें, गुरकोट र टसिचा टोलमा पनि जारि रहन्छ।
टसिचा टोलमा पुगेपछि सेनाका सेनापति याकरगन तीन जना योद्धा सहित पिंगल टोल गएर महिषासुर विरुद्धको युद्धमा देवी बालकुमारीको सहायता माग्छन । देवी बालकुमारी सहजै राजी हुन्छिन र तीन जना योद्धालाई देवताको सेनामा सामेल हुन पठाउंछिन। त्यसपछि युद्ध अगाडि बढ्छ। रास्नीको उकालोमा याकरगन लगायत सबै योद्धाहरूले दानवको मुकुण्डोले सजाइएको माटोको भाँडोलाई अजेय राक्षसलाई मारेको जस्तो गरी पिटेको अभिनय गर्छन।
भीमेश्वरको आशीर्वाद :
देवताहरूको सेनाले भाग्न खोज्ने राक्षसहरूलाई पछ्याउन जारी राख्छ। लिस्टोल र भीमसेन डबलीमा भीषण युद्ध गरि भीमेश्वर मन्दिर पुग्छन् । भीमेश्वर मन्दिरमा उनीहरूले आफ्नो तरवारले तीनवटा शक्तिशाली राक्षसहरूलाई मारेको जस्तो गरेर भीमेश्वरलाई अघिल्लो दिन बलि चढाइएका तीनवटा भैंसीको शवमा पिट्छन्। केही योद्धाहरूका साथ याकरगन भीमेश्वर मन्दिरमा प्रवेश गर्छन् र भगवान भीमेश्वरको मूर्तिको अगाडि नाच्दै आशीर्वादको लागि प्रार्थना गर्छन्। भगवान भीमेश्वर बाट आशीर्वाद पाएपछि याकरगण आफ्नो फौज लिएर त्रिपुरासुन्दरी भगवतीको सहयोग लिन भीमेश्वर मन्दिरको पछाडि रहेको देवीकोट मन्दिर तिर लाग्छ । केही योद्धाहरूका साथ याकरगन मन्दिरमा प्रवेश गर्छन् भने अरूहरू आँगनमा नाचिरहेका हुन्छन्। याकरगन एक्लै मन्दिरको अँध्यारो छिंडीमा रहेको “भूत कोठा ” भनेर चिनिने कोठामा प्रवेश गर्छन् र त्यहाँ लुकेका राक्षसहरूलाई खोज्छन्। नाम अनुसार नै कोठा डरलाग्दो भएकोले अन्य समयमा कोही पनि त्यो कोठामा प्रवेश गर्ने साहस गर्दैनन्।
देवी दुर्गाको सहयोग
देवी दुर्गाको रूपमा देवी त्रिपुरासुन्दरी भगवतीले सहायताको अनुरोध स्वीकार गरी सबै लाइ टीका लगाइदिनु हुन्छ। महिषासुरको वधसँग सम्बन्धित सामान्य कथाको विपरीत यहाँ देवी दुर्गाले भटिङ्खारा भनेर चिनिने आफ्नो छोरालाई सबै शक्ति दिनुहुन्छ महिषासुरलाई मार्न र संसारलाई उनको अत्याचारबाट मुक्त गर्न पठाउनुहुन्छ । अनुपम बेषभूषामा भैंसीको आन्द्राको माला लगाएर निधारमा टिका लगाएको भटिङ्खखा निकै भयानक र महान् योद्धा देखिन्छन् । उनका चार हात हुन्छ जसमध्ये दुई हातले तरवार समातेको हुन्छ । अर्को दुइ हात देखाउन उनको पछाडि बसेका व्यक्तिले एक हातले डमरु र अर्को हातले घण्टी समातेर लगातार बजाउँछ।
भटिङखाराले बटुक भैरवको ठुलो मूर्तिको काखमा बसेर आफ्नी माता भगवतीको आशीर्वाद लिन्छन् । मन्दिरमा केही अनुष्ठान गरेपछि पहिले राक्षसको मुकुण्डोको रूपमा सजाइएको माटोको भाँडो बोकेर दुई हिपाथामी र भैंसीको टाउको बोकेर टाउके भनिने दुईजना हिपाथामी मन्दिरबाट बाहिर निस्कन्छन्। त्यसपछि मन्दिरका पुजारी दुई अंगरक्षक सहित बाहिर निस्कन्छन्, अनि अन्य योद्धाहरू र अन्त्यमा याकरगन र भटिङ्खारा बाहिर निस्कन्छन्।

भटिङखारा मन्दिरबाट बाहिर निस्किएर आँखा क्रोधित जस्तो देखाएर नाच्छन् र यताउता हेर्छन् र आफ्नो तरवारलाई दानवसँग कडा लडाइँ गर्दै छन् जस्तो भयंकर रुपमा शरीर चलाएर हिँड्छन्। मन्दिरको पुजारीको भेषमा देवी दुर्गाले पनि आफ्नो छोरालाई युद्धमा मार्गदर्शन र प्रोत्साहन गर्न साथ दिन्छिन्। मन्दिरबाट भटिङखाराले याकरगनलाई देवताहरूको सेनाको कमाण्डरको रूपमा प्रतिस्थापन गरे पनि तिनीहरू एकजुट भएर लड्छन् र दानवहरूलाई प्रत्येक कुना र कुनामा खोज्छन्। केही बेर नाच्दै दुङ्गल टोलस्थित नाट्येश्वर मन्दिरमा पुग्छन् । त्यहाँ उनीहरूसँग भजन गायकहरूको समूह जोडिन्छ। योद्धाहरू पनि दुई समूहमा विभाजित हुन्छन्, कोही भजनको धुनमा र कोही परम्परागत संगीतको धुनमा नाच्छन्।
राक्षसहरूलाई पछ्याउँदै तिनीहरू दुङ्गल टोल, पिंगल टोल पार गरी बहिर टोलको चक्कर (मण्डप) पुग्छन्। बहिर टोलमा पुगेपछि याकरगन र भटिङखारा सहित चार जना योद्धाहरू करिब चार फिट अग्लो चक्कर चढेर चक्करको चार कुनामा फर्कदै नाच्छन् भने अरू तल भुइँमा नाच्छन्। चक्करमा रहेका चार जना योद्धाले अघिल्लो दिन मारिएको भैँसीलाई पालैपालो दानव लाइ मारेझैँ तरवार ले पिट्छन। त्यसपछि तिनीहरू तल ओर्लिन्छन् र अन्तिम गन्तव्य ‘छेर प्वाले’ (राक्षसको शिर काट्ने ठाउँ) जान्छन् ।
“चक्रब्युह“ गठन
देवताको सेनाले महिषासुरलाई वध गर्न “चक्रब्युह“ बनाएको
त्यहाँ देवताको सेनाले एक प्रकारको “चक्रब्युह“ बनाउँछ र एक विशाल भैंसीको रुप धारण गरिराखेको दानव राजा महिषासुरलाई घेरछन् । पहिला राजकुलेश्वर भगवती र याकरगनले र त्यसपछि अन्य योद्धाहरूले महिषासुरको शिरको रूपमा त्यहाँ पहिले नै राखिएको भैंसीको टाउकोमा प्रहार गर्छन् । अन्ततः भटिङ्खाराले महिषासुरको टाउको काटेर मार्छन्। यसरी देवताहरूले महिषासुर र उसको सेनालाई नष्ट गरी संसार र जनतालाई तिनीहरूको अत्याचारबाट मुक्त गराउन सफल हुन्छन्।
त्रिपुरासुन्दरीको सेनालाई बिदाइ
त्याहाँ बाट बाजाको धुन परिबर्तन गरेर जितको धुन “सगुन बाजा”, बजाएर फर्कन्छन् । याकरगन र उनका सेनाहरूले सर्वप्रथम दुङ्गल टोलको बौद्ध स्तूपमा भटिङखारा र उनको सेनालाई र पिङ्गल टोलमा बाल कुमारी र उनको सेनालाई “लश कुश“ भनिने न्यानो विदाई र धन्यवाद दिन्छन् । विदाई समारोहले देवताहरू एक अर्कासँग मानिसहरूले नबुझ्ने गरेर बोलिरहेका छन् जस्तो भाँन पार्ने दृश्य प्रस्तुत गर्दछ । विदाई गर्दा दुवै पक्षका योद्धाको भूमिका निभाउने व्यक्तिहरू दुई विपरीत पङ्क्तिमा उभिएर एकअर्कासँग बोल्नुको सट्टा आँखा र हात हल्लाएर कृतज्ञता व्यक्त गर्छन्।

भाटिङ्खराको सेनालाई याकारगनको सेनाले बिदाइ गर्दै
बाँकी सबै राजकुलेश्वर फर्किन्छन् जहाँ उनीहरूले विशेष अनुष्ठान गर्छन्। भगवती र उनका सिपाहीहरूले राजकुलेश्वर अगाढी राखिएको एउटा कुभिन्डो लाइ प्रहार गर्छन् राक्षस अझै त्यहाँ लुकेको हुनसक्छ भन्ने सोचेर। त्यो अवसरमा जात्रा हेर्नेहरू कुभिन्डोको टुक्रा लिन एक अर्कासँग तँछाडमछाड गर्छन् । कुभिन्डो टुक्रा खुवाएमा थारो गाई वा बाख्रा पनि सजिलै गर्भवती हुने जनविश्वास छ । यसरी दिनभर चल्ने खाँड़ो जात्रा राजकुलेश्वरमा सुरु भई राजकुलेश्वरमानै समापन हुन्छ । यो पर्वको समापनसँगै दोलखामा विजयादशमीको पनि समापन हुन्छ । बडादसैंको एकादशीका दिन नेपाल देशको कथामा ‘देब तिर्थ” मानिने दोलखाको तीर्थयात्राले भीमेस्वर र त्रिपुरासुन्दरी दुई देवताको दर्शन गर्ने दोहोरो लाभ साथै दिनभर अनौठो खाँड़ो जात्रा अबलोकन गरेर मनोरंजन गर्नेअवसर प्रदान गर्दछ।
फाईल फोटो

