नेपाल सम्वत् ११४४, ञलागाः १२ (१३ असोज, २०८१) आईतबार, बाँपीझ्याला । माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा वेपत्ता भएका दुई सैनिकसहित चार जनाको अवस्था अझै अज्ञात रहेको छ ।
हिजो दिउँसो हेडवक्र्समाथिवाट खसेको लेदोसहितको पहिरोले तामाकोशी जलबिद्युत केन्द्रको कन्ट्रोल बिल्डिङ पुरिदा सम्पर्कविहिन भएका चार जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको हो ।
हिजो दिनभर र गएराति पनि पहिरो खसिरहेको र अवस्था प्रतिकुल भएका कारण जलबिद्युत केन्द्रको सुरक्षाकालागि खटिएको सैनिक टोली, लामावगरमा रहेको शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली नजिकै रहेको घटनास्थलमा पनि पुग्न सकेको थिएन ।
लेदो सहितको पहिरोले कन्ट्रोल बिल्डिङ पुरिदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्र वहादुर पाल र अर्का सैनिक शंकर चन्द तथा नवलपरासी जिल्लाको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको बिगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीकोरुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्कविहिन भएका थिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हिजो लगातार पहिरो खसिरहेको र प्रतिकुल मौसमका कारण उनीहरुको उद्धार हुन नसकेको आज विहानैवाट खोजतलाश शुरु गरिएको जानकारी दिनुभयो । माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको लामावगरस्थित हेडवक्र्स क्षेत्र लेदोसहितको पहिरो खस्दा दुई तले कन्ट्रोल बिल्डिङ पुरिएको छ भने बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनामा ठूलो क्षति पुगेको छ ।
पानीको वहाव उच्च भएपछि शुक्रवार साँझवाट बन्द भएको माथिल्लो तामाकोशीको बिद्युत उत्पादन अझै सुचारु हुन सकेको छैन ।