नेपाल सम्वत् ११४४, ञलागाः ११ (१२ असोज, २०८१) शनिवार, बाँपीझ्याला, दोलखा । अविरल बर्षासँगै दोलखा सदरमुकाम चरिकोटमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका एक वालकलाई जिवितै सुरक्षाकर्मीले उद्धार गरिएको छ ।
भीमेश्वर नगरपालिका–६ स्थित मैदानेमा रहेको राजकुमार भुजेलको घर माथिवाट पहिरो खस्ता भुजेल, उनकी श्रीमती राधिका र दुई छोरा पुरिएका थिए । ती मध्ये जेठो छोरा अन्दाजी १६ वर्षीय रोशन भुजेलको मृत्यु भएको हो । उनलाई घटनास्थलवाट उद्धार गरी अस्पताल पठाईए पनि डाक्टरले मृत घोषणा गरेका हुन् ।
करिव ५ बर्षका बालकलाई भने सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी उपचारकालागि अस्पताल पठाएका छन् । उनको अहिले उपचार भइरहेको छ । राजकुमार र उनकी श्रीमती अझै पुरिएकै अवस्थामा छन् । उनीहरुको उद्धारकालागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् । तर, भुजेल दम्पतीलाई जिवितै उद्धार गर्ने सम्भावना अत्यन्तै कम रहेको भीमेश्वर नगरपालिका–६ का वडा अध्यक्ष नविन लामाले बताउनु भयो ।
अविरल बर्षापछि स–परिवार घरमा बसिरहेका बेला आज दिउँसो घरमाथिवाट पहिरो खसेको हो । पहिरोले घर भत्किएपछि बुबाआमा र दुई छोरा एकैसाथ पुरिएका थिए ।