नेपाल सम्वत् ११४४, ञलागाः ६ (७ असोज, २०८१) सोमबार, बाँपीझ्याला । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बहुप्रतीक्षित भेट नयाँदिल्ली वा काठमाडौंमा होइन, न्युयोर्कमा भयो । ३० मिनेटको त्यो भेटको सुयोग पनि संयुक्त राष्ट्रसंघीय महासभाले जुराइदिनुपर्ने अवस्था उत्पन्न भयो । मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार थिए ।
यहाँनेर पृष्ठभूमिको थोरै चर्चा गरौं । असार अन्तिम साता प्रचण्ड सरकारलाई विस्थापित गर्दै चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सुरुदेखि नै भारतीय सद्भाव पाइरहेका थिएनन् । जनमतमा ठूलो, अनि संसदीय सिटमा दोस्रो बने पनि उनका लागि सत्तायात्रा असम्भव जस्तै बन्न गएको थियो ।
संसदबाट सर्वसम्मतिले चुच्चे नक्सा जारी अनि त्यसअघि नाकाबन्दीकालमा लिएको अडानका कारण ओली भारतीय संस्थापन वृत्तमा अप्रिय पात्र मानिएका थिए । भारतीय पक्षले आफूलाई सरकारमा आउन नदिने बुझेपछि उनी हरदम मिसन ८४ मात्रै भन्न थालेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्न आएपछि भने राजनीतिक माहोलले कोल्टे फेरेको थियो । यो पृष्ठभूमिमा प्रधानमन्त्री बनेका ओलीलाई नयाँदिल्ली भ्रमणको निम्तो आउँदै आएन ।
यता नेपालमा ओली भारतले नचाहेका प्रधानमन्त्रीका रुपमा चित्रित हुँदै थिए । त्यसैले न्युयोर्कमै पनि ओली र मोदीबीच ६ असोजमा भेट हुने तय भएपनि अन्तिम घडीमा स्थगन हुन सक्ने आशंका त्यत्तिकै थियो । अनि निमन्त्रणा कूटनीतिको पनि आफ्नै घनचक्कर थियो ।
भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दुईपल्ट काठमाडौं आउन निम्तो पठाइसकेका थिए, पहिलो, आफू प्रधानमन्त्री भएपछि मोदीको बधाई लिने क्रममा, अनि परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत् दिल्लीमा ।
लोट्टे न्युयोर्क प्यालेसमा पनि ओली आफैंले भेटेर मोदीलाई नेपाल निम्तो गरेका छन् । यसपल्ट चाहिँ मोदीले चाँडै नेपाल आउने भन्दै सम्बन्ध सुधारको संकेत दिएका छन् ।
‘प्रधानमन्त्रीज्यूले मोदीजीलाई नेपाल आउनका लागि निमन्त्रणा गर्नुभएको छ,’ परराष्ट्रमन्त्री आरजु राणाले भनिन्, ‘मोदीजीले चाँडै उपयुक्त समय मिलाएर म नेपाल आउँछु भन्नुभएको छ, यो निक्कै सकारात्मक र राम्रो वातावरण हो ।’
यसपल्टको ओली मोदी भेटमा बहुप्रचारित विषय ईपीजीको थियो । अर्थात् सन् १९५० को असमान सन्धि पुनरावलोकन तथा नेपाल र भारतबीच उत्पन्न कतिपय विषयको हल गर्नका लागि के गर्ने भन्ने अन्योल थियो । किनभने भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न मानेको छैन । दुवै देशका प्रधानमन्त्रीले समय निकाल्न नसकेको कूटनीतिक तर्क दिने गरेका थिए ।
यस्तैमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनेबित्तिकै फ्याट्ट भनिदिए, ‘ईपीजी भारतले बुझ्नु राम्रो हुन्छ ।’ आफ्नो दूतका रुपमा परराष्ट्रमन्त्री आरजु राणा भारत गएर फर्केको अर्को सातामै ओलीले यस्तो लाक्षणिक अभिव्यक्ति दिएका थिए ।
आफू पहिलोपल्ट प्रधानमन्त्री बन्दा बेलाका परराष्ट्रमन्त्री कमल थापाले लेखेको पुस्तक विमोचन क्रममा ओलीले काठमाडौंमा भनेका थिए, ‘के कारण पर्यो, ईपीजी रिपोर्ट भारतले बुझेको छैन । त्यो बुझेर कार्यान्वयन गर्ने/नगर्ने, कसरी गर्ने, के गर्ने, गर्दै नगर्ने कि भन्ने निर्णय पछि प्रधानमन्त्रीहरूले गर्ने हो । रिपोर्ट नै नबुझ्ने सन्दर्भमा हामीले कुराकानी गरिरहेका छौं । यो बुझ्नु राम्रो हुन्छ ।’
न्युयोर्कस्थित उच्च स्रोतका अनुसार लोट्टे न्युयोर्क प्यालेसको दुई प्रधानमन्त्रीस्तरीय भेटमा ईपीजीकै नाम उच्चारण त भएन, तर ओलीले पछिल्लोपल्ट दुई देशका साझा सरोकारबारे उठेका चासोहरुलाई खुलेर प्रस्तुत गरे । उनले कुनै मनोमालिन्य र कचिंगल नहोस् भनेर समस्या समाधानमा साझा रुपमा अग्रसर हुन मोदीलाई प्रस्ताव गरे ।
ओलीको प्रस्ताव सुनेपछि मोदी आफैंले भने, ‘हो हो । यसमा अल्झिनुपर्ने कुनै कारण छैन । हामीले यसअघि भने कुराकानीबाटै सुल्झाउने गरेकै हो । अब पनि गरौं ।’
मोदीले दुईपक्षीय कूटनीतिक संयन्त्र सक्रिय गराएर समस्याको समाधान पहल गर्न प्रस्ताव गरे । मोदीको त्यस प्रस्तावलाई ओलीले स्वागत गरेको वार्तामा सहभागी एक कूटनीतिज्ञले बताए । दुईपक्षीय संयन्त्र भनेर मोदीले इपिजीलाई भन्न खोजेका हुन् या अरु कुनै इंगित गर्न खोजेका हुन् भन्नेचाहिँ स्पष्ट छैन ।
दुई प्रधानमन्त्रीबीच आर्थिक मुद्दाहरुमा अझै केन्द्रित हुने, आर्थिक कूटनीतिलाई समेत जोड दिने वार्तामा कुराकानी भएको छ । मोदीले त्यस क्रममा एउटा अर्थपूर्ण भनाइ राखेका थिए, ‘समय बदलिएको छ । अब पछाडि होइन, अगाडि हेर्ने बानी विकास हुनुपर्छ ।’
सम्भवतः नेपालको संसदमै उभिएर ओलीले राष्ट्रसंघीय महासभामा जानुअघि आफूले राख्ने एजेन्डाको ब्रिफिङ्गका क्रममा छिमेकीलाई उद्धृत गर्दै दिएको टिप्पणीले भारतीय पक्ष झस्केको हुनुपर्छ । ओलीले अघिल्लो सोमबार संसदमा बोलेका थिए, ‘हामी असल छिमेकीका रुपमा सम्बन्ध राख्न चाहन्छौं । छुद्र र जाली छिमेकी होइन ।’
उनको यो संकेत पक्कै दक्षिणको छिमेकीतर्फ थियो, जसबारे भारतीय पक्ष जानकार नहुने कुरै थिएन । कतिपय कूटनीतिज्ञहरुले ओलीले भारतलाई दबाव बढाउन यो शैली अपनाएको पनि भनेका थिए ।
तर भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने दुई प्रधानमन्त्रीबीच फलदायी र राम्रो भेटवार्ता भएको भन्दै समग्र परिस्थितिको सकारात्मक चित्रण गरे । रिमालले भने, ‘दुई देशका प्रधानमन्त्रीबीच राम्रो वातावरणमा फलदायी कुराकानी र संवादहरु भएका छन् ।’
प्रधानमन्त्री आफैंले पनि ट्वीट गर्दै यसको जनाउ दिएका छन् । स्रोतका अनुसार प्रचण्ड प्रधानमन्त्री छँदा एक वर्षअघि भारतसँग भएको विद्युत व्यापार सम्झाैताबारे भेटमा संक्षिप्तमा कुराकानी भएको छ ।
भेटमा मुख्य सल्लाहकार रिमालसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर पनि सामेल थिए । प्रधानमन्त्रीले विभिन्न देशका प्रमुख अनि स्वयं राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग वार्ता गरे पनि मोदीसँगकै भेटले स्वाभाविक रुपमा बढ्ता चर्चा पाएको हो ।