Search

प्राचिन शहर दोलखामा ईन्द्रजात्रा र मूर्ति पूजा

प्राचिन शहर दोलखामा ईन्द्रजात्रा र मूर्ति पूजा

ती दिनहरूको याद आउँछ यतिबेला । दोलखाको यो ईन्द्रजात्रा पर्व । तर ईन्द्रजात्रा नै भनेर चाहिँ धेरै वर्ष पछि मात्रै थाहा भयो । हामी अर्थात् म सानो छँदा यो जात्रालाई हाम्रो स्थानीय मौलिक मातृभाषामा ‘हाँथो ब्वकेय् नखत’ र ‘मेम्सिं स्वाङ’ जात्राको रुपमा जान्दथ्यौँ । यसको अर्थ सामान्य हिसाबले बुझ्दा अलिकति व्याख्यात्मक ढंगले प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

यो ईन्द्रजात्राको बेलामा दोलखाको मूल देउता भएको घर र नीजि घरमा भएको भैरव, कुमारी र अन्य देवताहरूको मूर्तिलाई सार्वजनिक स्थलहरूमा राखेर प्रदर्शन सहित पूजाआजा गर्ने गरिन्थ्यो । जुन कार्यको सिलसिलामा दोलखाको तल्लो टोलमा रहेको तत्कालीन पञ्चायत भवनमा भैरव र कुमारीका ठूला ठूला मुखाकृति भएको शिर मात्र प्रदर्शनमा राखिन्थ्यो । साथमा अन्य विभिन्न देवताका टुटेफुटेका मूर्तिहरू समेत राखेर प्रदर्शनी गर्ने प्रचलन थियो । यो मूर्ति प्रदर्शनीको कार्य दोलखाकै नक्छेंमि प्रधान खलकहरुले गर्ने गर्थे । कालान्तरमा सो ठूला मूर्तिहरू चोरी भएकाले त्यहाँको प्रदर्शनीमा टाँचा लाग्न पुग्यो । त्यसैगरि दोलखाकै राजकुलेश्वर तलेजु मन्दिर अगाडिको सानो बुद्ध (चिचा सेङ्) स्तुपासंगै कोतसाल टोलका मानकाजी श्रेष्ठका खलकले प्रदर्शनीमा राखेर पूजाआजा गर्थे । सो मूर्ति पनि चोरी भएकोले त्यष्हाँ पनि बन्द भयो ।

नक्छे प्रधान खलकले प्रर्दशन गर्ने हाथ्व, तर यो फोटोमा मात्र सिमित छ ।

त्यसैगरि कोर्छेँ टोलको पञ्चायत भवन संगैको राजकुलोमै जोडिएको एउटा पाटी थियो त्यहाँ एक भयानक डरलाग्दो काल भैरवको काठको मूर्ति थियो । त्यसलाई त्यही पाटीकै झ्यालमा राखेर प्रदर्शनी गर्ने गरिन्थ्यो । कालान्तरमा सो मूर्ति जीर्ण हुँदै गयो र पाटी पनि मर्मत सम्भार गर्ने संरक्षक नभएको कारणले भग्नावशेष भएको थियो पछि कसरी विलीन भयो जानकारीमा ल्याउन सकिएन । एउटा अर्को पूर्ण कदको मूर्ति थियो त्यही कोर्छेँ टोलकै एक सम्भ्रान्त परिवार चिनी बहादुर, ज्ञान बहादुर र कृष्ण कुमार श्रेष्ठको सगोल घरमा । जुन मूर्तिलाई हामीले जाने सम्म राजाको मूर्ति भनेर चिने जानेका थियौँ तर पछि त्यो मूर्ति सफा गर्ने क्रममा निकै वर्ष पहिले लगभग चार दशक अगाडि एउटा कागज फेला परेको थियो जस्मा सो मूर्ति भगवान बुद्धकै एक रुपको हो भन्ने थाहा भयो ।

उक्त मूर्तिलाई पनि सोही घरको दक्षिण तर्फको झ्यालमा राखेर प्रदर्शनीमा राखिन्थ्यो । तर विडम्बना उक्त मूर्ति पनि रहस्यमय तरिकाले हरायो । यसबारेमा यो भन्दा पहिले नै चर्चा भैसकेकोले अहिले नगरौं । त्यसैगरि माथिल्लो टोलमा पनि एउटा भैरवको मूर्ति सानो कदको छ । त्यसलाई धेरै वर्ष पहिले ड्वाक पसल (ठूलो पसल)को अगाडि पेटीमा राखेर प्रदर्शन गरिन्थ्यो । त्यो मूर्ति पनि एकताका हराएको थियो, तर पछि फेला परेको हो ।

कोतविहार्छे प्रधान खलकले प्रदर्शन गर्ने हाथ्व दाया, कोर्छे श्रेष्ठ खलकले प्रर्दशन गर्ने राजा बाँया

दोलखाको प्राचीनतामा एउटा जिवन्त इतिहास लुकेको छ । ती हरेक ईतिहासको पानाहरू पल्टाउँदै जाँदा त्यहाँ अनुपम संस्कृति र प्रकृति उजागर भएको देखिन्छ । तर उत्खनन गर्नेहरूले सही शैलीमा व्याख्या गरेको पाइँदैन, यसले गर्दा पनि कुनैपनि ठाउँको सही पहिचान दिलाउन मुश्किल पर्न जान्छ । ती मूर्तिहरू यो ईन्द्रजात्राको बेलामा मात्रै किन प्रदर्शनमा राखिन्छ त भन्ने प्रसङ्गमा मौलिक परम्परा हो भन्नेमात्र सुन्नमा आएको छ । दोलखाको हरेक टोलमा प्रदर्शन गरिएको भैरवको मूर्तिलाई ‘हाथोँ’ भन्ने गरिन्छ ।

यो हाथोँ भन्ने देवतालाई काठमाडौं शहरमा ‘हाथु द्यः’ भनेर पुज्ने गर्छन् । यथार्थमा यो हाथोँ देवता नै भैरवको नेवार भाषाबाट राखिएको नाम हुनुपर्छ । यसमा पूजा गर्ने तरिका काठमाडौ र दोलखामा भिन्नता पाइन्छ । यस दिनमा ईन्द्रजात्राको रुपमा दुइ देवतालाई पूजा गर्ने गरिन्छ । एक भैरबको रुपमा हाथोँ देउता र अर्को सल्लाको रुखको टुप्पोमा बाँधेर राखिने ईन्द्रदेवलाई । पहिले हाथोँ देउताको प्रसङ्गमा भन्नुपर्दा । दोलखाको परम्परागत रीतिरिवाजलाई हेर्दा जहाँ जहाँ यो भैरवको मूर्ति प्रदर्शनमा राखिन्छ त्यहाँ त्यहाँ त्यही टोल परिसरका मान्छेको आआफ्नै खालको गुठी हुन्छ । सोही टोलका गुठियारहरूले आलोपालो गरेर पूजा गरेर गुठी मनाउने प्रचलन रहेको छ ।

सो गुठी मान्न र मनाउन परापूर्व कालदेखि कतै न कतै जग्गा दिएर त्यसको आयस्ताबाट सो गुठी चलाउनु भनेर कागजी तमसुक लेखेर दिएको हुनसक्छ । किनकि दोलखामा करीब ७० प्रतिशत जग्गा गुठीसंगै सम्बद्ध भएको देखिन्छ । तर भूमि सुधार ऐन विपरीत कतिपय जग्गा व्यक्तिको नाममा राखेको देखिन्छ ।

अब हाथोँको प्रसंगमा यो भैरव देउतालाई पूजा गर्दा समैबजी (चिउरा, कालो भटमास, छ्यापी, अदुवा–लसुन, पोलेको मासु र आलु साँधेको चटमारी (चामलको पिठोलाई पातलो गरेर तावामा पकाएको रोटी), सेल रोटी, कन्के मारी (गहुँको रोटी) आदिको थापना गरेर पूजा गरिन्छ । यो पूजा गर्दा भैरवको मुखमा मालिङ्गो बाँसको सानो पाइप जस्तो बनाएर राखिन्छ र त्यही पाइप पछाडिबाट लगेर माटोको ससाना घैलामा लगेर जोडिएको हुन्छ । जुन घैलामा चामलबाट बनाइएको झोलवाला जाँड् हुन्छ । जसलाई स्थानीय नेवारी भाषामा काता भनिन्छ । त्यही काताबाट बनेको झोललाई नेवार भाषामा ‘थ्वोँ’ भनिन्छ । अनि त्यो पाइपबाट झोल झर्ने प्रक्रियालाई ‘हाउ, हार, हाकेइ’ भन्ने शब्द प्रयोग हुन्छ, यसको मतलब ‘हाउ थोँ’ (झरेको जाँड्), ‘हाकेय् थोँ’ (झारेको जाँड् ) हुने भएकोले यसपर्व या जात्रालाई ‘हाथोँ ब्वकेय्’ नखत या जात्रा भनएिको हो भन्ने मान्यता रहेको छ । अनि यो भैरब, काली, गणेश, कुमारीको मूर्ति प्रदर्शन गर्नुको रहस्य र उद्देश्य चाहिँ यो भन्दा पहिले नै दोलखाको कालिन्चोक युवा क्लवको आँखा पत्रिका र काठमाडौको विभिन्न नेवारी पत्रिकामा प्रकाशित भैसकेकोले यहाँ बताइरहन आवश्यक ठानिन ।

अब ईन्द्रध्वजा अर्थात् ‘मेम्सिं’को चर्चा गर्नपर्दा :
दोलखामा द्वादशीको दिनमा टोल टोलमा सल्लाको रुख गुठीले तोकिएको जङ्गलबाट काटेर ल्याइन्छ । जुन रुखमा हाँगाबिगा हुनुहुन्न । सो रुखलाई ताछेर सफा गरेर ल्याएर ठड्याउने प्रचलन रहेको छ । यसलाई स्थानीय नेवारी भाषामा ‘मेम्सिं स्वाङ’ भन्ने गरिन्छ ।

दोलखामा ईन्द्रजात्राको महिमालाई ईन्द्रजात्रा नै भनेर तर्कपूर्ण व्याख्या पहिलेदेखि गरिएको सुन्नमा आएको थिएन । यहाँ त हरेक टोल टोलमा आठ ठाउँमा सल्लाको सुरिलो रुख लोकोक्तिको आधारमा ईन्द्रलाई पारिजात पूmल चोरेको आरोपमा मत्र्यलोकका मनुष्यले पक्रेर काठमा बाँधेर लडाएको र पछि अझ दुनियाँले थाहा पाउन् भनेर त्यो रुखलाई लिंगोको प्रतिरुप जनाएर ठड्याएको हुन्छ । ठड्याउनु अघि सल्लाको रुखलाई राम्ररी ताछेर टुप्पोमा सल्लाको पात देनिे गरि राखिन्छ । अनि अलिक मुन्तिर चारकुने आकार राखेर बाँसको भाटाले घेरेर बनाइएको हुन्छ । त्यसको मुनि एउटा मकुण्डो राखिन्छ, जसलाई ईन्द्रको प्रतिरुप मानिन्छ भने दोलखामा यस्तो जात्राको विभिन्न कथन पाइए पनि समय सुहाउँदो र परिस्थिति अनुसार ईन्द्र र पारिजातको पूmलको कथा नै मिल्न आउँछ । तथापि पुराना ग्रन्थहरूमा देवलोकको जति नै चर्चा गरिए पनि भित्री मनैदेखि सोचेर ल्याउँदा कतै न कतै त्रुटिहरू भेटिएकै हुन्छ ।

यसबारे हेरौं किंवदन्ती :
आफ्नी आमालाई वसुन्धराको व्रतको निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र धर्तीमा आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं धर्तीमा आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिछन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजा पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वजा स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो ।

जे होस् जे जस्तो पौराणिक कथनहरू भएपनि यो हाम्रो मौलिक परम्परा हो । यो जात्रा नेपालको नेवारवर्गहरूले विशेष गरि काठमाडौं उपत्यका भित्रको माध्यमले मनाइन्छ भनेर विभिन्न सञ्जालमा प्रचार गरेको पाइएको छ । तर त्यो होइन कि जो नेवारवर्गहरू जहाँ रहेपनि किंवदन्ति फरक हुनसक्छ, यसलाई पनि भौगोलिक हिसाबले फरक भएको भनेर परिभाषा दिलाउँदा मननीय होला । यस्तै इन्द्र जात्रा पश्चिम बंगालको सिक्किम, करसाङ जस्तै भारतको विभिन्न ठाउँमा र नेपालकै मोफसलमा रहेका नेवार वर्गहरूले परापूर्व कालदेखि मान्दै आएका छन् । यसै गरी पुराना मुर्तिहरु हराएर गएपनी दोलखा साँस्कृतीक परम्परालाई जर्गेना गर्नु आवश्यकता रहेको छ । जय इन्द्रदेव ! जय भीमसेन ! जय द्वाल्खा !

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!