नेपाल सम्वत् ११४४, ञलाथ्वः ९ (२७ भाद्र, २०८१), बिहीबार, बाँपीझ्याला । नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ ।
तर, सत्तारुढ दलहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ । उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।
यस अघि बुधबार बसेको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारिहरूको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको थियो । राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने तयारीमा सत्तारुढ दलहरू रहेका छन् ।