प्राचीन एवं ऐतिहासिक शहर दोलखा जुन पवित्र स्थलको ऐतिहासिक नाम अभयपुर भनिन्छ । यहाँको भाषा, संस्कृति, संस्कार र रहनसहनको एउटा अलग्गै विशेषता रहेको छ । यहाँको भाषालाई नेपाल (नेवारी) भाषाकै रूपमा हेरिए पनि क्षेत्रगत जनसंख्याको हिसाबले काठमाडौंको नेपाल (नेवारी) भाषाको तुलनामा कमै रहेको छ ।
यहाँको यस नेवारी भाषालाई पौराणिक कथन अनुसार महाभारतकालीन सभ्यतासँग जोडिएको छ । जुन भाषा पाँचपाण्डवले गुप्तवासको जीवन बिताएको समयमा अरुले थाहा नपाउन् भनेर प्रयोगमा ल्याएको मान्यता रहेको छ ।
प्राचिन शहर दोलखाको यस नेवारी भाषा नेपाल राज्यको खास गरी चार पाँच स्थानमा स्थायी बसोबास गर्नेहरू जस्तो कि बागमती प्रदेशको दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा शहर र वडा नं. ४ शहर्पा सानो कपाली बस्तीमा बोलिन्छ भने सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ५ मा रहेको तौथली बजारका अधिक नेवारहरूले बोल्दछन् भने अन्य ३ र ४ नम्बर वडामा पनि बोल्नेहरू पाइन्छन् ।
यसै गरी यस जिल्लाको भोटेकोशी गाउँपालिकाको लिस्तिबजारमा र सिन्धुपाल्चोक जिल्लाकै लिसंखुपाखर गाउँपालिकाको वडा नं. ५ जेठलमा पनि बोलिन्छ । त्यस्तै काभ्रे पलाञ्चोक जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं ८ दुतिमा पनि बोल्ने गर्छन् ।
यसै दोलखाबाट बसाई सराईबाट अन्य जिल्ला जस्तै चितवन पर्साको, पर्सा, विराटनगर र हेटौडामा बसोबास गर्ने दोलखाली नेवार समूदायले यस भाषाको प्रयोग गरिएको पाईन्छ ।
यसरी दोलखाको नेपाल (नेवारी) भाषाले नेपाल राज्यको दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला लगायत देशका अन्य बिभिन्न जिल्लामा बसोबास गर्ने नेवार समूदायको विचमा निरन्तरता पाएको छ भने देश बाहिर बङ्गलादेशको एउटा गाउँको १६–१७ घरधुरीमा दोलखाली नेपाल (नेवारी) भाषा बोल्ने समुदाय रहेको र संस्कार पनि दोलखाकै चलनमा गरिरहेको थाहा भएको छ ।
दोलखाको नेपाल (नेवारी) भाषा काठमाडौं उपत्यकाको नेवार भाषा भन्दा पृथक रहेको छ । भौगोलिक दुरीको अन्तरमा दोलखा, सिन्धुपाल्चोक र काभ्रे पलाञ्चोक जिल्लामा पाइएको यो भाषा बोल्दा केही मात्रामा भाका र लवजमा अन्तर देखिए पनि मूल स्रोत भने दोलखाबाटै प्रारम्भ भएको यथेष्ट प्रमाणहरू छन् । यहाँका बालबालिकाहरूले वार्ता गर्दा र खेलवाड गर्दा बाल बोलीमा बोलिने केही अंशहरू संकलन गरेर निम्न अनुसार प्रस्तुत गरिएको छ ।
द्वाल्खा नेपाल भाषा – नेपाली भाषा
ओ नेम्ला ओ नेम्ला
कोत कोत या,
जन मेकु कोछु येर,
हाती स्वर येइन,
ओ नेम्ला नेम्ला
मारी नइत या,
छन्त बच्छि जन्त बच्छि,
ब्वठयेन् नइत या ।
(अनुवाद : ए जून ए जून, तल तल आऊ, मेरो जिब्रोमा खटिरा आयो, के हेर्न आउँछौ, ए जून ए जून ए जून, रोटी खान आऊ, तिम्लाई आधी मलाई आधी, बाँडी खान आऊ ।)
माथि उल्लेखित बालगीत बालिकाहरू जुनेली साँझमा एक ठाउँमा भेला गरेर गाउने गर्दछन् ।
चिचिर्मती तिया तिया
गल स्यात्के चिरन् छि,
गुलि हलन् छेँकु च्वङन्,
गलस् ठ्याङन् छोइ,
चिचिरमती तिया तिया,
बाँलकु छन छेँ,
थाँवली कोवली
अर्खुन्तला थेँ ।
(अनुवाद : यो चाहिँ घरको कोठा भित्रका दलिनको कापमा गौँथली चराले गुँड लाएर त्यसमा बसेर चिर्बिराएको अवस्थामा बालबालिकाले गौथलीलाई धेरै नकराउ भन्ने आशयले गाली गर्दै ती चराले बनाएको घर (गुँड)को बुट्टाको तारिफ गरेको आशयमा गाइने बाल लोकपन हो ।)
जुला जुला स्वई,
फकुँ फकुँ स्वई,
चुमा पित टिँ,
बा के दाम फोईँ,
मा के तुतु फोईँ,
आले तुतु पापा हाम् ।
जुला जुला स्वई,
ताची ताची येई,
बाये लाहा ज्वईँ,
मा के नाना फोर्इँ,
आले न न ब्वईँ ।
(अनुवाद : यो चाहिँ आमा या अभिभावकले ससाना बामे सर्न लागेको बच्चाहरूलाई दईतिरको काखीमुनी समातेर उफार्दै सौतेनी आमालाई घरबाट निकालेर, बाउसँग दाम मागेर, आमासँग नाना (लुगा) बुबू मागेर बाउको हात समात्दै हिँडाउने अक्षराम्भ गराउन फकाउने अभ्यासमा प्रयोग गरिने बालसुलभ गाना हो ।)
लुँबरी देउ लुँबरी देउ,
देउ स्वर उईँङा
पारसीं मद, लङ्गीङ् मद,
हाति स्वर उईँन ।
लुँबरी देउ लुँबरी देउ,
देउपेन् थ्येन्जु ना,
गान् पुङन् पाङन् जुर्सङ्,
चाँडङ् स्वर ङा ।
(अनुवाद : यो बालगीत शिशुबालिकाहरू पुतली बनाएर खेल्ने बेलामा एकआपसमा मिलेर पुतलीसँग वार्ता गर्ने हिसाबले गीत गाउँदै खेल्ने गर्छन् । लुँबरी भनेको चाहिँ पुतली किराको प्युपा बन्ने अवस्थाको हो । )
सल्ङिन्चा घ्वाईँ घ्वाईँ,
बाबुचा वन ज्वइँत,
बाबुचा तुत्तु तुल,
जाङलचा ब्वत्तु ब्वर,
मैचाचा खोत्तु खोर,
सल्ङिन्चा घ्वाईँ घ्वाईँ,
मैचाचा थिगुरी उर,
ख्वालकु निभार लुर,
बाबुचा चित्तु चिर,
मैचाचा लितं ख्वर ।
(अनुवाद : आमाले नाङलो आकारको चाल्नीमा चामल या चिउराको कनिका छुट्याउने क्रममा घुमाउने बेलामा शिशुहरू त्यसलाई समाउन बामे सर्दै आउने क्रममा लडेको र रोएको अवस्थामा आमाले फकाउने उद्देश्यले गाएको यो मौलिक बाल गाना हो ।)
झिपा बटुलाहा पाजु,
झिपा बटुलाहा,
नयेन् त्वङन् नयेन् त्वङन्,
टाक्लाक् टिक्लिक्,
टाक्लाक् टिक्लिक् ट्वाक्,
गुपा बटुलाहा पाजु,
गुपा बटुलाहा,
थात स्वयेन् कोत स्वयेन्,
टाक्लाक् टिक्लिक्,
टाक्लाक् टिक्लिक् ट्वाक्,
च्यापा बटुलाहा पाजु,
च्यापा बटुलाहा,
चुला ङियेन् दुला ङियेन्
टाक्लाक् टिक्लिक्,
टाक्लाक् टिक्लिक् ट्वाक्, ।
(अनुवाद : यो बालखेलको एउटा क्रम हो यसमा बालबालिका घुमाउरो चक्रमा बसेका हुन्छन् । सबैको हात एकमाथि अर्को गर्दै हत्केलाको पछाडि गर्दै बुढी औंला र माहिली औँलाले हातको पछाडिको पञ्जाको छालालाई चिमोटिने तरिकाले समातेर मामालाई पुकार्दै १० देखि १ अंक सम्मको संख्यात्मक परिचय दिलाएर माथि उल्लेखित गाना गाइन्छ । जसको हातको पालोमा ‘ट्वाक’ शब्द पुग्छ त्यसले हात निकाल्ने गर्दै रमाएर खेल्ने खेल हो ।)
यसरी नै दोलखाको नेपाल (नेवारी) भाषामा अन्य बाल भाषागत खेलहरू पनि रहेका थिए । जुन स्मरणमा ताजगी भएन । किनकि यस्ता खालका बालवार्तासंग सम्बन्धित अनुभवी र स्मरण गर्नसक्ने अग्रजहरू विलिन भैसकेकोले अहिले रहेका जेष्ठ नागरिकहरूबाट कनीकुथी सम्झने प्रयासबाट लिइएको हो । यसको अलावा दोलखामा बालबालिकाहरूले नेपाली भाषामा पनि धेरै थरिका गाना गाएर खेल्ने गरेका थिए । जस्तो कि,
‘पञ्चैबाजा झ्याइँ झ्याइँ’,
‘सरस्वती सरस्वती,
म पनि सरस्वती,
यो हात कसको राजाको,
यो पाखुरा कसको रानीको’ भनेर बालबलिकाहरू खेल्ने गर्छन् ।
संकलक : बालकृष्ण श्रेष्ठ ‘पासा’
यस संकलन लेखकका मार्गदर्शक साहित्यकार अमर प्रधानप्रति हार्दिक आभारी छु – लेखक