नेपाल सम्वत् ११४४, यँलाथ्वः ६ (२५ भाद्र, २०८१), मंगलबार, बाँपीझ्याला, येँ । काठमाण्डौं उपत्यकाका खोला छेउको जग्गाहरुको मापदण्डको विषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाण्डौ महानगर समितिको तर्फबाट काठमाण्डौ महानगरपालीका समक्ष ज्ञापन पत्र दिएको छ ।
यसरी दिएको ज्ञापन पत्रमा खोला जोडीएको वसोवास क्षेत्र र जग्गाहरु ४० मिटर छोड्नु पर्ने मापदण्ड उपत्यकावासी जनताको हितमा नभएको निष्कर्श र सुझाव सहितको लिखीत ज्ञापनपत्र वुझाएको हो ।
माओवादी केन्द्रका काठमाण्डौ महानगर समितिको ईन्चार्ज मुक्तीनारायण प्रधान, केन्द्रीय सदस्यहरु , रविन्द्र श्रेष्ठ लगायत काठमाण्डौ महानगर समितिका कार्यालयका पदकाधिकारीहरु, सदस्यहरुले काठमाण्डौ उपत्यकाको सभ्यता, यहाँको जनताको जिवन पद्धति र सामाजिक संरचनाको गहन अध्ययन गरि राज्यका निकायहरुबाट निर्णय गर्नु पर्नेमा उपत्यकावासीहरुको हित विपरित हुने गरि भएको निर्णयमा पुनरावलोकन हुनु पर्ने तर्फ जोड दिन उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
युगौ देखी विकास हुदै आएको काठमाण्डौ उपत्यकाको समग्रह अध्ययन, जनतासंगको सहकार्य विना राज्यका निकायहरुले गरेका निर्णयहरु काठमाण्डौ उपत्यकाको सभ्यता, उपत्यकाको विषेशताहरु, उपत्यकावासीहरुको मनोविज्ञान, यहांको सास्कृतिक धरोहरहरु, रिति परम्परा, सामाजिक संरचना र जिवनपद्धति प्रतिकुल भएकोले त्यस्तो निर्णयहरु पुनरावलोकन हुनु पर्ने र काठमाण्डौ महानगरपालीका जस्तो जिम्मेवार निकायले यस विषयमा गहन अध्ययन गरि उपत्यकावासीहरुको हित विपरित हुने निर्णयहरुलाई खवरदारी गर्दै उपत्यकावासीहरुको हक हितको पक्षमा पहल कदमी लिनु पर्ने महत्वपूर्ण जिम्मेवारी लिनु पर्ने विषयहरुमा जोडदार माग सहित ज्ञापनपत्र वुझाएको छ ।
माओवादी केन्द्रका प्रतिनिधिहरु काठमाण्डौ महानगरपालीकाको प्रशासकीय भवन न्युप्लाजा, कमलादीमा पूर्वनिर्धारित समय अनुसार आज विहान ११ः३० मा पुग्दा कार्यालयमा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोल कार्यालयमा नभए पछि सुचना अधिकारी वसन्त आचार्यको पहलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई ज्ञापन पत्र बुझाई छलफल गरिएको थाहा भएको छ ।