प्राचिन बस्ती तौथलीमा आज गणेश चौठी मनाइदैछ । भगवान गणेशको जन्म दिनको उपलक्ष्यमा भगवान गणेशलाई काँक्रो, भटमास, मुला, विभिन्न प्रकारको गेडागुडीको छुसेमुसे बनाएर चढाउने र प्रसादको रुपमा बाढेर खाने चलन छ । साथै आजको दिन चोरेर खायो भने कुनै पाप र श्राप नलागी माफी हुने र चन्द्रमा पनि साक्षी नहुने भएकोले बारिमा फल्ने कांक्रो, मुला, उखु लगायत अन्य फलफूल चोर्ने चलन तौथलिमा रहेको छ ।
किम्वदन्ती अनुसार आजको दिन भगवान इन्द्रले भेष बदलेर आफ्नो आमाको पुजाको निम्ति पारिजातको फुल टिप्नको लागि पृथ्वीलोक झरेको बागमती र बिष्णुमतिको किनारामा पारिजातको फुल टिप्दै गर्दा एकजना मालिले देखेपछी समातेर रुखमा बाधी सजाय स्वरुप चपाउन सारो पर्ने अन्नहरु मकै, भटमास तथा गेडागुडी खुवाएर राख्यो । यो कुरा इन्द्रको आमाले थाहा पाइसकेपछि पृथ्वीलोक आएर सबै वृतान्त भनेपछी भगवान इन्द्र लाई खेतिकिसानको निम्ति आबश्यकता अनुसार पानी पारिदिने शर्तमा छाडिएका थिए भन्ने कथन छ । सोही कथन अनुसार आजको चोरी गर्ने चलन गरेको भन्ने बुझिन्छ ।
गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाकासाथ यस बर्षको दशै भि¥याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउने परम्परा रही आएको छ ।
भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत छ ।
यस दिन राति नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने परम्परा छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्वीर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका भुटेका गेडागुडी चढाइन्छ । साथै पूजामा घ्यूमा भुटेको आरुको बियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् ।
चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घरपरिवारका सबै सदस्य बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै बसेर चथा गणेशलाई चढाएको पञ्चपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादका रूपमा खाने चलन छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहित भोज खाइन्छ ।
यस दिन चथा गणेशको पूजा गरेमा खुशी मिल्ने, जीवनमा चिताएको मनोकांक्षा पूरा हुनाका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ । नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।
राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । पौराणिक लोककथनअनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जो कोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन् ।
गणेशको श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवतासमेतले चन्द्रमाको मुख हेर्न छाडिदिए । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगे । त्यसपछि चन्द्रमा महादेवको शरणमा गए र उनै महादेवको सहयोगले गणेशलाई दुबो, लड्डु र मुला चढाइ क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए ।
साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ ।
संयोजनः भेषबहादुर श्रेष्ठ, तौथली