Search

दोलखा शहरमा गणेश चौठी

दोलखा शहरमा गणेश चौठी
प्रा. डा. श्याम जोशी

हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन देशभरका भक्तजनले भगवान गणेशको पूजा र आराधना गरेर गणेश चौठी मनाउने गर्दछन् । । भाद्र महिनाको भाद्र शुक्ल चतुर्थीको दिन भगवान गणेशको को रुपमा मनाउने गरिन्छ। भगवान गणेशको पूजा गर्नाले मानिसहरुका सबै बिध्नबाधाहरू हटाउने विश्वासका साथ मानिसहरू भगवान गणेशको पूजा गर्छन । मानिसहरू कुनै पनि महत्त्वपूर्ण कार्य सुरु गर्नु अघि भगवान गणेशको आह्वान गर्ने र पूजा गर्ने गर्छन् जसले गर्दा उनीहरूको कार्यको सफलता सुनिश्चित गर्दछ। यहि कारण गणेश चौठीको दिन देशभरका गणेश मन्दिरहरूमा भक्तजनहरुको भीड लागेको हुन्छ् ।

हिन्दू पौराणिक कथाहरूले गणेशलाई हिन्दू देवताहरूमध्ये बुद्धिमान भगवानको दर्जा दिएकोछ। स्वस्थानी ब्रतकथा अनुसार , एक दिन शिवजीले छोराहरु लाई भने– “तिमीहरू दुबैजना सुमेरु पर्वतको परिक्रमा गर्न जाउ, जो पहिले आउँछ उसलाई म वरदान दिनेछु ं।” कुमार सुन्ने बित्तिकै आफ्नो बाहन मयुरमा सवार भएर बुबाले आज्ञा गरेको कार्य पूरा गर्न दौडी हाले । तर दौडन असक्षम गणेशले आफ्नो बाहन मुसाको सल्लाहमा “हे आमाबुबा, तपाईंहरु नै मेरो सुमेरु पर्वत हो र भगवान पनि हो“ भनेर तीन पटक आमाबाबुको वरिपरि घुमे ।

गणेशसँग प्रसन्न भएर शिवजीले तुरुन्तै उहाँलाई वरदान दिनुभयो– “ तीनै लोकमा जहाँ पनि कसैले कुनै पनि काम गर्न थाल्दा सबैभन्दा पहिले तिम्रो पूजा हुनेछ र तिम्रो पूजाविना सुरु भएको कुनै पनि काम सफलतापूर्वक सम्पन्न हुनेछैन ।” यस्तो भगवान गणेशको बुद्धि थियो जसले महान् ऋषि वेदव्यासको निर्देशन अनुसार महाकाव्य ‘महाभारत’ पनि लेखेका थिए ।

बुद्धिको भगवान गणेशले शुद्ध मनले उहाँको पूजा गर्नेलाई आशीर्वाद दिन्छन् । कुनै पनि प्रकारको कार्य सुरु गर्नु अघि भगवान गणेशको आह्वानले ’नकारात्मक’ अवरोधहरू हटाउँछ । तसर्थ कुनै पनि नयाँ कार्यमा लाग्नु अघि भगवान विनायकको पूजा गर्नु पर्छ। यसकारण, हिन्दूहरूले अरू कुनै देवताको पूजा गर्नु अघि गणेश पूजा गर्छन् वा विवाह र अन्य समारोहहरूमा पनि गणेशलाई पहिले आह्वान गर्छन् ।

चौठीको दिन भगवान गणेशको पूजा आराधना गरिन्छ । यसको धार्मिक महत्वको बावजुद, अधिकांश मानिसहरूको लागि, गणेश चतुर्थी आफ्नो व्यस्त जीवनको निरसताबाट मुक्त हुने अर्को चाड हो। अन्य सबै हिन्दू चाडपर्वहरू जस्तै, गणेश चतुर्थीको पनि प्रकृतिसँगको सम्बन्ध छ। कृषकहरुले राम्रो फसल होस् भनेर देवतालाई पुकार्नेगर्छन । गणेशलाई ग्रामीण जनताहरु समृद्धिको देवताको रूपमा पनि पुजा गर्छंन।

दोलखा सहरका गणेश मन्दिरहरूमा विशेषगरी बोका र भालेको बलि दिइन्छ। मेरी एम. एन्डरसनका अनुसार – “भारतमा भगवान गणेशलाई रक्तपिपासु देवता मानिँदैन, तर नेपालमा उहाँको मूर्तिलाई नियमित रूपमा बलि दिइन्छ । हरेक घरमा जुनसुकै जात, धर्म, हैसियत भएकाले पनि गणेशको मूर्तिको पूजा गरिन्छ। प्रत्येक गाउँ, सहर वा टोलमा आफ्नै गणेशको मन्दिर हुन्छ र गणेशको सम्मानमा वार्षिक उत्सव मनाइन्छ” ।

गणेशको सम्मानका लागि हरेक मंगलबार दिन भगवान गणेशले आफ्नो मूर्तिमा वास गर्ने विश्वासका साथ गणेश मन्दिरमा पूजाआजा गर्न मानिसहरु भेला हुन्छन् । महिलाले हरेक मंगलबार व्रत बस्ने गर्छन् । अविवाहित केटीहरू असल पतिको, गर्भवती पत्नीहरूले बलियो र चतुर सन्तानको लागि र मानिसहरू आफ्ना सबै कार्यहरूका सफलताको लागि भगवान गणेशको पुजाआजा र आराधना गर्नेगर्छन् ।”

दोलखाका नेवार समुदायले पनि गणेश चतुर्थी पर्व मनाउने गर्दछन् जसलाई दोलखामा चौठी भनिन्छ । यस दिनको रातमा चन्द्रमालाई कमल फूल, छठ फूल, अदुवाको बोट लगायतका फलफूल चढाएर चोर देवताको रुपमा पुजा गरिन्छ । अन्य चाडपर्वमा जस्तै दोलखामा पनि यस दिन बिहान सबेरै घर–घर सरसफाइ गरिए पनि साँझ चन्द्रमा उदाएपछि मात्रै चन्द्रमाको पूजा गरिन्छ ।

परम्परा अनुसार मानिसहरूले पातमा राखिएको हँसिया, जसले अर्ध– चन्द्राकार चन्द्रमाको प्रतिनिधित्व गर्छ, मा चन्द्रमाको पूजा गर्ने गर्छन् । त्यसपछि धूप, दीप र नैवेद्य जस्ता वस्तुहरू जस्तै काँक्रो र भुटेको मकै, भटमास, गहुँ लगायतका फलफूलहरू चन्द्रमा देवतालाई अर्पण गरिन्छ । दोलखा लगायत नेवार समुदायमा यो पर्व राम्ररी र शान्तिपूर्ण रुपमा सम्पन्न भयो भने बडादशैं पर्व पनि सुखमय र सुखद हुने र यो पर्व बिग्रियो भने बडादशैं पर्व पनि अशुभ र अधुरो हुन्छ भन्ने जनविश्वास छ ।

स्थानीय संस्कृतिविद् तीर्थ एन. जोशीका अनुसार एउटै हँसियालाई गणेश र चन्द्रमा दुवैलाई चोर देवताका रूपमा पुजा गर्ने गरिन्छ । त्यस दिन किन गणेश र चन्द्रमाको पूजा गरिन्छ भन्ने बारे किंवदन्ती पाइन्छ । एक पटक चन्द्रमाले आफ्नी कान्छी पत्नी रेवती नक्षत्रको अपमान गरे । २७ नक्षत्र मध्ये एक र चन्द्रका २७ पत्नी मध्ये एक रेवती दक्ष प्रजापतिकी छोरी हुन् । दक्षले आफ्नी सबै २७ छोरीहरू (२७ नक्षत्रहरू) चन्द्रलाई विवाहमा दिए। दक्ष प्रजापतिले आफ्नी छोरीको अपमान सहन नसकेर चन्द्रमालाई श्राप दिए– ‘तिमी उज्यालोबिहिन होस्’ । यसबाट चिन्तित भई चन्द्रमा भगवान विष्णुकहाँ गएर यस श्रापबाट मुक्ति गर्नको लागि प्रार्थना गरे । विष्णुले उनलाई पूर्णिमाको रातमा मात्र धेरै उज्यालो हुनेछौ भन्ने आशीर्वाद दिए । यसैकारण पूर्ण चन्द्रमाको रातलाई पूर्णिमा भनिन्छ ।

त्यसैगरी, एक पटक स्वर्गमा देवताहरूको बैठक भएको थियो। त्यतिबेला चन्द्रमाले भगवान गणेशको अपमान गरे, उहाँको ठुलो पेट भएको शरीर र उहाँको वाहन मुसाको खिल्ली उडाए र उहाँलाई अपमानित गरे। गणेश क्रोधित भए र चन्द्रमालाई श्राप दिए कि ब्रह्माण्डमा कसैले तिम्रो पूजा गर्नेछैनन् र जसले चन्द्रमा हेरे पनि उसलाई निर्दोष भए पनि चोरको आरोप लाग्नेछ। फलस्वरूप, त्यो दिन देखि चन्द्रमा लाई चोर देवता भनेर कसैले हेरेनन्। प्रायस्चित गरेर उनले भगवान गणेशलाई उनको श्रापबाट मुक्ति दिनको लागि पूजा गरेर प्रार्थना गरे ।

उनको प्रार्थनाबाट भगवान गणेश प्रसन्न भए । उनले आफ्नो श्राप उल्ट्याए र चन्द्रमालाई भने कि मानिसहरूले चौठीको दिन बाहेक सबै दिन तिमि लाइ हेर्न सक्नेछन । तर चौठीको साँझ चन्द्रमा लाइ हेरेमा निर्दोष भए पनि चोरको आरोप वा झुठो आरोप लाग्न सक्छ । त्यसैले झुठो आरोपको सिकार हुनबाट जोगिन मानिसहरु सो रात पूजापाठ गरेर घरका झ्याल–ढोका बन्द गर्ने गर्छन् । यहि कारण महिलाहरू आफ्नो चोलोको तुनामा केहि झुण्ड्याउँछन् र पुरुषहरू चोर र झुठो आरोपबाट आफूलाई बचाउन आफ्नो खल्तीमा हरियो खुर्सानी राख्छन्।

घरबाहिर कुकुर भुक्यो भने चोर देवता पुजा थाप्न आयो भन्ने गर्छन । मलाई अझै याद छ, बाल्यकालमा आमाले मेरो दौराको तुनामा हरियो खुर्सानी झुण्ड्याइ दिनुहुन्थ्यो, कुकुर भुकेको सुनेर चोर देवता आइपुगयो भन्दै तर्साउनु हुन्थ्यो र घरबाहिर निस्कन प्रतिबन्ध लगाउनु हुन्थ्यो । तर, त्यस दिन काँक्रो चोरेकोमा कसैले दोष दिन नसक्ने विश्वासमा शहरका केटाहरूले भने त्यो रात निजी बगैंचाबाट काँक्रो चोर्नेगर्दथे ।

दोलखामा भगवान भीमेश्वरलाई महान् देवताको रूपमा ठूलो भक्ति र श्रद्धाका साथ पूजा गरिन्छ। अज्ञात कारणले चौठीको दिन दोलखाका मानिसहरु गणेश मन्दिरमा पुजा गर्न भीड गर्दैनन्। यसका बाबजुद कुनै पनि धार्मिक कार्य गर्दा सर्वप्रथम गणेशको पूजा गर्नुपर्छ भन्ने संस्कार दोलखा सहरका प्राचिन काल देखि चलीरहेको देखिन्छ । दशैँमा घटस्थापनाको दिन दिउशो गुठियार, पुरोहित र पुजारी गणेश मन्दिरमा गएर पूजा गरेर, बोका बलि दिएर त्यहाँबाट फर्केर राजकुलेस्वरमा संयुक्त रूपमा जमरा राख्ने गर्छन ।

त्यसैगरी विजयादशमी वा टीकाको दिन राजकुलेश्वरका गुठियार, पुजारीलगायतका मानिसहरु पहिले गणेशको मन्दिरमा बाजा बजाएर पूजा गर्न जान्छन् । शहरको पश्चिममा रहेको गणेश मन्दिरमा भगवान् गणेशको पूजा गरेपछि मात्रै भीमेश्वर मन्दिरमा गएर कालरात्रि पूजा गर्ने गर्दछ ।

त्यसैगरी चैते दशैँमा महाष्टमीका दिन गुठियार लगायत सरोकारवालाहरू पहिले गणेश मन्दिरमा गएर परम्परागत अनुष्ठान अनुसार ‘निमन्त्रण पूजा’ गर्नेगर्छन् । पूजा सकिएपछि गुठियारसहित सबै राजकुलेश्वर फर्कन्छन र त्यसपछि पुजा गर्नको लागि भीमेश्वर मन्दिर जान्छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!