Search

जिरी नगरपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयको तयारी

जिरी नगरपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयको तयारी

नेपाल सम्वत् ११४४, यँलाथ्वः १ (१९ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयको तयारी थालेको छ । समयमै सम्झौता र समयमै भुक्तानीको लक्ष्य राखेको नगरपालिकाले भदौ महिना सुरु भएलगत्तै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयको तयारी थालेको हो ।

गत वर्ष दशैंअघि घुम्तीशिविर मार्फत योजनाहरुको सम्झौता गरेको नगरपालिकाले यो वर्ष पनि यही भदौ २५ गतेदेखि घुम्ती शिविर गरी योजना सम्झौता गर्ने तयारी गरेको छ । वडा कार्यालयहरुबाट उपभोक्ता समिति गठन गर्ने कार्यक्रम रहेकोले वडाहरुले आम भेला समेत गर्दैछ ।

यही भदौ २५ गतेदेखि योजना सम्झौता, अपाङ्गता परिचयपत्र नवीकरण तथा वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, स्वास्थ्य विमा सम्बन्धी सेवा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवाहरु शिविर मार्फत सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्ने तयारी गरिरहँदा वडाध्यक्ष लगायतका जनप्रतिनिधि र वडासचिवसम्मका कर्मचारीहरुको लागि यसअघिनै तीन दिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

जिरी नगरपालिकाले गत वर्षदेखि गाउँ–गाउँमै जनप्रतिनिधि र कर्मचारी गएर घुम्ती शिविर मार्फत योजना तथा कार्यक्रम सम्झौता गर्दै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले असोज १४ गतेदेखि घुम्ती शिविर मार्फत वडा–वडामा सेवा सञ्चालन गरेको थियो । नगरपालिकाले सम्बन्धित वडाहरुमै शिविर लिएर गएपछि नागरिकहरुलाई सहज भएको थियो ।

यो वर्ष पनि गत वर्षदेखि लागु हुँदै आएको नीति अनुसार कार्यक्रम अघि बढाउँदै समयमै सम्झौता र समयमै विकास निर्माणको योजना सम्पन्न गर्ने लक्ष्य अनुसार अघि बढ्ने उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष जिरी नगरपालिकाले कार्यतालिका नै बनाएर विकास निर्माणको योजना सञ्चालन गरेको थियो । जसले गर्दा समयमै योजना सम्पन्न गरि असारे विकासको अन्त्य गर्न सफल भएको नगरप्रमुख मित्र बहादुर जिरेलको भनाई छ । चालु आर्थिक वर्षको लागि नयाँ बजेट ल्याउने क्रममा पनि नगरप्रमुख जिरेलले कार्यतालिका बनाएर योजना कार्यान्वय गर्दा सहज भएको र लक्ष्य अनुसार काम सम्पन्न गर्न सफल भएको बताउनुभएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!