नेपाल सम्वत् ११४४, गुँलागाः ८ (१० भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाए भने पश्चिम नेपालको थारु समुदायले भने अष्टिम्की पर्व भव्यताका साथ मनाएका छन् ।
सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् । पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा बुधबारका साथै मंगलबार पनि अष्टिम्की पर्व मनाइँदैछ ।
पर्वमा खासगरी, महिलाहरूले भदौ ९ गते राति दर खाई आज भदौ १० गते दिनभरी ब्रत बसेका थिए भने भोलि मंगलबार बिहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन् । तत्पश्चात् नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रूपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने प्रचलन रहिआएको हो ।
थारु संस्कृतिविद् अशोक थारुका अनुसार व्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ ।
उनका अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु समुदायमा ‘कान्हा’को नामले चिनिन्छ । अष्टिम्की’को अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रूपमा मनाउने हुनाले यस पर्वलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रही आएको हो ।
कसरी मनाइन्छ अष्टिम्की ?
व्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको घरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भित्तामा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रूपमा सजाउँछन् ।
पौराणिक, सृष्टि तथा वर्तमान थारू चलनका चित्र गरी अष्टिम्की चित्रलाई ४ भागमा बाँडिन्छ । चतुर्भुज आकारमा बनाइने यस चित्रको किनारा अत्यन्त कलात्मक हुन्छ । चित्रको शीर्ष भागमा यस पर्वका नायक श्रीकृष्णको चित्र हुन्छ । त्यसको तल दाँयातर्फ सूर्य र बाँयातर्फ चन्द्रमाको चित्र हुन्छ ।
सोही लहरमा हातमा छाता लिएका ५ पुरुषको चित्र हुन्छ । यसलाई ५ पाण्डवको प्रतीक मानिन्छ । वनवासका क्रममा उनीहरू विभिन्न देश घुम्न गएको झलक प्रस्तुत गर्दै उक्त चित्रमा उनीहरूले घाम पानीबाट जोगिन छाता लिएको त्रित्रण गरिन्छ । दोस्रो लहरमा ५ वा ७ जना महिलाको चित्र कोरिन्छ ।
उनीहरुलाई द्रौपदीको प्रतीक मानिने संस्कृति विद् थारुको कथन छ । यही लहरमा कतै कतै ७ जना पुरुषको चित्र पनि बनाउने गरिएको छ र त्यसले कौरवहरुको प्रतिनिधित्व गर्ने बताइन्छ । तर कौरवहरु असत्य तथा अधर्मको प्रतीक रहेकोले तिनीहरुको पूजा गर्ने प्रचलन नरहेको थारुको भनाइ छ ।
अष्टिम्की चित्रमा महाभारतसँगै रामायणको कथा पनि समावेश गर्ने गरिएको देखिन्छ । बाह्र टाउका भएको ’बरमुरवा’ अर्थात् रावणलाई चित्रको मध्य भागमा स्थान दिइएको हुन्छ तर उनले खराब पात्रको प्रतिनिधित्व गर्ने भएकाले त्यहाँ सिन्दूर टीका लगाइँदैन । कसैले झुक्किएर त्यस चित्रको पूजा गरेमा उनका केटाकेटी खराब चरित्रका, रुन्चे आदि हुने विश्वास गरिन्छ ।
यसमा बिहेको डोली, डोलाको चित्र पनि हुन्छ । यसलाई राम र सीताको विवाहको प्रतीकको रूपमा लिइन्छ । बीच बीचमा मादले, नर्तकीहरूका चित्रले पनि ठाउँ पाएका हुन्छन् । यसवाहेक हात्ती, घोडा, उँट, मयुर, वनजङ्गल, माछा, आदिको चित्रले पनि अष्टिम्कीमा ठाउँ पाएका हुन्छन् ।
हिन्दू परम्परामा व्रहृमालाई सृष्टिकर्ता मानिए जस्तै थारू लोकोक्तिमा ’गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अष्टिम्की चित्रमा चित्रण गरिएको पाइन्छ । पृथ्वीमा जलैजलले भरिएको बेला गुर्बाबाले गाड्यौलालाई पातालमा माटो लिन पठाई पृथ्वीलाई थलमा परिणत गरेको कथा ’गुर्बाबाक् जल्मौटी’ कथामा उल्लेख छ ।
सोही अनुसार गाड्यौला, कछुवा, गागटा, गोही, माछा, सर्प जस्ता प्राणीको चित्रले त्यस बेलाको सृष्टिको कथा बोक्ने विश्वास रहको छ । पृथ्वीलोकमा प्रलय हुँदा गुर्बाबाले वेदलाई डुङ्गामा चढाई जोगाएको कथा अनुसार अष्टिम्किको चित्रमा डुँगाले पनि अनिवार्य स्थान पाएको हुन्छ ।
अष्टिम्की पर्वलाई शान्ति, भाइचारा र धर्मको प्रतीकको रूपमा समेत मनाइ गरिएको कैलालीको कैलारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी बताउँछन् । गाउँमा आयोजना गरिएको सामूहिक अष्टिम्किी टिक्ने कार्यक्रममा बोल्दै उनले सृष्टिको उत्पत्ति, विकास र पहिचान सँग जोडिएको यस पर्वलाई पुस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिन्छन् ।