नेपाल सम्वत् ११४४ गुंलाथ्वः ८, (२९ साउन , २०८१) मंगलबार, बाँपीझ्याला, काठमाण्डौँ । एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसँग प्रतिष्पर्धा गर्दैछ ।
उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ । खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रँदैछ । खेलअघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा दिने बताए । उनले पारो एफसीसँग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टिमप्रति सन्तोषजनक रहेको जिकिर गरे ।
त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिएपनि अहिले टिमले बलियो तयारी गरेको उनको भनाइ छ ।
त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नतिजा आउने गरि तयारी गरेको जनाएका थिए । खेलका लागि चर्च ब्वाइजले ३ विदेशीसहित २३ जना खेलाडी अनुबन्ध गरेको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ ।