Search

दोलखा श्री भीमेश्वर, त्रिपुरासुन्दरी, कालिञ्चोकको गुठी घण्टाकर्ण गुठी

दोलखा श्री भीमेश्वर, त्रिपुरासुन्दरी, कालिञ्चोकको गुठी घण्टाकर्ण गुठी

दोलखा स्वतन्त्र राज्य हुँदाको बखत दोलखाको धार्मिक संस्कृतिको सञ्चालन राज्य कोषबाट भएको पाईन्छ पछि दोलखाको शासन व्यवस्था परिवर्ततन संगै राज्यबाट हुने सम्पूर्ण जत्रा पर्वहरु सञ्चालनमा वाधा व्यवधानहरु खडा भयो । पछि स्थानिय व्यक्तिहरुको अनुरोधमा शासन व्यवस्था सञ्चालन गर्नेहरुले दोलखाको जात्रा पर्व सञ्चालनमा केन्द्रिय शासक वर्गहरुले स्थानिय प्रशासकहरुलाई जिम्मेवरी दिएको पाईन्छ ।

स्थानिय प्रशासक भन्नाले अमाली, जिम्मावाल, गुठीयारहरु आदि पर्दछन् । यसै क्रममा दोलखामा घण्टाकर्ण पर्व सञ्चालन गर्नकोलागि पनि तत्कालीन शासकहरुले वि.सं. १८८६ साल बैसाख १४ रोज १ को लालमोहर र १९७९ सालको लगत अनुसार कालिञ्चोक खर्कलाई चार किल्ला झरीनीको ठूलो खोला देखि पूर्व, मेहेले ढुङ्गा देखि दक्षिण, छापे ढुङ्गा (धर्म ढोका) देखि उत्तर र सिरमथली देवीथान (आँधी कुकुरको चौतारा) देखि पश्चिम यती चार किल्ला भित्र पर्ने खर्कहरु रातमाटे, गैरी र सिक्री तीन खर्कहरु र सिमथली र गणेश थुम्की देवीथान आँधी कुकुरको चौतारा देखि उत्तर यी चार किल्ला भित्रको खर्कहरु मेहेले थामी देउराली, बुकेनी डाँडा, कुरी घ्याङडाँडा र म्याङ्थली टुट्वान समेत यी आठ खर्क तोकी त्यहाँको आम्दानी (खर्चउरी उठाई) बाट गुठी चलाउन लालमोहर गरी दिएको थियो ।

लालमोहरले व्यवस्था गरे बमोजीम गुठी सञ्चालनको लागी दोलखाबाट सम्बन्धित गुठीयारहरु कालिञ्चोक गई गैरी, मेहले, कुरी, टुटानमा राखीएको गोठहरुबाट पाँचवटा बोका, एउटा पाठी, प्रत्येक गोठबाट एक दिनको दूध, घ्यु २ टिन, दही, आलु गुठीको निम्ती दिने गर्दथ्यो । उक्त दिन दूधबाट गुठीयारहरुले खिर पकाइ उक्त खिर र पाठी कालिञ्चोक भगवतीमा विधी पूर्वक पूजा गरेर सबै समान लिएर गुठीयारहरु दोलखा फर्की भगवतीको प्रसाद दोलखा बासी र जात्रापर्वमा संलग्न व्यक्तिहरूलाई दिनु पर्दथ्यो ।

कालिञ्चोक खर्कबाट प्राप्त घ्यु बेचेर देवीकोटको निम्ती एउटा राँगो, आवश्यक अरु पूजाको समानहरु किन्नु पर्दथ्यो । यो गुठी प्रत्येक वर्ष दोलखाको ६ थरीहरु मध्येबाट गुठी पालो गर्ने थरीले गुठी सञ्चालन गर्नु पर्छ । त्यस गुठी सञ्चालनको लागि कालिञ्चोकको खर्क प्रयोग गरेवापत क्षेमावती गाविसका शिवाकोटी खलकले २ मुरी धान समेत दिनु पर्दथ्यो ।

घण्टाकर्ण चतुर्दशी दिन भीमेश्वरमा दुईवटा बोका, त्रिपुरासुन्दरीमा २ वटा बोका सहित एउटा राँगो, तलेजु भवानी मन्दिरमा एउटा बोका पूजा गरिन्छ । उक्त पूजाको समय बाजा–गाजा सहित श्री भीमेश्वर मन्दिरमा, देवीकोट (त्रिपुरासुन्दरी) मा पूजा सिध्याइ तलेजु मन्दिरमा बेलुकीपख आइपुगेर तलेजु मन्दिरमा पूजा गरी सिध्याए पछि गाठमा (घण्टाकर्ण राक्षसको प्रतिमूर्ति) बनाइ विधि विधानले राक्षसको वध गरी राक्षसको लासलाई घिसारेर दोलखा शहर भन्दा बाहिर खिङल्चा भन्ने स्थानमा लगेर सेलाउने प्रचलन रहेकोछ ।

यसै दिन राक्षसहरु मारिएको भनेर सबै श्राद्धलुहरुले आ–आफ्नो कुल्याणमा पनि पूजा गर्ने गर्दछन् । तान्त्रिकहरुले यस दिन तन्त्र–मन्त्र साधना गर्ने दिनको रुपमा मान्छन र तान्त्रिक विधी विधान अनुरुप भोग बली दिएर, घुपदिप बालेर चौबाटोमा फाल्ने चलन छ । भोली पल्ट श्री त्रिपुरासुन्दरी मन्दिरमा श्री भीमेश्वरको चार गुठीयार, श्री भीमेश्वरको चार टहलुवा, छ थरी, माहाने, वडा दशैँमा त्रिपुरासुन्दरीबाट खाँडो भएर निस्कने समुह, बटीङ्खाडो, बटीङ्खाँडोको पछाडी बस्ने डमरु, त्रिपुरासुन्दरीमा पानीको व्यवस्थ गर्ने व्यक्ती, सरसफाई गर्ने व्यक्ती, त्रिपुरासुन्दरीमा पूजासामाग्री बनाउने व्यक्ती लगाएतका मानिसहरुलाई निमन्त्रणा गरेर भोज खुवाउनु पर्दछ ।

दोलखाको वर्ष भरी हुने जात्राको सुरुवात यसै जात्रालाई मानिन्छ । यसै जात्राबाट आ–आफ्नो जिम्मामा रहेकोे पर्व जात्राहरुको पहिचान गरी आफ्नो आफ्नो पालो लगाउने गर्दछन् । यसको भोलीपल्ट आंैशी मनाएर परेवाको दिन देखि दोलखामा दुईवटा समूह (तल्लो टोल समूह र माथिल्लो टोल समूह) ले विहान विहान दोलखाको सम्पूर्ण देवस्थलहरुमा महिषासुर वद गर्नको निम्ती आराधना गरेर बाजागाजा सहित घुमेर पूजाआजा गर्ने प्रचलन छ ।

श्रावणशुक्लपक्ष चतुर्दशीका दिन दोलखाबाट डापाखलकहरू बाजा गाजा र विशेष पूजा सामग्री सहित कालिञ्चोक भगवतीको मन्दिर जान्छन् र भोली पल्ट अर्थात जनैपूर्णिमाका दिन कालिञ्चोक भगवतीलाई विशेष पूजा आरधाना गरी दोलखा राज्यमा दानवहरूले दुख दिएकोले भगवतीलाई दानवहरूको बध गर्न दोलखा ल्याइन्छ । उक्त दिन दोलखामा एक विशेष प्रकारको लाखे निकालिन्छ ।

जनधारणा अनुसार त्यस लाखे कालिञ्चोक भगवती राक्षसको भेषमा आई दानबहरूको बध गरेको भन्ने भनाइ रहेको छ । धारणाअनुसार उक्त दिन देखि कालिञ्चोक भगवती दोलखामा भीमेश्वर मन्दिरको उत्तर तिर त्रिशुल नै त्रिशुल रहेको स्थानमा बस्छ भन्ने भनाइ रहेको छ । त्यसैले उक्त स्थानमा भक्तजनहरुले कालिञ्चोक भगवतीको आरधना गरी पूजा गर्ने र त्रिशुल चढाउन गर्दन् ।

उक्त अवधिको समयमा आफ्नी कान्छी बहिनी बालकुमारीको भाद्रकृष्णपक्ष द्वितीयाको दिन देखि निकालिने महिमा समेत अवलोकन गर्छ भन्ने भनाइ रहेको छ । दोलखामा बाजागाजा सहित घुम्ने परम्परा भाद्रपदशुक्लपक्ष कायाः अस्टमीका दिन सम्म यथावत रहन्छ । दोलखाबाट कालिञ्चोक भगवतीलाई भाद्रपदशुक्लपक्ष कायाः अस्टमीका दिन बाजा गाजा गहना सहित रथमा राखेर पञ्चकन्याबाट विधि विधानले कालिञ्चोक भगवतीको स्थानमा पु¥याइ स्थापना गरिन्छ । उक्त कार्यको लागि डोक्छेँ गुठीयार राधाकृष्ण श्रेष्ठको पूर्खाहरूलाई मालपोत कार्यालयलाई आवश्यक खर्चको व्यवस्था गरेको भनाइ रहेको छ । हाल उक्त व्यवस्था पनि हटेको छ ।

यसरी सञ्चालन भएको धार्मिक परम्परा र रितीरिवाजहरू वि.सं. २०४६÷०४७ सालमा देशमा प्रजातन्त्र स्थापना भएसँगै दोलखाका सम्पूर्ण गुठी जग्गाहरुबाट आउने आयस्ता बन्द हुने क्रममा कालिञ्चोक खर्कबाट समेत आयस्ता आउन पनि बन्द भई गुठी सञ्चालनमा बाधा पुग्यो त्यस पछि उक्त गुठी सञ्चालनको लागी दोलखाका स्थानिय संघ–संस्था तथा स्थानीय निकायको भीमेश्वर नगरपालीकाको आर्थीक सहयोगमा जेनतेन गुठी सञ्चालन भई रहेको छ । हाल उक्त गुठी सञ्चालन गर्न केहि वर्ष अगाडी देखि गुठीसंस्थान प्रधानकार्यालय, त्रिपुरेश्वरबाट प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा गठन भीमेश्वर, त्रिपुरासुन्दरी, कालिञ्चोक घण्टाकर्ण गुठी व्यवस्थापन समितिले कालिञ्चोक गुठीको खर्कहरुमा बनाइएका होटेल व्यवसाइहरुबाट भु–बाहाल कर र कालिञ्चोक भगवतीमा दर्शनार्थीहरुबाट चढाइने भेटी व्यवस्थापनबाट संकलन भएको रकमबाट गुठी सञ्चान गर्न केही रकम दिइँदै आइरहेको भए पनि कुनै कुनै वर्ष त्यस कोषबाट गुठी सञ्चालन गर्न रकम प्राप्त नहुन गुठीयारहरुको गुनासो आइरहेको छ ।

सञ्चालन बिधि :
दोलखाको यो पर्व सञ्चालन गर्न छ थरीहरु मध्यबाट वर्षको एक पटक एक थरी (जिम्मावाल व्यक्ति) को पालो आउँछ । पालो पर्ने गुठीयारहरुले घण्टाकर्ण पर्व आउन १५ दिन अगाडी नै कालिञ्चोक खर्कमा गई त्यो वर्ष खर्कमा चौँरी गोठ राख्ने व्यक्तिहरु सँग खर्क प्रयोग गरे वापत गोठबाट एकदिनमा उत्पादन हुने दूध, २ टीन ध्यू अन्य उत्पादित वस्तुहरुको केहि अंश गुठीयारबाट नियुक्ति पाएका खर्कको रेख देख गर्न जिम्बेवारी दिएका व्यक्ति मार्फत उठाई सम्बन्धित गुठीयारलाई बुझाउनु पर्दथ्यो ।

त्यहि वस्तुहरु दोलखा ल्याई त्यसबाट त्रिपुरासुन्दरीको लागि एकवटा राँगो र बोका १ वटा, भीमेश्वरको लागि २ वटा बोका र तलेजु भवानीको लागि १ वटा बोका र अन्य पुजा सामग्रीहरु व्यवस्था गरी घण्टाकर्ण चतुर्थीको दिन भीमेश्वरमा दुईवटा बोका, त्रिपुरासुन्दरीमा १ वटा बोका सहित एउटा राँगो, तलेजु भवानी मन्दिरमा एउटा बोका पूजा गरिन्छ ।

पुजा सकेपछि भोली पल्ट पालो पर्ने गुठीयारले १. श्री भीमेश्वरको चार गुठीयारहरु, २. श्री भीमेश्वरको चार टहलुवाहरु, ३. छ थरी, ४. माहाने, ५.वडा दशैँमा त्रिपुरासुन्दरीबाट खाँडो भएर निस्कने समुह, ६.बटीङ्खाडो, बटीङ्खाँडोको पछाडी बस्ने डमरु, त्रिपुरासुन्दरीमा पानीको व्यवस्थ गर्ने व्यक्ती, सरसफाई गर्ने व्यक्ती, पूजा सामान बनाउने गुठीयारहरु लगाएतका जात्रा पर्वमा संलग्न सरोकारवालाहरुलाई निमन्त्रणा गरेर दोलखामा वर्ष भरी सञ्चालन हुने जात्रा पर्व सञ्चालनको विषयमा छलफल गरी जिम्मेवारी अनुसार कार्यगर्न गराउन सहमत गर्दै अन्तमा भोज खाएर छलफल अन्त्य गरी फर्कन्छन् ।

त्यसै गरी तलेजु भवानी मन्दिरमा पनि गुठीबाट प्राप्त एकवटा बोका पुजा गरेर वडा दशैँमा राजकुलबाट खाँडो निस्कने व्यक्तिहरुलाई १ माना चिउरा सहित निमन्त्रणा स्वरुप तलेजुभवानीको प्रसाद दिनु पर्दछ । यदि प्रसाद दिइएन भने दशैँमा खाँडो जाँदैनन् । त्यस पछि तलेजु भवानीको पुजारीले राजकुल अगाडी बनाइ राखेको गाठामालाई (घण्टाकर्ण राक्षसको प्रतिक) धही चिउरा खुवाई तीन फन्का लगाई खुकुरीले बध गरी खिँङल्चा सम्म सेलाउन लानेहरुलाई तलेजुभवानीको प्रसाद स्वरुप १÷१ मेलचा (माटोबाट वनेको सानो भाँडो) चिउरा तरकारी दिनु पर्दछ ।

तलेजुभवानी मन्दिरबाट नै छ थरीहरुलाई समेत प्रसाद दिनु पर्दछ । सो कार्यको लागि र तलेजु भवानीको वर्ष भरी पुजा गर्न आखरकी (पुजागर्ने चामल) र प्रसाद वितरण गर्न आवश्यक पर्ने सामानको लागि नक्छेँ टोल बस्ने भुवनेश्वरबाट गुठीको जग्गाको आम्दानी ३० पाथी धान, शरणकुमार प्रधानबाट ८ पाथी धान दिनु पर्दछ । त्यसै गरी सोहि गुठीबाट जत्रा चलाउन दस्तुरको रुपमा दोलखा क्षेत्र भित्र जनै पूर्णिमाको अघिल्लो दिन काटेको राँगोको टाउको गुठीयारहरुले संकलन गरी मच्छिन्द्रनाथको रथ यात्रामा छ टोलमा ट्वल पुजा गर्नेहरुलाईे आधा आधा राँगोको टाउको, मच्छिन्द्रनाथको पुजारी (गुबाजु) लाई आधा राँगोको टाउको, जनै पूर्णिमाको दिन ड्वकु डाकस हुनेलाई र पोखरीमा पौडि खेल्नेलाई आधा आधा राँगोको टाउको, जनै पूर्णिमाका अघिल्लो दिन डापा खलक भएर कालिन्चोक जाने तल्लो टोल र माथिल्लो टोलको डापा खलकहरुलाई आधा आधा राँगोको टाउको, उपकर्ण गुठी गर्ने गठीयारलाई आधा राँगोको टाउको, रानी पोखरी सफा गर्नेलाई आधा राँगोको टाउको, श्री त्रिपुरासुन्दरी मन्दिर परिसर सफा गर्नेलाई आधा राँगोको टाउको दिनु पर्दछ । यसरी दिनलाई संकलन गरेको राँगोको टाउको अपुग भएमा गुठीयारले सो मूल्य बरावरको दस्तुर व्यवस्था गरी दिनु पर्दछ । यसै गरी गुठी पालो पर्ने गुठीयालरले जनै पूर्णिमाको दिन ड्वाकु डाकसलाई गोकुल धूपले पुजा गरेर टीका लगाई दिई वि.सं. १८८६ सालको दस पैसा (हाल कम्तिमा एक हजार रुपैयाँ) दिनु पर्दछ ।

त्यसै गरि वडा दशैँमा सरकारी टीका लगाउनको लागी करीव एकमाना चामल र रातो सिन्दुर राजकुलमा दिनु पर्दछ र ब्राम्हण, श्रीभीमेश्वरको वडा दशैँ पालो पर्ने गुठीयार सहित जनसमुदायहरुलाई सरकारी टीका लगाई दोलखा शहर परिक्रमा गर्नु पर्छ । यसरी नै फागु पूर्णिमाको अघिल्लो दिन चीरदाहको लागि आवश्यक सामग्रीहरु –हरिया बाँस १ वटा, पुजा सामग्री, तेल, भाले– १ वटा, चिउरा लगाएतका सामग्रीहरु चिरदहन गर्ने गुठीयार कुसुले खलकलाई उपलब्ध गराउनु पर्दछ ।

त्यसै गरी मच्छिन्द्र नाथ रथ यात्रामा रालकुलेश्वरमा रथ पुगे पछि माहानेले पुजा गर्ने सामाग्रीहरु र करीव २० मिटर लामो तोरन टाँग्न सेतो कपडा दिनु पर्दछ । सोहि पालो गुठीयारले खो पुजाको लागि एक वटा बोका, पुजाको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु खो पुजामा संलग्न त्रीपुरासुन्दरी मन्दिरमा पूजा सामाग्री वनाउने गुठीयारहरुलाई दिनु पर्दछ । त्यसै अनुसार बडा दशैमा फूलपातीका दिन भीमेश्वर मन्दिरमा राजकुलमा भित्र्याउने फुलपातीको डोलीलाई मारहान्न एक वटा बोका र कालिञ्चोक भगवतीको लागि पूजा गर्न एक वटा बोका पालो थरी गुठीयारले व्यवस्था गर्नु पर्दछ । त्यसको लागि फस्कु जग्गाबाट २ वटा बोका, एक जुत्था मकै, भीमेश्वरमा दैनिक पूजाको लागि २ माना गाईको ध्यू, दहिको व्यवस्था गरेको पाईन्छ । तर हाल सामाग्री ल्याउन बन्द भएको छ ।

यसरी सञ्चालन भएको गुठीको जग्गा रहेको खर्कहरु नापी समयमा नापी छुट भै नापी हुन नसकेको र उक्त गुठीको जग्गाबाट आउनु पर्ने दै दस्तुरहरु समेत नआएको र हाल उक्त गुठीको जग्गामा गैर कानुनी ढङ्गबाट करिव ९८ ओटा भन्दा बढी होटेल तथा अन्य व्यवसायका घरहरु निर्माण भै आएको छ र निर्माणहुने क्रम जारी रहेको छ । तसर्थ उक्त चार किल्ला भित्रको जग्गा गुठीको नाममा नापी गरी गुठी अधिनस्त कायम गर्न जरुरी रहेको छ ।

तिर्थनारायण जोशी, भीमेश्वर नगरपालिका– २, डोकुलुङा, दोलखा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!